दसौं राष्ट्रिय खेलकुदमा ३७ खेल समावेश हुने!

लक्ष्मी शाक्य

सुर्खेत । दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ वटा खेल समावेश हुने टुङ्गो लागेपनि अन्य दुई खेल प्रदर्शनी खेलको रुपमा समावेश हुनसक्ने कर्णाली प्रदेश खेलकुद विकास परिषदले जनाएको छ । यदि परिषदले गरेको प्रर्दशनी खेलको प्रस्ताव स्वीकृत भएमा दसौं राष्ट्रिय खेलकुदमा ३७ खेल समावेश हुने निश्चित भएको हो ।

परिषदले दसौं राष्ट्रियका लागि र्याफ्टिङ एण्ड क्यानोइङ, लोक दोहोरी, पावर लिफ्टिङ र डोरीतान गरि ४ खेललाई प्रदर्शनी खेलको रुपमा प्रस्ताव गरेको छ । यदि यो प्रस्ताव स्वीकृत भएमा चारमध्य दुई खेलले प्रदर्शनी खेलको रुपमा दसौं राष्ट्रियमा समावेश हुन पाउने छन् । कर्णाली प्रदेशले आयोजकको नाताले केही प्रदर्शनी खेल राख्नको लागि भने प्रतियोगिता कार्यविधिमा उल्लेख भएको हुनुपर्नेछ । तर, नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा र्याफ्टिङ एण्ड क्यानोइङ प्रदर्शनी खेलको रुपमा समावेश भईसकोको छ । जसले गर्दा दसौं राष्ट्रियमा र्याफ्टिङ एण्ड क्यानोइङ प्रदर्शनी खेलको रुपमा नभई राष्ट्रिय खेलकै रुपमा समावेश हुने सम्भावना बलियो बनेको छ।

ट्रसको काम हुँदै गरेको मुख्य रंगशाला:

दसौं राष्ट्रिय खेलकुदको आयोजक प्रदेश, कर्णालीमा २४ वटा खेल संचालन हुनेछन् । जसमध्य १३ वटा इण्डोर हलमा १४ खेल र आउटडोरमा १० खेल हुने तयारी भइरहेको छ । कर्णाली प्रदेशमा इण्डोर र आउटडोरमा गरि संचालन हुने २४ खेलहरुमा (क्रिकेट, फुटबल, रग्बी, बास्केटबल, ह्याण्डबल, खोखो, पौडी, एथलेटिक्स, बक्सिङ, ब्याडमिन्टन, तेक्वान्दो, उसु, भलिबल, कुस्ती, जुडो, शारिरीक सुगठन, भारोत्तोलन, कबड्डी, फुलकन्ट्याक्ट कराते, कराते, आईटीएफ तेक्वान्दो, टेबलटेनिस, बुद्धिचाल र हक्की रहेका छन् ।

दसौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरि कर्णाली प्रदेशले महिला क्रिकेट र पुरुष क्रिकेटको लागि छुट्टाछुट्टै मैदान समेत तयार गरेको छ। महिला क्रिकेट मुख्य रङ्गशाला परिसरको क्रिकेट मैदानमा हुनेछ भने पुरुष क्रिकेट कालुङ्गचोक मैदानमा हुनेछ ।

कालुङ्गचोक पुरुष क्रिकेट मैदान:

त्यस्तै फुटबल खेलको आयोजनाका लागि पनि दुईवाट फुटबल मैदानको निर्माण गरिएको छ । महिला फुटबल चिसापानी फुटबल मैदान र पुरुष फुटबल मेहलकुना फुटबल मैदानमा हुनेछ । महिला तथा पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल भने मुख्य अर्थात् प्रदेश रङ्गशालामा आयोजना हुनेछ । यसरी फुटबलका खेलहरु तीनवटा मैदानमा सञ्चालन हुनेछन् । २४ मध्य प्रायसबै खेल सुर्खेतमै हुने भएपनि करातेको जुम्ला, टेबलटेनिसको सल्यान, बुद्धिचालको जाजरकोट, हक्कीको हुम्लामा, कबड्डीको दैलेख, फुलकन्ट्याक करातेको कालिकोट र आईटीएफ तेक्वान्दोको स्पर्धा पश्चिम रुकुमका हुनेछ ।

यसैगरि बाँकी ११ खेलका लागि भने आवश्यक पूर्वाधार कर्णालीमा पर्याप्त छैन । जसले गर्दा कर्णालीले आफू निकट रहेका अन्य केही प्रदेशमा बाँकी खेल संचालन गर्ने गरि सम्बन्धित प्रदेश खेलकुद विकास परिषदसँग समन्वय गरिरहेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदका अनुसार अन्य खेल बागमती प्रदेश, गण्डकि प्रदेश, लुम्बीनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा संचालन गर्ने योजना बनाइएको छ ।

मुख्य रंगशाला परिसरमा अवस्थित ब्याडमिन्टन र मार्सल आर्ट्सका कभर्डहलहरु:

जसमा (स्क्वास, गल्फ, जिम्न्यास्टिक र लन टेनिस) बागमती प्रदेशको (काठमाडौं र ललितपुर), आर्चरी र ट्रायथलन (गण्डकि प्रदेश), सुटिङ र साईक्लिङ (लुम्बिनी प्रदेश), सफ्ट टेनिस, सेपाकताक्रो र फेन्सिङ खेल सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा गर्ने गरि समन्वय भइरहेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा २०७९ मा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल समावेश गरिएको थियो । यस पटक ती ३६ खेल मध्ये प्याराग्लाइडिङलाई भने समावेश गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :