दसौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले इतिहास रच्ने छ- दिलिपसिंह ठकुरी, बक्सिङ प्रशिक्षक

श्रीविक्रम भण्डारी

यतिबेला दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि मान सम्मान र प्रतिष्ठाको विषय बनेको छ । खेलकुदका आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डका भौतिक पूर्वाधारको निर्माण र खेलाडीको सेवा सुविधामा निभाएको उत्कृष्ट भूमिकाका कारण कर्णाली प्रदेश अन्य प्रदेशको लागि उदाहरणीय समेत बनेको छ । र पनि, दसौंको आयोजनाका सम्बन्धमा देखिएको अन्योलताले कर्णाली प्रदेशका खेलाडी, प्रशिक्षक र आम खेलप्रेमीको यतिबेला मन मात्र कुडिएको छैन, उनीहरुमा निराशा समेत छाएको छ । उनीहरु निर्धारित समयमै दसौं राष्ट्रियको आयोजना हुनुपर्ने पक्षमा देखिएका छन् भने केन्द्र सरकारले अहिलेसम्म त्यसको बारेमा ठोस् निर्णय गर्न सकेको छैन। यिनै वस्तुस्थिति र परिवेशलाई समेटेर कर्णाली प्रदेशका बक्सिङ प्रशिक्षक दिलिपसिंह ठकुरीसँग दसौं राष्ट्रिय खेलकुदमा केन्द्रीत रहि मेरोखेल डटकम प्रधान सम्पादक श्रीविक्रम भण्डारीले गरेको संक्षिप्त कुराकानी:–

० दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुदैछ, यो पटक कर्णाली प्रदेशले बक्सिङमा कुन किसिमको पदक जित्ने आशा गर्दै प्रशिक्षण गरिरहेको छ ?
– दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बक्सिङ्ग खेलमा हाम्रो तयारी हेर्दा कम्तिमा पनि न्युनतम दुई स्वर्ण, दुई रजत र चार कास्य पदक जित्छौं भन्ने हाम्रो विश्वास छ । सोहि लक्ष्यका साथ हामीले तयारी पनि गरिरहेका छौं । हाम्रो प्रशिक्षण निकै उत्कृष्ट रहेको छ, सोहि बमोजिम नतिजा आउने कुरामा पनि विश्वस्त छौं । हामीले महिला र पुरुषबाट एक-एक स्वर्ण पदक जित्ने आशा होइन विश्वास गरेका छौं ।

० यो भन्दाअघिका राष्ट्रिय खेलकुद प्रतियोगिताका संस्करणमा कर्णाली प्रदेशले बक्सिङमा स्वर्ण पदक जितेको छ कि छैन?
– तत्कालिन समयमा कर्णाली प्रदेशको नामाकरण भईसकेको थिएन । राष्ट्रिय खेलकुद प्रतियोगितामा क्षेत्रियस्तरबाट सहभागि हुन्थ्यो । क्षेत्रियस्तर अर्थात् मध्यपश्चिमाञ्जलबाट बक्सिङमा स्वर्ण पदक जितेको इतिहास छ ।

० दसौं राष्ट्रिय खेलकुदको लागि जुन किसिमले बक्सिङको तयारी र प्रशिक्षण भइरहेको छ, के तपाईं सन्तुष्ट हुनुहुन्छ?
– विगतको प्रशिक्षण र अहिलेको प्रशिक्षणको कुरा गर्दा तुलना नै गर्न मिल्दैन, ठूलो अन्तर छ। खेलकुद सामग्रीको उपलब्धता सरलरुपमा भएको छ भने सुविधा पनि सोहि किसिमले प्रदान गरिएको छ । यस पटक प्रदेश सरकारले तयारी र प्रशिक्षणका क्रममा खेलाडीलाई सकेसम्म कुनै किसिमको कमिकमजोरी नहोस भन्ने हिसाबले अहम भूमिका निर्वाह गरेको मैले महसुस गरेको छु । प्रदेशको यो भूमिकाबाट म निकै सन्तुष्ट छु ।

० बक्सिङ खेलमा विभागिय टोलीलाई निकै बलियो मानिन्छ, विभागिय टोलीका खेलाडीलाई अन्य प्रदेशका खेलाडीले चुनौंति दिए पनि पराजित गर्न सकिदैन भनिन्छ, यस्तोमा स्वर्ण पदकको आशा गर्नु कत्तिको उपयुक्त होला?
– अहिलेको अवस्था त्यस्तो छैन । पहिले हामीहरुसँग पर्याप्त मात्रामा खेलकुदका सामग्री, उपयुक्त प्रशिक्षण नहुदा विभागिय टोली बलियो बनेका थिए । अहिले हामीले विभागिय टोली जत्तिकै सुविधा प्राप्त गरेर प्रशिक्षण गरिरहेका छौं । जसले हाम्रो स्तरमा निकै वृद्धि भएको छ । हाम्रा खेलाडीहरु विभागिय टोलीको दबदबालाई चुनौंति दिन र पराजित गर्ने सक्षम छन् । जुन कुरोलाई दसौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशका खेलाडीले प्रमाणित गरेर देखाउने कुरामा म प्रशिक्षकको नाताले विश्वस्त छु ।

० अहिले कर्णाली प्रदेशले बक्सिङ खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेर जुन किसिमले प्रशिक्षण दिईरहेको छ, त्यसबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ? यो प्रशिक्षणले दसौं राष्ट्रियमा पदक जित्न सक्ने कुरामा ढुक्क हुनुहुन्छ?
– मलाई लाग्छ, नेपालका सबै प्रदेशहरु मध्य अब्बल प्रदेशको रुपमा कर्णाली प्रदेश खेलकुद विकास परिषदले आफ्ना खेलकुद गतिविधिहरु, भौतिक संरचनाहरु र खेलाडीहरुलाई दिने सेवा सुविधाहरु उचित रुपमा व्यवस्थापन गरेको छ । मैले २०४२ सालदेखि बक्सिङ खेलेको हुँ, आजसम्म यति सक्रिय भएर लागेको र खेलाडीको लागि यति लगानी त राज्यले पनि गरेको देखेको छैन, जुन कर्णाली प्रदेशले गरेको छ । राष्ट्रिय खेलको लागि ६ महिना बन्द प्रशिक्षणमा राखेको छ, जुन आफैमा प्रशंसायोग्य कुरा हो । त्यस्तै राष्ट्रियस्तरमा हुने प्रतियोगितामा कर्णाली प्रदेशका सक्षम र उत्कृष्ट खेलाडीलाई सहभागिता गराउँदै आएको छ । जसले खेलाडीको स्तरबृद्धिमा ठूलो सहयोग पुगिरहेको छ ।

० असोज १ गतेदेखि तेस्रो चरणको बन्द प्रशिक्षण शुरु हुदैछ, तर प्रदेश सरकारले त्यसको लागि बजेट अहिलेसम्म उपलब्ध नगराएको र बन्द प्रशिक्षण बीचैमा रोकिने अवस्थामा पुगेको चर्चा चलेको छ, के यो सत्य हो?
– हो हामीले पनि हल्ला चाहिँ सुनेका छौं । विगतमा बन्द प्रशिक्षण शुरु गर्दा ६ महिनाको अवधि भनिएको थियो । अहिले कताकता पैसा नभएका कारण बन्द प्रशिक्षण रोकिने कुरा चलेको छ । अहिले खेलाडीहरु एउटा ट्रयाकमा गइसकेको अवस्था छ, हामीले पनि ६ महिनाको अवधिलाई प्लानमा सेट गरेर प्रशिक्षण गराई रहेका छौं । बन्द प्रशिक्षण रोकियो भने खेलाडीहरुको भविष्यको लागि कदापी राम्रो हुने छैन ।

० यदि बन्द प्रशिक्षण बीचैमा रोकियो भने यसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव खेलाडीहरुमा पर्ने कत्तिको देख्नुहुन्छ?
– यदि प्रशिक्षण बीचमै रोकियो भने यसको प्रभाव खेलाडीहरुमा त अवश्य पर्नेछ । अर्को महत्वपूर्ण कुरा यसले पदक जित्ने कुरामा पनि ठूलो धक्का पुग्नेछ । अहिले खेलाडीहरु एउटा लेबलमा पुगेर, स्ट्यान्डर मेकअप गर्दै अगाडि बढेको अवस्थामा यदि बन्द प्रशिक्षण रोकियो भने त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर खेलाडीमा पर्छ । उनीहरुलाई पुनः यो अवस्थामा पुर्याउन जीरो अवस्थाबाट शुरु गर्नेपर्ने अवस्था पनि आउन सक्छ ।

० अहिले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना निर्धारित समयमा हुने नहुने कुरामा अन्योलता उत्पन्न भएको छ, के पूर्वाधारको कारणले यस्तो हुन लागेको हो कि अन्य कारणले, के लाग्छ् तपाईंलाई?
– पूर्वाधारको कुरा गर्दा आजको मितिसम्म ९० प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भईसकेको सुनेको छु । जुन प्रत्यक्षरुपमा हेर्दा पनि त्यस्तै लाग्छ । अँझै प्रतियोगिता आयोजना हुन २ महिनाभन्दा बढीको समय छ, यस्तोमा सबै पूर्वाधार निर्माण हुने कुरामा म ढुक्क छु । त्यसैले पूर्वाधधारका कारणले दसौं राष्ट्रियको आयोजनामा कुनै असर नपर्ने मैले देखेको छु ।

० अन्त्यमा समग्रमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा के भन्न चाहनुहुन्छ?
– मैले अघि नै भनिसके, राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको लागि कर्णाली प्रदेशले जुन तयारी गरेको छ, त्यो इतिहासमै अहिलेसम्म कसैले गरेको छैन । यो उदारहणीय र प्रशंसा गर्न लायक छ । प्रदेशले जुन किसिमले हरेक कुराको व्यवस्थित रुपमा तयारी गरेको छ त्यो निकै उत्कृष्ट छ । म ज्यादै खुशी छु । अन्त्यमा म के भन्न चाहन्छु भने दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुनुपर्छ । यो मेरो मात्र नभई सम्पूर्ण खेलाडीको माग र चाहना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :