कर्णाली प्रदेशका एथ्लेटिक्स खेलाडी अजय विकले बन्द प्रशिक्षणमा रहेर नियमिति रुपमा प्रशिक्षण गरेको चार महिना भयो । उनले यो पटक आफ्नो प्रदेशमा पहिलो पटक आयोजना हुन गईरहेको दसौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने लक्ष्य बनाएका छन् । गुरुहरुको निर्देशनमा दिनरात एउटै बनाउँदै प्रशिक्षणमा होमिएका अजयलाई यतिबेला दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै नहुने हो की, भन्ने सन्त्रासले पिरोलेको छ । आगामी मंसिर २ देखि ९ गतेसम्म दसौं राष्ट्रिय खेलकुद हुनुपर्छ अन्यथा खेलाडीहरुको स्तरमा यसले ठूलो प्रभाव पार्ने उनको ठम्याई छ । यिनै र यस्तै विषयमा केन्द्रीय रहेर एथलेटिक्स खेलाडी अजय विकसँग मेरोखेल डटकमकि सह–सम्पादक लक्ष्मी शाक्यले गरेको कुराकानीः–
० आगामी मंसिर २ गतेदेखि कर्णाली प्रदेशमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैछ, तयारी कस्तो किसिमले भइरहेको छ नी?
– तयारी एकदमै राम्रो भईरहेको छ । एथलेटिक्स खेलतर्फ दसौं राष्ट्रिय खेलकुदमा कर्णालीलाई थुप्रै स्वर्ण पदक जिताउने लक्ष्यका साथ गुरुहरुले दिन रात एकैगरि प्रशिक्षण गराई राख्नु भएको छ । हामीले अहिले चार महिना बन्द प्रशिक्षणमा बसिसकेका छौं । हाम्रो एउटै चाहना छ, निर्धारित मिति मंसिर २ देखि ९ गतेसम्म दसौं राष्ट्रिय खेलकुद आयोजना होस्, कुनैपनि कारणले प्रतियोगिता नसरोस्।
० दसौं राष्ट्रियको लागि निर्माणाधिन पूर्वाधारको बारेमा के भन्नुहुन्छ? के यी पूर्वाधार समयमै निर्माण हुने कुरामा विश्वस्त हुनुहुन्छ?
– अहिले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि ९० प्रतिशत भौतिक पूर्वाधारको निर्माण सम्पन्न भइसकेको छ । अझै पनि दुई अढाई महिनाको समय बाँकि छ, त्यो अवधिभन्दा अगाडि नै सम्पूर्ण पूर्वाधार निर्माण भइसक्ने कुरामा म विश्वस्त छु । यसअघिका राष्ट्रिय प्रतियोगिताहरु खुल्ला चौरका माटोमा आयोजना भएका थिए भने अहिले त्यस्तो अवस्था छैन, कर्णाली प्रदेशले दसौं राष्ट्रियको लागि निकै राम्रो व्यवस्था गरेको छ ।
० असोज १ गतेदेखि शुरु हुने तेश्रो चरणको बन्द प्रशिक्षण आर्थिक अभावका कारणले बन्द हुने हल्ला चलेको छ? यदि यस्तो भयो भने खेलाडीहरुलाई कत्तिको मार पर्छ?
– बन्द प्रशिक्षण बन्द हुने मैले पनि हल्ला सुनेको छु, म खेलाडीको नाताले के भन्न चाहन्छु भने बन्द प्रशिक्षण बन्द हुनु हुँदैछ । किनकि हामी अहिले प्रतिस्पर्धाको चरणमा आईपुगिसकेका छौं। हाम्रो लागि यो दुई महिना जीन्दगीको सवाल बनेको छ । हामी आफ्नो गाउँ, आफ्नो ठाउँ, पढाई सबै छोडेर अहिले प्रशिक्षणमा होमिएका छौं । आफ्नो प्रदेशलाई स्वर्ण पदक दिलाउने लक्ष्य बनाएका छौं । यस्तोमा बन्द प्रशिक्षण बन्द भए त्यो खेलाडीको मात्र नभई कर्णाली प्रदेशकै लागि दुर्भाग्य हुनेछ ।
० कर्णाली प्रदेशले राष्ट्रिय खेलकुदका विगतका संस्करणमा एथलेटिक्सतर्फका लामो दुरीका दौडमा पदक जित्दै आएको छ, यस पटकको प्रदर्शन कस्तो हुन्छ होला जस्तो लाग्छ तपाईंलाई?
– दसौं राष्ट्रियमा कर्णाली प्रदेशले एथलेटिक्सतर्फ अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने कुरामा म विश्वस्त छु । हामीले लामो समयदेखि बन्द प्रशिक्षणमा रहेर प्रशिक्षण गरेकोले यो पटक दसौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले एथलेटिक्स खेलतर्फ कम्तिमा पाँच स्वर्ण पदक जित्ने हाम्रो विश्वास छ ।
० यदि कर्णाली प्रदेश सरकारले बन्द प्रशिक्षणको लागि बजेट विनियोजन गरेन र बन्द प्रशिक्षण रोकियो भने यसको प्रभाव कत्तिको पर्ने देख्नुहुन्छ?
– यदि बन्द प्रशिक्षण रोकियो भने यसले हाम्रो प्रदर्शनमा निकै असर पार्छ । अहिले हामी प्रतिस्पर्धाको अवस्था छौं, यदि बन्द प्रशिक्षण रोकियो भने हामीले अहिलेसम्म गरेको प्रशिक्षणले कुनै महत्व राख्दैन । हाम्रो लेबल खस्किनुको साथै हामीले यो लेबल प्राप्त गर्न पुनः सून्यबाट शुरु गर्नु पर्दछ ।
० यसअघि तपाईंले राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्नु भएको छ कि छैन?
– मैले यसभन्दा अघि दुई पटक राष्ट्रिय प्रतियोगिता खेलिसकेको छु । मैले जुनियर लेबलमा तीन पटक स्वर्ण पदक जित्न सफल भएको छु । र, म केहि समयपछि भारतमा साउथ एशियन च्याम्पियनसिप खेल्न जाँदैछु ।
० समग्रमा दसौं राष्ट्रिय खेलकुदको बारेमा केहि भन्नु छ त?
– म के भन्न चाहन्छु भने निर्धारित समयमै दसौ राष्ट्रिय खेलकुद प्रतियोगिता होस् । सम्पूर्ण खेलका पूर्वाधार निर्माण भइसकेको छन्, भने मुख्य रङ्गशालाको कार्य पनि अन्तिम चरणमा पुगेको छ । त्यसैले दसौं राष्ट्रिय खेलकुद समयमै होस्, नसरोस भन्न चाहन्छु ।