एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) का लागि चितवन शक्तिले तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । चितवनले आफ्नो तेस्रो खेलाडीको रुपमा भारतकी केपी अनुश्रीलाई टिममा अनुबन्ध गरेको हो ।
केपी अनुश्री भारतकी युवा स्टार खेलाडी हुन् । उनलाई यस प्रतियोगिताका लागि चितवनले आउटसाइड हिटरको रुपमा टिममा भित्र्याएको हो ।
यस अघि पनि एनभीएल क्लब च्याम्पियनसिप र एनभीएल लिगमा बुटबलको एभरेष्ट क्लबमा आवद्ध भई खेलेकी उनी क्लब च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी र एनभिएल लिगमा उत्कृष्ट स्पाइकरको उपाधि जितेकी खेलाडी हुन् ।
उनी नेपालको भलिबलसँग परिचित अनुहार हुन् । उनी टिममा आवद्ध हुँदा टिम बलियो हुने र नेपाली भलिबल प्रेमी दर्शकका लागि पनि खेल रोमाञ्चक हुने आश गरेको छ ।
यसअघि चितवन शक्तिले अजरबैजानकी आउटसाइड हिटर केन्सिया पावेल्निको र भारतकी मिडलब्लकर सुर्या एसलाई अनुबन्ध गरिसकेको छ ।
चितवनका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही टिमको मार्की खेलाडीको रुपमा रहेकी छिन् ।