दसौं राष्ट्रिय खेलकुदमा कर्णालीको कबड्डी टोलीले मेडल टच गर्छ- खिमा जिसी, कबड्डी खेलाडी

लक्ष्मी शाक्य

कर्णाली प्रदेशकि कबड्डी खेलाडी खिमा जिसीले बन्द प्रशिक्षणमा रहेर नियमिति रुपमा प्रशिक्षण गरेको तीन महिना भयो। उनले आफ्नो प्रदेशमा पहिलो पटक आयोजना हुन गईरहेको दसौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको महिला कबड्डी टोलीलाई कम्तिमा मेडल टच गराउने लक्ष्य बनाएकि छिन् । नियमित बन्द प्रशिक्षण संचालन हुनुका साथै निर्धारित मिति मंसिर २ देखि ९ गतेसम्म दसौं राष्ट्रिय खेलकुद भएमा कर्णालीको महिला कबड्डी टोलीले मेडल जित्नेमा समेत खिमा विश्वस्त छिन् । पहिलो पटक राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन लागेकि युवा जोस र उर्जाले भरिएकि कबड्डी खेलाडी खिमासँग मेरोखेल डटकमकि सह–सम्पादक लक्ष्मी शाक्यले गरेको संक्षिप्त कुराकानीः–

० कबड्डी खेल कहिले देखि खेल्न थाल्नु भएको हो?
– कबड्डी खेल धेरै पहिलेदेखि खेल्दै आएको हुँ । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि केन्द्रित भएर प्रशिक्षण गर्न थालेको चाही ३ महिना भन्दा बढी भयो ।

० यो भन्दा पहिले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नु भएको छ?
– क्षेत्रिय र प्रदेशस्तरीय प्रतियोगिताहरु धेरै खेलेको छु, तर राष्ट्रिय स्तरको प्रतियोगिता भनेको मेरो लागि दसौं राष्ट्रिय खेलकुद नै पहिलो हुनेछ, राष्ट्रिय प्रतियोगिता पहिलो पटक खेल्ने तयारीमा छु ।

० पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा हुनुहुदो रहेछ, कस्तो हुँदैछ त तयारी?
– दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि भनेर बन्द प्रशिक्षणमा बसेको ३ महिना भयो, अहिलेसम्म बन्द प्रशिक्षण राम्रो भईरहेको छ, स्टामिना पनि बढीरहेको छ, अब बन्द प्रशिक्षणको तेश्रो चरण शुरु हुँदैछ, तयारी अझै राम्रो हुने विश्वास छु ।

० दसौं राष्ट्रिय खेलकुदका लागि अहिले बन्द प्रशिक्षमा रहेको कर्णाली प्रदेशको कबड्डी टोली समग्रमा कस्तो छ?
– टोलीमा रहेका सबैजना खेलाडी राम्रो खेल्न सक्ने अवस्थामा पुगिसकेका छौं, अहिले हाम्रो टोली एक दुई वटा प्रदेशलाई हराएर मेडल टच गर्न सक्ने भईसकेको छ, बन्द प्रशिक्षण शुरु भएको समय र अहिलेको समयमा हाम्रो टोलीमा धेरै सुधार भईसकेको छ, टोली समग्रमा मैले सोचेको भन्दा राम्रो बनेको छ ।

० मेडल टचको कुरा गर्नुभयो, दसौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको महिला कबड्डी टोलीले पदक जित्छ त?
– यहि अनुसार तयारी हुँदै गयो र बीचमा बन्द प्रशिक्षण रोकिएन र निर्धारित मिति मंसिरमै दसौं राष्ट्रिय भयो भने हामी पदक जित्छौं ।

० दसौं राष्ट्रियमा स्वर्ण, रजत वा कास्य कुन पदक जित्ने लक्ष्य छ, कर्णालीको महिला कबड्डी टोलीको?
– हाम्रो मुख्य लक्ष्य भनेको मेडल टच गर्ने हो, नियमित प्रशिक्षण हुँदै गयो भने हामी हाम्रो लक्ष्यमा सफल हुनेमा विश्वस्त छु ।

० अहिले नियमित कति समय प्रशिक्षण गर्दै आउनु भएको छ?
– अहिले बिहान र बेलुका दुई समय गरि दैनिक ५ घण्टा प्रशिक्षण हुँदै आएको छ ।

० कर्णाली प्रदेशमै दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ, आफ्नै प्रदेशमा राष्ट्रिय प्रतियोगिता हुन लाग्दै गर्दा कत्तिको उत्साहित हुनुहुन्छ?
– आफ्नै प्रदेशमा दसौं राष्ट्रिय खेलकुद आयोजना हुन लागेको छ, यसमा धेरै नै उत्साहित छु, आफ्नै ठाउँमा खेल्न पाउँदा हामीलाई केही सजिलो पनि हुनेछ ।

० यहाँका प्रशिक्षक, अफिसियल र प्रदेश सरकारले खेलाडीहरुलाई कत्तीको सहयोग र सपोर्ट गरिरहेका छन् त?
– प्रशिक्षहरुले राम्रो प्रशिक्षण गराईराख्नु भएको छ, हामीले प्रशिक्षणको दौरान खान र बस्नको सुविधासहित मासिक पाँच हजार भत्ता पनि पाउँदै आएका छौं, सबैले आ-आफनो तर्फबाट राम्रो सपोर्ट गर्दै आउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :