खेलकुदमन्त्री चौधरीको ‘बतासे ताल’ दसौं राष्ट्रिय खेलकुद धरापमा

श्रीविक्रम भण्डारी

राष्ट्रिय खेल पर्वको संज्ञा पाएको राष्ट्रिय खेलकुद प्रतियोगिताको दसौं संस्करण अहिले धरापमा पर्ने छाँटकाँट देखिन थालेको छ । खेलकुद सबैको साझा भएपनि राजनीतिक दलका नेताहरुले आफ्नो निहित स्वास्र्थ पुरा गर्न खेलकुदमाथि अनाहकमा धावा बोल्दै आएको कसैबाट छिपेको छैन । समय छउन्जेल कानमा तेल हालेर बस्ने, समयले नेटो काट्न थालेपछि जुर्मुराउने अस्वस्थ परिपाटीको उपजको शिकार दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता बन्न सक्ने सम्भावना बढेर गएको छ । परिणाम, आयोजनाका लागि सम्पूर्ण पूर्वाधार तयारीको अवस्थामा रहदा समेत दसौं राष्ट्रिय अन्योलतातर्फ धकेलिएको छ । यस्तो हुनुमा संघिय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी मुख्य दोषीको रुपमा आवरणमा देखिएका छन् ।

राष्ट्रिय खेलकुद प्रतियोगिता सबै दलको साझा प्रतियोगिता हो । दुर्भाग्य, यहाँ सरकार परिवर्तनसँगै राष्ट्रिय प्रतियोगितालाई आफ्नो पेवाको रुपमा हेरिन थालिएको छ । जुन शतप्रतिशत गलत मात्र नभई खेलकुदको मानमर्दन गर्ने कार्य हो । जुन यतिबेला एमाले र काङ्ग्रेसको गठबन्धन सरकारले गरिरहेको छ । दसौं राष्ट्रिय खेलकुद सबै राजनीतिक दल मिलेर भब्यताका साथ आयोजना गर्नुको साटो विभिन्न बहाना बाजीसँगै नजरअन्दाज गरिएको अवस्था छ । दसौं राष्ट्रियको कुनै पनि सवाल उठाउँदा त्यो युवा तथा खेलकुद मन्त्रीसँग ठोक्किन्छ । तर मन्त्री चौधरी भने दसौं राष्ट्रिय खेलकुद प्रति बेखबर जस्तै देखिएका छन् । खेलकुदमन्त्रीले सबैभन्दा महत्वपूर्ण र प्राथमिकतामा राख्नुपर्ने दसौं राष्ट्रिय खेलकुदलाई कुनै स्थान नै दिएका छैनन् । मात्र खेलकुदका कार्यक्रमहरुमा उद्घाटन, समापन गर्दै र अतिथि बन्दै आएका छन् । चौधरीले खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेदेखि अहिलेसम्म गर्दै आएको महत्वपूर्ण कार्य भनेको यिनै हुन् ।

खेलकुद मन्त्री भएको दुई साता नबित्दै पेरिस ओलम्पिकको भ्रमण गरेका मन्त्री चौधरीले भदौ महिनाको पहिलो साता कर्णाली प्रदेशको सुर्खेत भ्रमण गर्दै दसौं राष्ट्रिय खेलकुदका पूर्वाधारहरुको निरिक्षण गरेका थिए । दसौंको पूर्वाधार निरिक्षणपछि १५ दिनमा हुने पूूर्वाधार निर्माणको प्रगतिसँगै दसौंको बारेमा ठोस निर्णय गर्ने शंकनाद गरेका थिए । त्यसपछि राखेपले मुख्य निर्माण कार्यको दैनिक कार्यगत प्रगति विवरण कार्य तालिका अनुसार उक्त कार्य गर्न गराउन इन्जिनीयर प्रभात बडाललाई खटाएको थियो । बडालले उक्त जिम्मेवारी आदेश अनुरुप निभाउँदै भदौ २० गते काठमाडौं फर्किसकेका छन् । उनले आफ्नो प्रतिवेदनमा भौतिक पूर्वाधारका कारणले दसौं राष्ट्रियको आयोजना नरोकिने र निर्धारित समयमा हुने जानकारी गराएको बुझिएको छ । दुर्भाग्य, इन्जिनीयर बडालले प्रतिवेदन बुझाएको एकसाताको समय बितिसक्दा पनि मन्त्री चौधरीले अहिले चुँँ समेत गरेका छैनन् । आखिर किन, ‘दालमा कुच काला है’ भन्ने उक्तिलाई यसले पुस्टि गरेको छ ।

खेलकुदमन्त्री चौधरी खेलकुदमन्त्री बन्न कत्तिको योग्य छन्, भन्ने कुरालाई अहिलेसम्म रिक्त रहेको राखेपको उपाध्यक्ष पदको पदपूर्ति गर्न नसक्नुले पनि प्रमाणित गर्छ । साउन १२ गते रिक्त भएको उपाध्यक्ष पदमा अहिलेसम्म उनले नियुक्ति गर्ने योग्य व्यक्ति भेट्टाउन सकेका छैनन् । काङ्ग्रेस जस्तो समुन्द्र पार्टीमा राखेपको उपाध्यक्ष पदको जाबो एउटा व्यक्ति नभेट्टाउनु मन्त्री चौधरीको ठूलो कमजोरी हो । हो, यहाँ पार्टीको दबाव होला, नेताको दबाव होला, चुरो कुरो के हो भने उनले पार्टीलाई बुझाउन सक्नु पर्थ्यो, आफ्नो विवेक प्रयोग गरेर देखाउनु पथ्र्यो । यहाँ मन्त्री चौधरी नराम्रोसँग चुकेका छन् भने एमालेका कार्यकर्तालाई उपाध्यक्षको च्याँखे दाउ खेल्नका लागि सजिलो समेत बनाई दिएका छन् । त्यस्तै पार्टीको दवावमा तालिम तथा प्रशिक्षण विभागको प्रमुखमा सोभितराज प्रसाईंलाई नियुक्त गरेर मन्त्री चौधरीले खेलकुदको खम्बालाई हल्लाउने कार्य गर्दा खेलकुदमा गलत परम्पराको विजारोपण समेत हुन पुगेको छ ।

यसरी जुन कुरोलाई प्राथमिकतामा राख्नुपर्ने हो, त्यो कुरालाई प्राथमिकता नराख्दा अहिले खेलकुदमन्त्री चौधरी ‘बतासे ताल’ मा हिडिरहेको देखिन्छ । यदि उनी योग्य खेलकुदमन्त्री भएको भए सर्वप्रथम दसौं राष्ट्रियको बारेमा गम्भिर हुनुपथ्र्यो र सोहि अनुसार कार्य गर्नु पथ्र्यो । तर उनी आफ्नै ताल सुरमा हिड्दा कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन गइरहेको दसौं राष्ट्रिय खेलकुद धरापमा परेको पत्तै पाएका छैनन् । यदि निर्धारित समयमा दसौं राष्ट्रिय खेलकुद भएन भने त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव खेलकुद र खेलाडीमा कति पर्छ त्यसतर्फ चिन्तित भएको देखिदैन । अन्यथा एउटा पूर्व राष्ट्रिय खेलाडी भएको नाताले पनि मन्त्री चौधरीले यो कुरा बुझ्नु पर्दथ्यो । उनले बुझेर पनि बुझपचाएको अवस्था छ । यदि आजको अवस्थामा दसौं राष्ट्रिय पूर्व निर्धारित समयमा भएन भने भोलि अर्थात्, कुनै पनि समयमा हुने सम्भावनामा झिनो आशा मात्रै गर्न सकिन्छ । किनकि नेपालको खेलकुदमा राजनीतिको हाबी छ, आफ्नो दुनो सोझ्याउनेतर्फ अन्य राजनीतिक दलले पनि भाँजो नहाल्लान भन्न सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :