काठमाडौं । नेपालका शिवजी सिलवालले मकाउमा भएको दसौं एशियन उसु च्याम्पियनसिप २०२४ मा कास्य पदक जितेका छन्। सिलवालले प्रतियोगिता अन्तरर्गत आईतबार भएको सान्दा इभेन्टको पुरुष ९० केजी तौल समूहमा कास्य पदक जितेका हुन्।
यस प्रतियोगितामा नेपालले जितेको यो नै पहिलो र ऐतिहासिक कास्य पदक भएको नेपालका अन्तर्राष्ट्रिय उसु प्रशिक्षक निकेश श्रेष्ठले मकाउबाट मेरोखेल डटकमलाई जानकारी गराएका छन् ।
यसअघि आईतबार नै नेपालका अर्का खेलाडी दीपक हमालले थाउलो विधाको नानछ्वाङ इभेन्टमा प्रतिस्पर्धा गर्दै ४५ राष्ट्रको खेलाडी सहभागि रहेको स्पर्धामा छैठौं स्थान हासिल गरेका थिए ।

नेपाल उसु महासंघका अनुसार अन्तर्राष्ट्रिय निर्णायक मन्जुर महर्जन निर्णायकको भुमिकामा हाल नेपाली टोलीसँग मकाउ भ्रमणमा रहेका छन् । यस च्याम्पियनसिप अघि सेप्टेम्बर ११ मा १९ औं एशियन उसु कँग्रेस भएको थियो ।
कँग्रेसमा नेपालबाट प्रशिक्षक तथा नेपाल उसु महासंघका केन्द्रिय सचिव समेत रहेका निकेश श्रेष्ठले भोटिङ डेलिगेस तथा दीपक कुमार तामाङ र दीपलाल लामाले अब्जर्भ डेलिगेसको रुपमा सहभागिता जनाएको नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिए ।