काठमाडौं । क्रिकेट भनेपछि हुरुक्कै हुने सुरन्जन मल्ल ठकुरीले सानो उमेरदेखि नै स्थानियस्तरमा क्रिकेट खेल्न थालेका थिए। अन्जानमा साथीभाईसँग क्रिकेट खेल्दाखेल्दै उनी क्रिकेटतर्फ आकर्षित भए । साँचोरुपमा भन्नुपर्दा सुरन्जनको क्रिकेटप्रति मोह नै बसेको थियो । देशकाल परिस्थिति आफ्नो ठाउँमा थियो तर सुरन्जनको क्रिकेटप्रतिको लगावमा कुनै कमि आएन । उनको क्रिकेटप्रति यस्तो आकर्षण र मोह देखेर परिवारले नै सुरन्जनलाई कक्षा ९ मा अध्ययनरत रहदा क्रिकेटको प्रशिक्षणमा राखिदिए । त्यसपछि उनले प्रशिक्षकको निगरानीमा रहेर खुल्लारुपमा पहिलो पटक क्रिकेट खेल्ने र प्रशिक्षण लिने अवसर पाए ।
विद्यालयमा क्रिकेट खेल्ने वातावरण नहुदा उचित गन्तव्यको पखाईमा बसेका सुरन्जनले कक्षा १० मा अध्ययनरत रहदा नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (शान) मा प्रशिक्षण गर्ने सुनौलो अवसर पाए । साताको एक पटक शनिबार प्रशिक्षण गराउने शानबाट सुरन्जनले १ वर्ष प्रशिक्षण लिए । उनलाई राखेपका प्रशिक्षक अरुण अर्याल, मन्जुर आलम र सुरेश पाण्डेले प्रशिक्षण गराएका थिए । सो प्रशिक्षणबाट उनले क्रिकेटका आधारभूत कुरा सिक्ने अवसर पाएका थिए । तर एक वर्षपछि शानको प्रशिक्षण रोकिन पुग्यो । त्यसपछि उनले नेक्सेस एकेडेमीबाट क्रिकेटको प्रशिक्षण लिन थाले । त्यहाँ उनले शनिबार बाहेक साताको ६ दिन दैनिक रुपमा साढे दुई घण्टा प्रशिक्षण गर्थे ।
दुर्भाग्य, त्यसैबेला कोभिडको महामारी नेपालमा पनि फैलिएपछि उनको प्रशिक्षण डेढ वर्षसम्म रोकियो । कोभिडपछि सुरन्जनले घर नजिकै रहेको भक्तपुर क्रिकेट सेन्टरबाट प्रशिक्षण लिन थाले । जुन प्रशिक्षणले अहिलेसम्म निरन्तरता पाइरहेको छ । यहि क्रममा गत वैशाखमा उनले त्रिभुवन आर्मीको क्रिकेट ट्रेनिङ सेन्टरबाट दुई महिनाको प्रशिक्षण लिने अवसर पनि पाए। त्यहाँ उनलाई विनोद भण्डारीले प्रशिक्षण गराएका थिए। क्रिकेटको नसामा चुर्लुम्म डुबेका सुरन्जनलाई त्यसपछि परिवारले नै एड्भान्स ट्रेनिङको लागि भारतको गुरुग्राममा पठाएको थियो । यस कार्यमा सुरन्जनलाई दाजु मनोरन्जन मल्ल ठकुरीले विशेष रुपमा सघाएका थिए ।
मासिक ५ हजार भारतीय रुपैयाँ शुल्क तिरेर एड्भान्स ट्रेनिङ लिएका सुरन्जनले त्यहाँको क्रिकेट माहोल निकै उत्कृष्ट भएको सुनाए । उनले भने, ‘नेपाल र भारतको ट्रेनिङमा आकाश र पाताल जत्तिकै फरक छ, त्यहाँ प्रशिक्षकसँगै प्रशिक्षण लिने खेलाडी र प्रशिक्षणको वातावरण निकै उत्कृष्ट थियो।’ उनलाई भारतमा प्रशिक्षक सतपाल यादवले प्रशिक्षण गराएका थिए । एड्भान्स ट्रेनिङ लिएपछि आफुमा निकै आत्मविश्वास भरिएको र सो ट्रेनिङपछि आफु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न मानसिक रुपममा बलियो भएको सुरन्जन बताउछन् । यसरी उचित समय अर्थात् आफ्नो खेल जीवनको टर्निङ प्वाइन्टको पर्खाईमा रहेका सुरन्जनले एक दिन आफु पनि नेपाली राष्ट्रिय क्रिकेटको जर्सी लगाएर देशको लागि खेल्ने सपना बुनेका छन् ।
सुरन्जन ब्याट्सम्यान हुन् । उनी टप अर्डरका ब्याट्सम्यान हुन् । अहिलेसम्म खेलेका क्रिकेट प्रतियोगितामा उनले वान डाउन अर्थात् तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका छन् । त्यस्तै परे उनी ओपनिङ गर्न पनि पछि पर्दैनन् । सुरन्जनले पहिलो खेल शानले आयोजना गरेको इन्ट्रान्सहरुबीचको प्रतियोगिता खेलेका थिए । पुल्चोक इन्जीनीयररिङ क्रिकेट ग्राउण्डमा भएको उक्त खेलमा उनले अर्धशतक प्रहार गरेर आफुलाई भविष्यको क्रिकेटको उदीयमान खेलाडीको रुपमा प्रस्तुत गर्न सफल भएका थिए । उक्त तीन म्याचको सिरिजमा उनको प्रदर्शन उत्कृष्ट रहेको थियो ।
तत्कालिन समयमा नेपाल क्रिकेट संघ (क्यान) ले सिमित क्रिकेट प्रतियोगिताहरुको आयोजना गर्ने भएकोले सुरन्जनले आफ्नो खेललाई अन्तर एकेडेमीबाट खेल्दै निरन्तरता दिएका थिए । पछि क्यानका आधिकारिक क्रिकेट प्रतियोगिता हुन थालेपछि उनले भक्तपुर जिल्लाबाट आफ्नो प्रतिनिधित्व जनाउँदै आएका छन् । भक्तपुर जिल्लाबाट बागमती प्रदेशीय क्रिकेट खेल्दाको अनुभव उनको लागि अहिलेसम्मकै अविष्मरणीय क्षण हो । चितवनमा भएको उक्त प्रतियोगितामा उनले सोचेवमोजिमको उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि ठूलो अनुभव बटुल्न भने सफल भएका थिए । त्यस्तै उनले गत वर्ष क्यानको अण्डर १९ छनौट प्रतियोगिता भक्तपुर जिल्लाबाट खेले पनि उनी प्रदेशको टोलीमा छनौट हुन भने असफल भए । उक्त छनौट चरणका चारमध्य दुई खेलमा मात्र क्रिकेट मैदानमा उत्रिन पाएका सुरन्जनले औसत प्रदर्शन गरेका थिए ।
यतिबेला नेपालमा क्रिकेटको माहोल निकै राम्रो भएको बताउने सुरन्जनले भविष्यमा राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने सपना बुनेका छन् । क्रिकेटमा २२ वर्षिय सुरन्जनको फेवरेट फम्र्याट भनेको एकदिवसिय क्रिकेट हो । उनी अहिले एकदिवसिय क्रिकेटलाई लक्षित गरि आफुलाई तयार गरिरहेका छन् । म्यानेजमेन्टतर्फ स्नातक दोश्रो वर्षमा अध्ययनरत सुरन्जन नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र भारती चर्चित ब्याट्सम्यान विराट कोहलीलाई आफ्नो आइडलको रुपमा मान्छन् । साथै उनी नेपाली क्रिकेटको क्राउडतर्फ निकै सकारात्मक पनि छन् ।
यसरी राष्ट्रिय टोलीको जर्सी लगाएर खेल्ने सपनालई मुर्तरुप दिन अहिले सुरन्जन दिनराज एउटै पारी प्रशिक्षणमा होमिएका छन् । आफ्नो अर्जुन दृष्टि राष्ट्रिय क्रिकेट टोलीलाई बनाएका सुरन्जन एक उत्कृष्ट इनिङले खेल जीवनमा आफ्नो भाग्य चम्किने कुरामा विश्वस्त देखिन्छन् । प्रशिक्षणविना गन्तव्यमा पुग्न नसकिने यथार्थतालाई आत्मसाथ गरेका सुरन्जनले राष्ट्रिय टोलीमा नपरेसम्म र राष्ट्रिय टोलीमा परेपछि पनि यस्तै कठोर प्रशिक्षण गर्नुका साथै राष्ट्रको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउनको लागि कुनै कसर बाँकी नराख्नेमा दृढ संकल्प समेत लिएका छन् ।