हाप्किडो खेल नेपालमा भित्रिएको १८ वर्ष पुगिसक्दा यसले वैधानिक मान्यता पाएको भने एक दशक हुन लाग्यो । २०७३ सालमा राष्ट्रिय खेलको मान्यता पाएसँगैै आफ्ना गतिविधिलाई तिब्रता दिदै छोटो समयमै राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा सफलताको झण्डा गाड्न सफल भएको यो खेलमा अहिले नेपाल अधिराज्यभरि हजारौंको संख्यामा खेलाडीहरु छन् । केन्द्र र मोफसललाई एउटा सिक्काको दुई पाटा मान्ने नेपाल हाप्किडो संघले अन्य खेलभन्दा छुट्टै उद्देश्यका साथ आफ्ना खेलकुदका गतिविधिहरुलाई अगाडि बढाईरहेको छ । धनी होस् या गरिब, संघले कुनै पनि खेलाडी खेल्नबाट बन्चित हुन नपरोस्, भन्ने मान्यता मात्र राखेको छैन, शिक्षाको ज्योतिसँगै समाजको रुपान्तरण गर्ने महान लक्ष्य समेत राखेको छ । हाप्किडो खेललाई छोटो समयमै राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा सक्षम, सवल र सफल रुपमा स्थापित गर्न विशेष योगदान दिएका संघका अध्यक्ष तथा दक्षिण एशियाली हाप्किडो महासंघका अध्यक्ष समेत रहेका काली बहादुर घर्ती मगरसँग हाप्किडो खेलका विभिन्न गतिविधिमा केन्द्रीत रहेर मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले गरेको विशेष कुराकानीः–

० सर्वप्रथम हाप्किडो खेलको उत्पत्ती कहाँबाट भयो र यो कस्तो प्रकारको खेल हो? बताइदिनुहोस् न?
– हाप्किडो खेल कोरियन मार्सल आर्ट खेल हो । कोरियामा नै यो खेलको जन्म भएको हो । यो खेलको जन्मदाता चोईयोङ सुुल हुन् । उनले सन् १९४८ मा यो खेलको स्थापना गरेका थिए । त्यसपछि अहिले यो खेल विश्वव्यापी रुपमा विकसित भइरहेको अवस्था छ ।
० विश्वमा विभिन्न किसिमका मार्सल आर्टका खेलहरु छन्, हाप्किडो चाहिँ कस्तो किसिमको मार्सल आर्ट खेल हो नी?
– हाप्किडो मार्सल आर्ट खेल नै भएपनि यो भिन्नै विधाको खेल हो । यो भिन्दै नियम र तरिकाबाट खेल्ने गरिन्छ । यसमा किक, पञ्च, जोइन्ट लक, थ्रोइङ, ग्रयापलिङ, हाइफल, लङफल र विईपन टेक्निकको प्रयोग गरेर खेलिन्छ । यसका इभेन्टहरुमा क्युरोगी, होसिन्सुल, हाईफल, लङफल र विपन टेक्निक पर्दछन् । यसको आफ्नै वर्ल्ड च्याम्पियनसिप, एशियन च्याम्पियनसिप र साफ च्याम्पियनसिप हुन्छ । यसको स्वरुप त्यस्तो देखिए पनि यो कुनै मार्सल आर्ट अन्तर्गतको खेल भने होइन ।
० नेपालमा हाप्किडो खेल कसरी भित्रियो र यसलाई भित्र्याउने कार्य कस्ले गरेको हो?
– नेपालमा हाप्किडो आज भन्दा १८ वर्षअघि भित्रिएको हो । यो खेललाई नेपालमा भित्र्याउने कार्य खुद मैले नै गरेको हुँ । नेपालमा यो खेललाई भित्र्याउनु अघि मैले दक्षिण कोरियामा प्रशिक्षण लिएको थिए । प्रशिक्षणको क्रममा मैले यो खेलको प्राविधिक र सैद्धान्तिक तथा विश्वमा यो खेलको गतिविधिको बारेमा विश्वका विभिन्न राष्ट्रहरुमा गएर गहिरो अध्ययन गर्ने अवसर पाए । सोहि क्रममा यो खेलको सेमिनार र च्याम्पियनसिपमा सहभागि हुँदा नेपालमा पनि संस्थागत रुपमा विकास गर्नुपर्छ भन्ने लाग्यो र १८ वर्षअघि यो खेललाई नेपालमा भित्र्याउन सफल भएँ ।
० हाप्किडो खेल नेपालमा भित्रिएपछि सर्वप्रथम कुन ठाउँबाट यस खेलको गतिविधि सञ्चालन गर्नु भयो त?
– हामीले सर्वप्रथम हाप्किडो खेलका गतिविधि काठमाडौंका सिमित डोजाङबाट शुरु गरेका हौं । शुभारम्भमा अन्य खेलसँग प्रतिस्पर्धा गर्न निकै चुनौंतिपूर्ण थियो, त्यसैले हामीले अन्य खेलभन्दा फरक ढङ्गले जाने रणनीति बनायौं । यसका साथै यो खेललाई सम्बन्धित निकायबाट कसरी वैधानिकता दिलाउन सकिन्छ त्यो बारेमा समेत पहलकदमी गर्दै गयौं ।

० हाप्किडो खेललाई नेपालमा वैधानिकता दिलाउन जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नु भयो कि, राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा?
– हामीले हाप्किडो खेललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा २०७३ साल असोज महिनामा दर्ता गरेका हौं । हाप्किडो संघ राखेपमा वैधानिक रुपमा दर्ता भएपछि संघको विस्तारको लागि राखेपको नियम पालना गर्दै सर्वप्रथम १५ वटा जिल्लामा हाप्किडो संघ गठन गरिएको थियो । सो अवधिमा विभिन्न सेमिनार र च्याम्पियनसिपको आयोजना गरेका थियौं । त्यसपछि हामीले संघको विधानसहित राष्ट्रिय खेलको मान्यता पाउन राखेपमा स्वीकृतिको लागि पहल गरेपछि राखेपले हाप्किडोलाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।
० हाप्किडो खेलले राष्ट्रिय खेलको मान्यता पाएपछि यो खेलको गतिविधिलाई तपाईंले कसरी राष्ट्रियस्तरमा क्रियाशिल गराउनु भयो, चुनौंतिको सामना त गर्नुपर्यो होला नी?
– अवश्य पनि, त्यतिबेला ठूलो चुनौंतिको सामना गर्नु गरेको थियो । नेपालमा हाप्किडो खेलको संस्थागत विकास गर्दा विधि, विधान, नीति नियम र प्रक्रियालाई प्राथमिकतामा राखेर त्यसको मूल जडमा गएर विकासको लागि कार्य गरिरहेको छु । जसले यो खेललाई नेपालमा स्थापित गराउन सहज भएको मैले महसुस गरेको छु।
० नेपालमा हाप्किडो खेलको शुभारम्भ गर्दा खेलाडीहरुलाई यो खेलतर्फ आकर्षित गर्न कस्तो किसिमको रणनीति अख्तियार गर्नु भएको थियो?
– सर्वप्रथम खेल ‘स्वास्थ्य र राष्ट्रको लागि’ भन्ने स्लोगन नै छ । यो सँगसँगै खेलसँग जोड्न आम युवाहरुलाई खेल किन खेल्नु पर्छ, कस्तो खेल खेल्नु पर्छ, खेलेर के हुन्छ र यसको भविष्य के हो? भन्ने नै हाम्रो मूल उद्देश्य हो । यदि हामीले यो एजेन्डालाई प्रस्तुत गर्न सकेनौ र व्यवहारमा कार्यान्वयन गर्न सकेनौ भने खेलाडी उत्पादन गर्न पनि सक्दैनौँ । त्यसैले हामीले विद्यालयस्तरबाटै हाप्किडो खेलको बारेमा प्रोत्साहित गर्ने अभिमुखिकरण कार्यक्रम अगाडि बढायौं । साथै यस खेलको भविष्य के हो? भविष्य विना खेलको विकास गर्न असम्भव हुन्छ । त्यसैले समाजलाई खेलबाट कसरी रुपान्तरण गर्न सकिन्छ, कसरी जीविकोपार्जन गरि आत्मनिर्भर बन्न सकिन्छ, कसरी सीप र कलाको विकास गर्दै समाजलाई परिवर्तन गर्न सकिन्छ भन्ने कुरालाई विशेष महत्व दिएका छौं । साथै यो खेलबाट युवाहरुको क्षमता र नेतृत्वको विकास कसरी गर्न सकिन्छ भन्ने उदेश्यका साथ हामीले यो खेललाई अगाडि बढाएका छौं ।
० हाप्किडो राजधानीभन्दा पनि मोफसलतर्फ केन्द्रीत भएको देखिन्छ, यसको मुख्य कारण के होला नी?
– निश्चय पनि यसमा विशेष कारण छ । किनकि जतिपनि खेलहरु राजधानी केन्द्रित हुन्छन्, शहरमुखि हुन्छन्, त्यसमा सेवा सुविधा लिएर कार्यक्रम गर्न सकिन्छ । तर मार्सल आर्ट खेल भनेको शहर भन्दा गाउँको, त्यहाँको भूगोलको, त्यहाँको परिवेशको, त्यहाँको वातावरणको, त्यहाँको प्रकृतिसँग प्रत्यक्षरुपमा आत्मसात गरिरहेका युवा र प्रतिभालाई सुहाउँदो खालको छ । त्यसैले उनीहरुलाई नजिकबाट नियाल्दै उनीहरुको प्रतिभा गाउँदेखि शहरसम्म जोड्ने काम गरिरहेका छौं । जसबाट उनीहरुको क्षमतामा वृद्धि विकास मात्र भएको छैन, एक सफल अन्तर्राष्ट्रिय खेलाडीको पहिचान बनाउन समेत सफल भएका छन् । जसले राष्ट्रको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउने कार्य मात्र भएको छैन, अवसर नपाउने खेलाडीहरुले अवसर पाएर अन्तर्राष्ट्रिय पदक जितेर मुलुकको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन समेत सफल भएका छन् । यहि कारणले हामीले शहर मात्र नभई गाउँ केन्द्रीत भएर कार्यक्रमहरु गरिरहेका छौं ।

० हाप्किडो संघ नेपालमा धेरै प्रतियोगिता आयोजना गर्ने संघमध्य एउटामा पर्छ, यति धेरै प्रतियोगिता आयोजना गर्दा आर्थिक जोहो भने कहाँबाट गर्नु हुन्छ नी?
– कुनै पनि संघले प्रतियोगिताको आयोजना गर्दा आर्थिक पाटो नै सबैभन्दा महत्वपूर्ण हुन्छ । मेरो विचारमा आर्थिक पाटो महत्वपूर्ण भए पनि मिसन, भिजन र लक्ष्य त्यत्तिकै महत्वपूर्ण हुन्छ । खेल गतिविधिलाई अगाडि बडाउन स्थानिय निकायदेखि केन्द्रसँग समानरुपमा समन्वय गर्न सक्नुपर्छ । यस्तोमा राष्ट्रिय खेलकुद परिषद् (राखेपं) ले हामीलाई पटक-पटक सहयोग गर्दै आएको पनि छ । हामीले वार्षिक क्यालेण्डर अनुसार वर्षमा नियमित रुपमा ६ वटा राष्ट्रिय च्याम्पियनसिप गर्दै आएका छौं। राष्ट्रिय सँगसँगै अन्तर्राष्ट्रिय च्याम्पियनसिप र सेमिनार पनि वार्षिक रुपमा आयोजना गर्दै आएका छौं । यी प्रतियोगिता सञ्चालन गर्न र सफल पार्न स्थानियतह, निजी क्षेत्र र खेलप्रेमीहरुले सहयोग गर्दै आएका छन् । त्यस्तै हामीले महिलाहरुको क्षमता विकास, नेतृत्व विकास र दक्ष, सक्षम र अब्बल बनाउने उद्देश्यका साथ महिला राष्ट्रिय च्याम्पियनसिप पनि आयोजना गर्दै आएका छौं । यसरी महिला शसक्तिकरणको सवालमा हामीले थोरै भएपनि टेवा र सहयोग पुग्ने हिसावले कार्य गरिरहेका छौं ।
० मिसन र भिजनको कुरा गर्नु भयो, राष्ट्रिय र अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा हाप्किडो खेलका खेलाडीहरुको प्रदर्शनबाट सन्तुष्ट हुुनुहुन्छ?
– कुनै पनि खेलको मिसन र भिजन सहि भएन भने खेल अगाडि बढ्न सक्दैन । अर्को कुरा मिसन र भिजन हुँदैमा नेतृत्वमा सक्षम व्यक्ति भएन भने सोचेको जस्तो सफलता प्राप्त गर्न सकिदैन । यो खेल मार्फत हामीले वर्ल्ड च्याम्पियनसिप, युरोपियन च्याम्पियनसिप, एशियन च्याम्पियनसिप र साफ च्याम्पियनसिपमा पदक जित्ने लक्ष्य बनाएका छौं । हालै थाइल्याण्डमा सम्पन्न भएको वर्ल्ड च्याम्पियनसिपमा नेपाली हाप्किडोका खेलाडीले सहभागिता जनाउँदै दुईवटा रजत र दुईवटा कास्य पदक जितेर ऐतिहासिक सफलता हात पारेका थिए ।
० यति लामो इतिहास बोकेको हाप्किडो खेल अहिलेसम्म ओलम्पिकमा समावेश नहुनुको कारण के हो र ओलम्पिकमा समावेश हुने कुरामा कत्तिको ढुक्क हुनुुहुन्छ?
– चुरो कुरो के हो भने, अन्तर्राष्ट्रिय महासंघको विवादका कारणले अहिलेसम्म हाप्किडो ओलम्पिकमा समावेश हुन नसकेको हो । सम्भवत छिट्टै नै ओलम्पिक खेलको रुपमा यो खेललाई लैजाने होमवर्क भइरहेको छ । यो कोरियन मार्सल आर्ट भएकोले पनि अहिले कोरियन सरकारले पहलकदमी गरिरहेको अवस्था छ । त्यो मात्रै नभएर एशियन गेम्समा राख्नका लागि पनि कोरियन सरकारले जोड दिइरहेको छ ।
० नेपालमा हाप्किडो संघले राष्ट्रिय खेलको रुपमा मान्यता पाएपछि अधिराज्यभरि यस खेलका खेलाडीहरुको संख्या कति छ नी?
– हाप्किडो संघको केन्द्रीय संरचना अनुसार अहिले सातवटै प्रदेशमा यसको समिति गठन भईसकेको छ । सातवटै प्रदेशको समिति अन्तर्गत ६६ जिल्लामा यसको संरचना छ । अहिले अधिराज्यभरि हाम्रो १९ सय डोजाङ रहेका छन् । त्यति नै संख्यामा खेलाडी छन् भनेर यकिनका साथ भन्न नसकिने भए पनि यी डोजाङहरुमा हजारौं खेलाडीहरु रहेका छन् । कोेहि खेलाडी छोड्ने, कोही खेलाडी आउने भएकाले यो क्रमिक रुपमा बढ्ने र घट्ने भईरहन्छ । समग्ररुपमा भन्नुपर्दा हजारौंको संख्यामा खेलाडीहरु यो खेलमा आवद्ध छन् ।

० नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हाप्किडोलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएपनि कर्णाली प्रदेशमा आयोजन हुन गइरहेको दसौं राष्ट्रिय खेलकुदमा यो खेललाई प्रस्तावित गरिएको छैन, यस्तो हुनुको कारण के होला नी?
– नवौं राष्ट्रियमा हाप्किडोलाई समावेश गर्न मैलै निकै प्रयास र पहल गरेको थिए । तर त्यो सम्भव हुन सकेन । यस्तो कुरा त राष्ट्रिय खेलकुद परिषद् (राखेप) अभिभावक संस्था भएको नाताले खेलाडीको भविष्यलाई मध्यनजर गर्दै सोच्नु पर्ने थियो, तर राखेपले त्यस्तो गरेन । नवौंमा प्रदर्शनी खेलको रुपमा मात्र हाप्किडोलाई समावेश गरेको थियो । अहिले पनि दसौं राष्ट्रिय खेलकुदमा हाप्किडोलाई प्रस्तावित खेलमा समावेश गरिएको छैन । यो हाप्किडो संघ र खेलाडीप्रति अन्याय हो । अहिले पनि कुनै खेलको निर्णय नभएकोले दसौं राष्ट्रियमा हाप्किडो पर्ने कुरामा हामी विश्वस्त छौं, त्यसको प्रयासमा हामी लागेका छौं ।
० दसौं राष्ट्रिय खेलकुदमा हाप्किडो खेललाई प्रस्ताविक खेलको सूचीमै राखेको छैन भने कसरी दसौंमा हाप्किडो पर्ने कुरामा विश्वस्त हुनुहुन्छ?
– प्रस्ताविक खेलको सूचीमा राख्न हामीले पहल कदमी गरिरहेका छौं । यसको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयमा हामीले जानकारी गराएका छौं । किनकी हाप्किडो खेल नेपालको लोकप्रिय खेल बनिसकेको छ, कुनै खेलभन्दा कम छैन, हजारौं खेलाडी यसमा आवद्ध छन् । साथै यो खेल समाजलाई रुपान्तरण गर्ने दिशामा अगाडि बढिरहेकोले सम्बन्धित निकायले यसको बारेमा गम्भिरताका साथ सोच्नु पर्ने बेला भइसकेको छ । मलाई विश्वास छ, उहाँहरुले अवश्य पनि सकारात्मक कदम उठाउनु हुनेछ ।
० अन्य खेलका खेलाडीले साग, एशियन र ओलम्पिक खेलमा पदक जित्ने सपना देखेका हुन्छन् भने हाप्किडो खेलाडीको सपना चाहिँ के हो नी, प्रस्ट पारी दिनुहोस् न?
– विशेष गरेर हाप्किडो खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा खेल्दै वर्ल्ड च्याम्पियन बन्ने लक्ष्य राखेको हुन्छ । त्यस्तै युरोपियन, एशियन र साग च्याम्पियनसिपमा पदक जित्ने अपेक्षा राखेका हुन्छन् । हाप्किडो महासंघ अन्तर्गत हुने सम्पूर्ण अफिसियल च्याम्पियनसिपमा पदक जित्ने उनीहरुको लक्ष्य हुन्छ । अर्को महत्वपूर्र्ण कुरा हाप्किडोमा पदक जित्नको लागि मात्र खेल्ने नभई समाज रुपान्तरणको मुद्दा पनि विशेष हुन्छ ।
० झ्वाट्ट हेर्दा हाप्किडो संघलाई तपाईं एक्लैले अगाडि बढाईरहेको जस्तो देखिन्छ, आखिर एक्लो प्रयासले यो सम्भव हुन्छ त?
– हैन यस्तो हो , झ्वाट्ट हेर्दा त्यस्तो देखिए पनि त्यस्तो होइन, संघका सबै साथीभाईहरुको पनि यसमा उत्तिकै योगदान छ । त्यस्तै हामीलाई राष्ट्रिय खेलकुद परिषद, प्रदेश सरकार, स्थानिय सरकार सबैले सहयोग गरिरहनु भएको छ । निजी क्षेत्रसँग पनि हामीले समन्वय गरेर अगाडि बढिरहेका छौं । अहिले नीजी क्षेत्रबाट मात्रै हामीले लगभग १५० वटा डोजाङ स्थापना गरेका छौं । मेले मात्रै लगानी गरेर संस्था चलेको भने पक्कै होइन, यसमा सबैको योगदान त्यत्तिकै रहेको छ ।

० अहिलेसम्म तपाईंले हाप्किडो खेल सम्बन्धि पाँचवटा म्यागजिन पुस्तक निकालि सक्नुभएको छ, आखिर यी पुस्तक निकाल्नुको तात्पर्य के हो नी? यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा नेपाली हाप्किडो खेल र खेलाडीलाई कत्तिको फाइदा पुगेको महसुस गर्नु भएको छ?
– निश्चित रुपमा भन्नुपर्दा मैले अहिलेसम्म पाँचवटा पुस्तक प्रकाशित गरिसकेको छु । यी पुस्तकहरुलाई अन्तर्राष्ट्रियस्तरमा विक्रि वितरण गरेर भएको आम्दानीबाट हाप्किडो खेलका विभिन्न कार्यक्रमहरुमा खर्च गर्दै आएको छु । यी पुस्तकहरुको बाहिर निकै राम्रो मार्केट छ । चौथो संस्करणको रुपमा प्रकाशित भएको पुस्तकको २००० कपी विभिन्न राष्ट्रहरुमा वितरण भइसकेको छ र पनि यसको डिमाण्ड अहिले पनि आईरहेको छ । मैले एक कपीको न्यूनतम ८ हजार रुपैयाँमा विक्रि वितरण गर्दै आईरहेको छु ।
० यति धेरै पुस्तक प्रकाशित गरिसक्नु भएको छ, अध्ययन पनि राम्रो होला नी?
– अध्ययन विना त पुस्तक लेख्ने कल्पना समेत गर्न सकिदैन । केहि सिर्जना गर्नको लागि ज्ञानको पनि त्यत्तिकै आवश्यकता हुन्छ । मैले ज्ञान हासिल गर्ने क्रममा सन् २०२० मा नर्वेबाट स्पोर्ट्स साइन्समा मास्टर डिग्री हासिल गर्नुको साथै त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा मास्टर डिग्री गरेको छु । यस्तै मैले हाप्किडोमा ब्ल्याक बेल्ट आठौं डान समेत प्राप्त गरेको छु ।
० यस्तो अवस्थामा राज्यबाट तपाईंले कस्तो अपेक्षा गर्नु भएको छ, राज्यले हाप्किडो खेलको विकासको लागि अझै कस्तो खालको सहयोग गरिदिओस्, भन्ने अपेक्षा राख्नु भएको छ?
– सर्वप्रथम राज्यले हाम्रो गतिविधि र कार्यक्रमलाई मूल्याङ्कन गरिदियोस् भन्ने लाग्छ । विशेष गरेर राज्यले भन्दा पनि राखेपले हाम्रो मूल्याङ्कन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । अहिले हामी आफ्नै प्रयासमा विभिन्न प्रदेशका जिल्लाहरुमा अन्तर्राष्ट्रिय दातृ निकाय र स्थानिय सरकारको सहयोगमा हाप्किडो खेलका भौतिक पूर्वाधार निर्माण गर्न गईरहेका छौं, यस्तोमा राखेपले पनि सहयोग गरिदिएको खण्डमा अझ राम्रो हुने मेरो धारणा छ ।

० हाप्किडो खेलको विशेषता र यो खेल खेलेपछि युवा तथा खेलाडीलाई हुने फाइदाको बारेमा बताईदिनुहोस् न?
– खेल स्वास्थ्य र राष्ट्रको लागि खेल्ने कुरा त छदैछ । त्यो बाहेक अन्तर्राष्ट्रियस्तरमा पदक जितेर राष्ट्रको झण्डा फहराउने नै मुख्य लक्ष्य हो । चुरो कुरो के हो भने भविष्यमा खेलबाट टाढा रहदा समेत खेलाडीलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो । खेलाडीको भविष्य उज्ज्वल होस् भनेर रोजगारीको पाटो पनि हामीले खेलमा जोडेका छौं । समग्रमा भन्नुपर्दा खेल खेलेपछि त्यस्तो खेलाडी बनोस् जो शिक्षित होस्, त्यसतर्फ पनि विशेष ध्यान दिएका छौं । युवा, खेलाडी भनेको देशको मेरुडण्ड हुन्, तर देशको भद्रगोल स्थितिले गर्दा उनीहरुको दिमागमा नकारात्मक असर परेको छ, यस्तो अवस्थालाई चिर्न हामीले उनीहरुलाई विदेश पलायन हुनबाट रोक्न विशेष कार्यक्रम बनाएका छौं । जुन राष्ट्रको लागि फलदायी हुने मेरो विश्वास छ ।



