काठमाडौं । गण्डकी थन्डर्स चौथो खेलमा आएर वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा आफ्नो पहिलो जित दर्ता गर्न सफल भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहीबार राती भएको खेलमा ललितपुर क्विन्सलाई ३-२ सेटमा हराउँदै गण्डकी पहिलो जित दर्ता गर्न सफल भयो ।
गण्डकीले खेल क्रमशः २७-२९, २५-२३, २५-१२, १३-२५ र १५-७ ले आफ्नो पक्षमा पर्यो । जितसँगै गण्डकीले ४ खेलबाट ३ अंक जोडेको छ । यद्यपि अब लिग चरणको एक खेल खेल्न बाँकी रहेको गण्डकी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यता दोश्रो हार व्यहोरेको ललितपुरले समान खेलबाट ७ अंक जोडेको छ । आजको हारले ललितपुरको शीर्ष दुईमा रहेर फाइनल खेल्ने सपना कठिन बनेको छ ।
शीर्ष स्थानको कर्णालीको १०, दोश्रो स्थानको काठमाडौंको ९ र तेश्रो स्थानको चितवनको पनि ७ अंक रहेको छ ।
राउन्ड रोबिनको आधारमा जारी प्रतियोगितामा लिग चरणका खेलहरु शुक्रबार सकिने छन् । त्यसपछि तालिकाको शीर्ष दुई टोलीले असोज १९ गते शनिबार फाइनल खेल खेल्ने छ ।