काठमाडौं । नेपालकी अञ्जली तामाङले अस्ट्रेलियामा भएको भिक्टोरिया स्टेट केपिएनपी ओपन तेक्वान्दो सिरिजमा स्वर्ण पदक जितेकी छन् ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको तेक्वान्दो सिरिजमा अञ्जलीले ग्यरोगीतर्पm महिला ६२ केजी तौलसमूहमा स्वर्ण जितेको गोर्खा तेक्वान्दोका प्रशिक्षक उज्जवल गुरागाइँले जानकारी दिए । भिक्टोरियास्थित क्रेगबर्न स्पोर्ट्स स्टेडियममा भएको फाइनलमा अञ्जलीले अस्ट्रेलियाकै फिडोर पाकलाई १२–३ स्कोरले हराइन् ।
त्यसअघि उनले पहिलो चरणमा नेपालकै सन्ध्या सिंहबाट बाई पाएकी थिइन् । सेमिफाइनलमा पनि उनले अस्ट्रेलियाकै इसाबेल पाभियालाई १५–५ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।
नेपाल आर्मीका पूर्व खेलाडीसमेत रहेका प्रशिक्षक गुरागाईले यसै प्रतियोगिताका लागि अञ्जलीले धेरै मिहेनत गर्दै उत्कृष्ट प्रदर्शन गरेको बताए । अञ्जलीले लामो समयदेखि ४९ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै आइरहेकी छन् । उनले चीनमा सम्पन्न १९औं एसियन गेम्समा पनि यसै तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
उक्त एसियन गेम्समा अञ्जलीले एक फाइटसमेत जितेकी थिइन् । तर, अन्तिम आठमा भने उनी थाइल्यान्डकी पानिपाक वाङफातानकितसँग पराजित भइन् । पानिपाकले सोही एसियाडमा स्वर्ण पदक पनि जितेकी थिइन् ।