काठमाडौं । जापानको योकोहामा शहरमा सञ्चालन भईरहेको उसुको तेश्रो थाउलो विश्वकप २०२४ मा नेपालका विजय सिञ्जालीले ऐतिहासिक कास्य पदक जित्न सफल भएका छन् । नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाका अनुसार नेपालले उसु खेलतर्फ विश्वकस्तरीय प्रतियोगिता पदक जितेको यो पहिलो पटक हो ।
२३ अक्टोबरदेखि जापानको योकोहामा शहरमा शुरु भएको थाउलो विश्वकप २०२४ मा सिञ्जालीले पुरुष जिन्सु इभेन्टतर्फ कास्य पदक जितेका हुन् । यो इभेन्टमा जापानले स्वर्ण र मलेसियाले रजत पदक जितेका छन् । यो समुहमा ९ देशका खेलाडीहरुको सहभागिता रहेको थियो ।
विश्वकपमा नेपाललाई रजत पदक दिलाएपछि सिञ्जाली भने ‘विश्वकपमा नेपाललाई पदक दिलाउन पाउँदा ज्यादै खुशी छु, यो मेरो जित नभई नेपालको जित हो, यो जितले ममा ठूलो विश्वास पलाएको छ, अब भविष्यमा यो भन्दा ठूलो पदक जित्नको लागि मेहनत गर्नेछु ।’ साथै सिञ्जालीले यो पदक दिलाउन विशेष भूमिका निर्वाह गर्ने प्रशिक्षक र उसु महासंघलाई धन्यवाद दिएका छन् ।

गत अप्रिलमा चीनमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालका पाँच जना खेलाडी तेश्रो थाउलो विश्वकपमा छनौट भएको महासंघका महासचिव लामाले जानकारी गराएका छन् । नेपाल तेश्रो थाउलो विश्वकपमा दक्षिण एशियाली राष्ट्रबाट छनौट हुने एक मात्र राष्ट्र हो ।
२३ देखि २८ अक्टोबरसम्म सञ्चालन हुने थाउलो विश्वकपमा २०२४ मा नेपालको तर्फबाट पाँच जना खेलाडी दीपक हमाल, विजय सिञ्जाली, निमा घर्तिमगर, पासाङ शेर्पा, राजीव तामाङ सहभागि छन् । त्यस्तै प्रशिक्षकमा अन्तर्राष्ट्रिय प्रशिक्षक निकेश श्रेष्ठ रहँदा टोलीको नेतृत्व महासचिव लामाले गरेका छन् ।