थाइल्याण्डविरुद्ध नेपाल १०६ रनले विजयी

काठमाडौं । नेपालले आईओसी महिला यु-१९ विश्वकपको एशिया छनौट अन्तर्गत आइतबार भएको खेलमा थाइल्याण्डविरुद्ध १०६ रनको फराकिलो अन्तरको जित हासिल गरेको छ ।

युएईको द सेभेन रंगशालामा भएको खेलमा नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा अलआउट हुँदै ३३ रनमा समेटियो ।

थाइल्याण्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नेपालका लागि कुसुम गोदारले ३, रिया शर्मा र रचनाकुमारी चौधरीले समान २ तथा कप्तान पूजा महतोले १ विकेट लिइन् ।

त्यसअघि जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि साना प्रविनले ४६ बलमा सर्वाधिक ५३, सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन जोडेकी थिइन् ।

बलिङमा थाइल्यान्डका लागि नाथरिका थोकोईले ३, केसिनी काउजुम्फोलले २ तथा कुरानित सुवाञ्चोराथीले एक विकेट लिइन् । जितसँगै ४ खेलबाट ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ।

यसअघि थाइल्याण्डलाई ६७ र कुवेतलाई १०८ रनले हराएको नेपाल युएईसँगै १३ रनले पराजित भएको थियो । यता दोश्रो हार व्यहोरेको थाइल्याण्ड समान खेलमा २ अंकका साथ तेश्रो स्थानमा रहेको छ ।

यसअघि युएईसँग ७४ रनले पराजित भएको थाइल्याण्डले कुवेतलाई २० रनले हराएको थियो । अब नेपालले मंगलबार कुवेतको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :