स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेको छ । अबान्सा बालाइडोस स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोली सेल्टा भिगोसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलमा बार्सिलोनाका लागि राफिन्हा र रोबार्ट लेवान्डोस्की तथा घरेलु टोलीका लागि अलफोन्सो गोन्जालेज र हुगो अल्भारेजले गोल गरे । ८२औं मिनेटमा मार्क कासाडोले दोहोरो रातो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरीएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।
यस बराबरीसँगै १४ खेलबाट ३४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कायम छ । सेल्टा समान खेलमा भने १८ अंकसहित ११ औं स्थानमा छ ।
लिग अन्तर्गत शनिबार नै भएको अन्य खेलमा गेटाफेले फालाडोलिडलाई २-०, भ्यालेन्सियाले रियल बेटिसलाई ४-२, एथ्लेटिको मड्रिडले एल्भेसलाई २-१, जिरोनाले स्प्यान्योललाई ४-१ र मालोर्काले लस माल्मसलाई ३-२ गोलले पराजित गरेको छ ।




