काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा हारका बाबजुद कर्णाली याक्सले चौथो स्थानमा रहेर प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा कर्णाली सुदूरपश्चिम रोयल्सँग ६ विकेटले पराजित भएको हो । जितका लागि कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाउँदै १०५ रन बनाएर पुरा गर्यो ।
सुदूरपश्चिमका लागि अलराउन्ड प्रदर्शन गरेका कप्तान दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३८, इसान पाण्डेले ३६ बलमा ४ चौकासहित अविजित रहँदै समान ३८ र ओपनर सैफ जैबले १३ बलमा २ चौकाको सहयोगमा ११ रन जोडे ।
बलिङमा कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले १-१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै १०१ रनको योगफल तयार पारेको थियो।
कर्णालीका जिशान मक्शुदले ३५ बलमा ४ चौकासहित सर्वाधिक ३०, विलियम बोसिस्टोले २४ बलमा १ चौकासहित १६ र ओपनर बाबर हायतले ९ बलमा ३ चौकासहित १३ रन जोडेका थिए ।
सुदूरपश्चिमका लागि हर्मित सिंहले ३, कप्तान दीपेन्द्र र कुग्गेलेइनले समान २ तथा सेफ अली जेब र हर्मित सिंहले समान १ विकेट लिए । यस खेलमा सुदूरपश्चिमले १२.२ ओभरमा लक्ष्य पूरा गर्न सकेको भए काठमाडौं गुर्खाज चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गर्ने थियो। तर, त्यसो हुन सकेन ।
यो सँगै लिग चरणको ७ खेलबाट समान ८ अंक जोडेपनि कर्णाली रन रेटको आधारमा काठमाडौंलाई पछि पादै चौंथो स्थानमा रहेर प्लेअफमा स्थान सुरक्षित गर्न सफल भएको छ । काठमाडौं भने पाँचौं स्थानमा रहेर लिग चरणबाटै यस सिजनको एनपीएलको यात्रा टुङ्ग्याउन बाध्य भएको छ ।
लिग चरणको अन्तिम खेलमा ६ विकेटको जित हासिल गरेको सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रहँदा १० अंकसहित जनकपुर बोल्ट्सदोश्रो र ८ अंकसहित चितवन राइनोज तेश्रो स्थानमा रह्यो ।

अब सुदूरपश्चिमले जनकपुरसँग पहिलो क्वालिफायर खेल्ने छ । पहिलो क्वालिफायर जित्ने टोलीले सिधै फाइनलमा स्थान पक्का गर्नेछ । यस्तै पहिलो क्वालिफायरमा पराजित हुनेले पुनः फाइनल पुग्नका लागि इलिमिनेटरको विजेतासँग दोश्रो क्वालिफयर खेल्ने छ ।
दोश्रो क्वालिफायरमा पुग्न तेश्रो स्थानको चितवन र चौथो स्थानको कर्णाली भिड्ने छन् । इलिमिनेटर र क्वालिफायरको खेल पुस ३ गते हुनेछन्। क्वालिफायर १ मा पराजित भएको टोली र इलिमिनेटरको विजेताले पुस ४ गते दोश्रो क्वालिफायर खेल्नेछ। त्यसपछि दोश्रो क्वालिफायरको विजेताले क्वालिफायर १ को विजेतासँग पुस ६ गते हुने फाइनलमा भिड्ने छ ।