आगामी फागुन २९ गतेबाट नेपाल अधिराज्यभरि प्रदर्शनमा आउने तायरीमा रहेको नेपाली कथानक चलचित्र ‘अन्जिला’ को चर्चा यतिबेला निकै चुलिएको छ । नेपाली चलचित्र इतिहासमै पहिलो पटक फरक स्वादमा निर्माण गरिएकोले पनि एञ्जिलाको चर्चा चुलिएको हो । फरक स्वादका कारण नै होला ‘अन्जिला’ को प्रदर्शन मिति नजिकै गर्दा खेलकुदप्रेमी र चलचित्रप्रेमी यो चलचित्रप्रति उत्साहित र आकर्षित देखिएका छन् ।
एञ्जिलाको कथाबस्तु नै यस्तो छ, जुन कुनैपनि नेपाली खेलाडीको वास्तविक जीवनमा आधारित रहेर निर्माण गरिएको पहिलो ऐतिहासिक चलचित्र हो । नेपाली चलचित्र जगतमा थुप्रै कथावस्तुमा चलचित्र निर्माण भएपनि नेपालमा पहिलो पटक एउटा राष्ट्रिय फुटबल खेलाडीको जिउँदो इतिहासमा केन्द्रीत रहेर बनेको यो पहिलो चलचित्र हो ।
यसअघि अन्य मुलुकमा चर्चित खेलाडीको जीवनमा आधारित चलचित्र निर्माण गरिएपनि नेपालमा भने त्यो सम्भव हुन सकेको थिएन । कमर्सियल चलचित्रमा मात्र ध्यान केन्द्रीत गरेका चलचित्रका निर्माताहरुले खेलकुद र खेलाडीको नाडी छाम्ने कोशिस गरेको देखिएन्, अर्थात् उनीहरुको ध्यानदृष्टिमा खेल र खेलाडीका कथावस्तु कहिल्यै प्राथमिकतामा पर्न सकेनन् ।

तर, फिल्म ‘अन्जिला’ को प्रदर्शनसँगै नेपाली फिल्म क्षेत्रको ६ दशक लामो इतिहासमा नयाँ कार्यको समेत शुरुवात हुँदैछ । नेपाली चलचित्र क्षेत्रको इतिहास हेर्दा नेपालको पहिलो चलचित्रको रुपमा वि.सं. २०२१ असोज २२ गते प्रदर्शन भएको ‘आमा’ चलचित्रलाई पाउँछौं । त्यसयता सयौंको संख्यामा नेपाली चलचित्र बने तर, नेपाली खेलाडीको जीवनमा आधारित फिल्म भने बनेनन् ।
अहिले नेपाली चलचित्रको ६ दशक लामो इतिहासलाई नौंलो मार्गमा डोर्याउने दुःस्साहस निर्माता प्रेमकुमार श्रेष्ठले गरेका छन् । श्रेष्ठले नेपाली चलचित्रको फाँटलाई अझ हराभरा तुल्याउन खेलकुद र खेलाडीसँग जोडिएको जुन कथावस्तुलाई चुनेर आँट र शाहसको प्रदर्शन गरे, अहिले त्यो सोचको प्रतिमूर्तिको रुपमा ‘अन्जिला’ चलचित्र तयार भएको छ ।
नेपाली चलचित्र क्षेत्रमा ‘अन्जिला’ ले नौलो इतिहास कोर्ने पक्का छ । चलचित्र ‘अन्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर निर्माण गरिएको छ । वीर विक्रम, गोर्खा वारियर र लिली बिली लगायत दर्जन फिल्म निर्देशन गरिसकेका मिलन चाम्सले यो चलचित्रको निर्देशन गरेका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) का एसपी तथा पूर्व इन्चार्ज प्रेमकुमार श्रेष्ठले चलचित्र ‘अन्जिला’ को निर्माण गरेका हुन् ।

चलचित्रको शीर्ष भूमिकामा एञ्जिला आफै रहँदा नेपालका चर्चित कलाकार सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङको पनि यो चलचित्रमा अभिनय रहेको छ । कप्तान एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको यो फिल्मले नपाली चलचित्र बजारमा फरक प्रभाव छोड्ने विश्वास गरिएको छ ।
चलचित्रमा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए सबै काम सम्भव छ भन्ने सन्देश दिन खोजिएको छ । यो चलचित्रको गत मंसिर २३ गते हङकङमा वल्र्ड प्रिमियर हुनुका साथै बेलायतमा स्क्रिनिङ समेत भइसकेको छ । प्रिमियरमा एञ्जिला र निर्देशक मिलन चाम्स सहभागी थिए । निर्माता प्रेम श्रेष्ठका अनुसार अब फिल्मलाई अमेरिका, अस्ट्रेलिया र जापानमा समेत स्क्रिनिङ गरिने तयारी भइरहेको छ ।
उद्देश्य पवित्र हुनुपर्छ, निर्माता श्रेष्ठको पनि उद्देश्य पवित्र छ । श्रेष्ठ चलचित्र ‘अन्जिला’ बाट उठेको रकमबाट कप्तान एञ्जिलाको लागि काठमाडौंमै घर बनाई हस्तान्तरण गर्न आतुर छन् । चलचित्रबाट हुने नाफा र नोक्सान भन्दा पनि एञ्जिलालाई काठमाण्डौंमा घर बनाइदिने श्रेष्ठको ठूलो धोको छ । श्रेष्ठले सार्वजनिक रुपमै बारम्बार दोहोर्याउदै आएको ‘घर’ को कुराले अहिले खेलकुद र चलचित्र श्रेत्रमा त्यत्तिकै चर्चा पाएको छ ।

चलचित्र ‘अन्जिला’ २ करोड ६० लाख रुपैयाँको लगानीमा तयार भएको छ । चलचित्रको निर्माणपछि निकै उत्साहित श्रेष्ठले मेरोखेल डटकमसँगको कुराकानीमा भने ‘चलचित्र बनाउनु मात्र ठूलो कुरो होइन, लक्ष्य अनुसार फिल्मको प्रदर्शन हुनु र बजार पाउन सक्नु मुख्य कुरा हो, एञ्जिलाको लागि काठमाडौंमा घर निर्माण र हस्तान्तरण गर्नु नै हाम्रो मुख्य उद्देश्य हो।’
यदि, चलचित्र ‘अन्जिला’ ले अपेक्षित रुपमा सफलता हात पार्न सक्यो भने काठमाडौंमा एञ्जिलाका लागि घर निर्माण र हस्तान्तरण हुने कुरामा कुनै दुईमत छैन । त्यसपछि नेपाली महिला फुटबल क्षेत्रमा एञ्जिलाले नौलों इतिहास समेत कोर्ने छिन् । यसर्थमा कि, हालसम्म कुनैपनि राष्ट्रिय महिला फुलबलरको काठमाडौंमा घर बन्न सकेको छैन । अझ उपत्यका बाहिरबाट आउने महिला फुटबल खेलाडीले राजधानीमा घर बनाउने कल्पना समेत गरेका हुदैनन् । यो महिला फुटबल खेलाडीको तीतो सत्य हो ।
झ्वाट्ट हेर्दा नेपाली महिला खेलाडीहरुको जुन शान र शौकत छ, त्यो आवरणमा मात्रै सिमित छ । साँचो अर्थमा भन्नुपर्दा उनीहरुले अहिलेसम्म साचेअनुरुपको आम्दानी गर्न सकेका छैनन् । जति आम्दानी गर्छन् त्यो खान बस्न र कोठा भाडा तिर्नमै सिमित हुन्छ । एउटा कोठाको चार दिवारीमा राष्ट्रिय महिला खेलाडीले आफ्नो जुगारा गरिरहेको दयनिय अवस्था छ । जुन आफैमा कहाली लाग्दो भएपनि राज्य र सम्बन्धित निकायको नजर महिला खेलाडीहरुप्रति अहिलेसम्म पर्न सकेका छैनन् ।

अहिले महिला फुटबल खेलाडीहरुको लागि चलचित्र ‘अन्जिला’ मेरुडण्डको रुपमा आएको छ । जसले महिला खेलाडीहरुले भोग्नु परेको पीडालाई छताछुल्ल मात्र पार्ने छैन, उनीहरुको जीवनस्तरलाई आर्थिकरुपमा टेवा दिने कार्य समेत गर्नेछ । निर्माता श्रेष्ठले भनेका पनि छन्, यदि सरकारले कर छुट दिएमा त्यो सम्पूर्ण रकम महिला फुटबल टोलीको स्तरन्नोतिको लागि खर्चिने छु, नेपाललाई साफ च्याम्पियनसिपमा स्वर्ण पदक जित्न लायक बनाउने छु । तसर्थ खेलकुदलाई माया गर्नेहरुले चलचित्र ‘अन्जिला’ लाई पनि त्यत्तिकै माया गर्नुपर्ने छ । यो चलचित्रलाई हिट मात्र होइन, सुपर-डुपरहिट बनाउनु पर्नेछ ।
