खो खोले बढायो, नेपाली खेलकुदको शान

श्रीविक्रम भण्डारी

हिजोसम्म नेपाली खेलकुदमा खो खो खेल कुन चरीको नाम हो कसैलाई थाहा थिएन । खालि फुटबल, क्रिकेट, तेक्वान्दो, कराते, बक्सिङ र भलिबल आदि खेलको बारेमा मात्र चर्चा परिचर्चा गरिन्थ्यो । तर, आज त्यहि गुमनाम खेल खो खोले विश्वकपमा पुरुष र महिलातर्फ दोहोरो रजत पदक जितेर नेपाली खेलकुदलाई उपल्लो दर्जाको सम्मान दिलाउन सफल भएको छ । साथै मुलुकको मान सम्मान र प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सफल भएको छ । परिणाम, नेपाली खो खो खेलका खेलाडीले अवसर पाए अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने र महत्वपूर्ण पदक जित्नेसक्ने कुरालाई खो खो विश्वकप २०२५ मा प्रमाणित गरिदिएका छन् । जुन नेपाली खेलकुदको लागि गौरवको विषय मात्रै बनेको छैन, खो खो खेल अन्तर्राष्ट्रियस्तरमा सम्भावित पदक जित्ने खेलमध्य प्रमुख खेल समेत बन्न सफल भएको छ ।

खो खो विश्वकप २०२५ मा सहभागिता जनाउन जाँदा नेपाली खो खो खेलाडीको खासै चर्चा थिएन । साँचो अर्थमा भन्नुपर्दा विश्वकप खेल्न जान लागेको टोलीले जति माइलेज पाउनु पर्ने थियो त्यसको १ प्रतिशत पनि पाएका थिएनन् । तर खो खो विश्वकप २०२५ मा उनीहरुले जुन उत्कृष्ट प्रदर्शन गरे त्यसपछि मात्रै खो खो खेलाडीको चर्चा हुुनपुग्यो । महिला र पुरुष दुवै टोली खो खो विश्वकपको फाइनलमा पुगेपछि सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषदको ध्यानाकर्षण भएको थियो । त्यसपछि खो खोका खेलाडीहरु चर्चामा मात्रै सिमिति भएनन् रातारात राष्ट्रको हिरो समेत बन्न पुगे । जुन कुरालाई खो खो खेलाडीहरु ऐतिहासिक पदक जितेर स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्बन्धित निकायका पदाधिकारीहरुले गरेको भव्य स्वागतबाट पनि थाहा पाउन सकिन्छ ।

नेपाली खेलकुदको इतिहास हेर्दा प्रायजसो अन्तर्राष्ट्रिय अफिसियल प्रतियोगितामा सहभागिता जनाउँदा सहभागि मात्रै भएर फर्किएको इतिहास छ । खो खोका खेलाडी खो खो विश्वकप २०२५ मा सहभागिता जनाउँदा जाँदा पनि यस्तै सोच राखिएको थियो। तर, विश्वका ५० राष्ट्रले सहभागिता जनाएको खो खो विश्वकपमा नेपाली खेलाडीहरुले जुन उत्कृष्ट खेलको प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भए त्यो आफैमा तारिफयोग्य र प्रशंसनिय मात्र नभई अविष्मरणीय समेत बन्न पुगेको छ । विश्वकपको पहिलो सहभागितामा नै नेपाली खो खोका महिला र पुरुष खेलाडीले जुन शसक्त प्रदर्शन गरे त्यो अहिले नेपाली खेलकुदको लागि गर्विलो इतिहास बन्न पुगेको छ । त्यसको जति प्रशंसा गरेपनि पुग्दैन, यसको लागि खो खोका खेलाडी धन्यवादका पात्र समेत बन्न पुगेका छन् ।

१९ औं एशियाली खेलकुद प्रतियोगितामा महिला कबड्डी खेलाडीले काँश्य पदक जितेसँगै अफिसियल गेम्समा अन्य खेलले पनि पदक जित्न सक्छन् भन्ने प्रमाणित भएको थियो । अहिले यो कुरालाई खो खोका महिला तथा पुरुष खेलाडीहरुले पनि प्रमाणित गरिदिएका छन् । हिजोसम्म एकादेशमा रहेको खो खो खेल आज अन्तर्राष्ट्रियस्तरमा नेपाललाई सवैभन्दा ठूलो पदक जिताउने खेल बन्न सफल भएको छ । यसको लागि खो खो खेलका पदाधिकारी, प्रशिक्षक र खेलाडी प्रशंसाका पात्र बनेका छन् । जसले खो खो जस्तो मौलिक खेललाई मलजल गरि यहाँसम्म पुर्याउन सफल भए । त्यसैले अहिले प्रश्न उठेको छ, खो खो खेललाई सम्बन्धित निकायले कसरी संरक्षण र सम्वद्र्धन गर्छ?

खो खो विश्वकप २०२५ मा नेपाली खोखो खेलाडीहरुले गरेको उत्कृष्ट प्रदर्शनले आयोजक भारतलाई समेत नराम्रोसँग धक्का दिएको अवस्था छ । यसर्थमा कि खो खो खेलको जन्मभूमी र विकासको सुत्रधार भारत नै हो । खो खो खेलको अन्तर्राष्ट्रियकरण गर्ने र खो खो विश्वकपको पहिलो संस्करणको आयोजना गर्ने राष्ट्रपनि भारत नै हो । यस्तोमा भारतीय टोली अन्य राष्ट्रभन्दा बलियो हुनु स्वभाविकै थियो । यस्तोमा भारतजस्तो अनुभवी र बलियो टोलीलाई नेपाली खेलाडीले चुनौंति दिनु फलामकै चिउरा पचाउनुसरि थियो । र पनि, दुवै फाइनलमा नेपाली खेलाडीले आयोजक राष्ट्र भारतविरुद्ध जुन उत्कृष्ट प्रदर्शन त्यो आफैमा अविष्मणिय छ । नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शनलाई सलाम गर्नैपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :