काठमाडौं । नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो, ललितपुरले स्वर्गीय सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा चौथो राष्ट्रिय कराते प्रतियोगिता आयोजना गर्ने भएको छ । डोजोले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन रहने उक्त प्रतियोगिता आगामी फागुन १६, १७ र १८ गते सातदोबाटोस्थित नेपाल कराते एकेडेमीमा सञ्चालन हुनेछ ।प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ र ८४ प्लस र महिलातर्फ ४५, ५०, ५५, ६१, ६८, र ६८ प्लस तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सात प्रदेश र ३ विभागिय टोलीका खेलाडीले सहभागिता जनाउने पत्रकार सम्मलेनमा जानकारी गराइएको छ । प्रतियोगितामा पुरुष र महिलातर्फ सर्वोकृष्ट खेलाडीले नगद २५ हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।
त्यस्तै प्रथम हुने टोलीले १ लाख, द्वितियले ५० हजार र त्रितिय हुने टोलीले २५ हजार सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल बजेट ५५ लाख रहेको छ ।