खेलका लागि मनोवैज्ञानिक युद्ध अपरिहार्य

रमेश खनाल (खेलकुद मनोविज्ञ)

युद्ध राम्रो होइन, यसले विनास मात्र निम्त्याउछ । युद्ध भयावह हुन्छ तर भयावह र विनाशकारी भएपनि खेलाडीहरुलाई मानसिक रुपमा तयारी गर्न युद्धको आवश्यकता पर्छ । यो त्यस्तो युद्ध हुन्छ, जहाँ गोली बर्सिदैन, जहाँ हत्या एवम् आतङ्क हुन्न । केबल मानसिक युद्ध हुन्छ ।

एउटा उदाहरण सम्झिरहेको छु । सन् १९८८ विन्टर ओलम्पिक–कालधारीमा आयोजना हुनुपूर्व तत्कालिन पूर्वी जर्मनीका प्रशिक्षकहरुले मानसिक युद्धका लागि ठूलो प्रेस कन्फ्रेन्स आयोजना गरे । त्यो क्याथरिना विट्सका लागि बोलाइएको थियो । क्याथरिना विट्सले आईस डान्समा दुई पटक स्वर्ण पदक जितिसकेकि थिइन् । उनी तेश्रो पटक स्वर्ण पदक जित्ने अभियानमा थिइन् ।

त्यस अभियानका लागि अमेरिकि प्रतिद्वन्दीलाइए मानसिक दवावमा पार्न उनी चाहन्थिन् । उनले उक्त प्रेस कन्फ्रेन्समा भनिन–‘म जस्तोसुकै बलियो प्रतिद्वन्दीलाई हराउन सक्छु । मैले एकदम राम्रोसँग प्रशिक्षण गरेकि छु । म ह्याट्रिक गर्न चाहन्छु । यो पटक पनि स्वर्ण मेरो गलामा हुनेमा म पूर्ण विश्वस्त छु ।’

प्रतियोगिता शुरु भयो । नभन्दै उनले परफरमेन्स राम्रो भयो । उनकी प्रतिद्वन्दी प्रतियोगिता अवधिमा दुई पटक लडिन्। उनी तेस्रो भइन्, क्याथरिन प्रथम । उनी कसरी तेस्रो भइन् भनेर प्रतिद्वन्दीलाई पत्रकारले सोधे । त्यसबेला उनले भनिन्– ‘मलाई क्याथरिनको प्रेस कन्फ्रेन्समा बोलेको अभिव्यक्त गरेको विचारले प्रभाव पार्यो । मलाई लाग्यो म उनलाई हराउन सक्तिन । त्यो स्मरण हुने वित्तिकै मेरो एकाग्रता भंग भयो । र, म पछारिए । फेरि उठे, फेरि पनि सोहि कुराको दबाव सिर्जना भयो र तेश्रो भए ।

खेलकुदमा मनोवैज्ञानिक युद्ध चाहिन्छ । खेलाडीलाई हतोत्साहि बनाउन, तनाव सिर्जना गर्न, मनोबल उठाउन् र खेल जिताउनका लागि मनोेवैज्ञानिक युद्ध छेडिन्छ । त्यसताका मोहम्मद अलीले जोफ्रेजरलाई रेन्टुरेन्टमा मुक्का हान्न खोजे अरे, झ्यालबाट ऐना टल्काएर देखाए अरे, म यस पटक नकआउट नै गरिदिन्छु भनेर तर्साए अरे भन्ने कुरा पढन पाइन्थ्यो । वास्तवमा त्यो उनको मानसिक युद्ध अन्तर्गतको दवाब थियो । र, उनी सफल पनि हुन्थे ।

विश्वकपका दौरामा विभिन्न राष्ट्रका प्रशिक्षकहरुले पत्रकार सम्मेलन मार्फत मानसिक दबाव सिर्जना गर्न खोजेको पाइन्छ । फुटबल, क्रिकेट, टेनिस, बक्सिङ लगायत अन्य खेलका विश्व च्याम्पियन प्रतियोगिताका अवसरमा मनोवैज्ञानिक युद्ध चल्छ । तर मनोवैज्ञानिक युद्ध पनि १९–२० का टीम जोसँग कडा प्रतिस्पर्धा हुनेवाला छ, त्यसविच सार्थक हुन्छ । त्यसताका टीमहरु बढी मात्रामा मानसिक दबावमा पर्छन् । उनीहरुको शरिर मैदानमा भएपनि दिमाग भने अनेकौं कुराहरु सम्झेर प्रताडित भईरहेको हुन्छ। तर स्तर नै नभएका टीमले ठूलो टीम विरुद्ध मानसिक युद्ध गर्छ भनेर तम्सिनुचाहिँ हास्यास्पद हुन्छ । उनीहरु आफ्नोस्तरका टीमविरुद्ध मनोवैज्ञानिक युद्ध छेड्न सक्छन् ।

हाम्रो परिवेसमा ए डिभिजन लिग फुटबल प्रतियोगिता त्रिभुवन आर्मी क्लब, महेन्द्र पुलिस क्लव, थ्रीस्टार, मनाङ मरस्याङ्दी जस्ता टीमको मनोवैज्ञानिक युद्ध थाहै नपाइदो किसिमले चलिरहेको छ । यस मनोवैज्ञानिक युद्धलाई सकारात्मक दिशातर्फ सार्थक बनाएर लैजान व्यवस्थापक, प्रशिक्षकले मानसिक दबाव सिर्जना गर्नुपर्छ।

प्रेस कन्फ्रेन्स गरेर, आफ्नो दृढ क्षमता, आत्मवल र इच्छा उजागर गर्नु भनेको खेलाडीहरुको मनोवल उठाउनु हो । उनीहरुको म्याच जित्ने मानसिकताको विकास गर्नु हो । म्याचमा मनोवैज्ञानिक युद्ध प्रयोग नगर्नु भनेको म्याचलाई नैराश्यतातिर धकेल्नु हो । अतः सकारात्मक, उपलब्धि मुलुक कार्यका लागि क्लवहरुले गम्भिर भएर सोच्नु आवश्यक छ । स्वास्थ्य मानसिक संस्कारको विकास गर्नु जरुरी छ । खेलका लागि मनोवैज्ञानिक युद्ध अपरिहार्य नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :