सभापति कप फुटबल, सबै दंगदास

श्रीविक्रम भण्डारी

लामो समयपछि नेपाली फुटबलको आगनमा झुल्किएको ‘सभापति कप फुटबल प्रतियोगिता’ले आफ्नो पहिलो संस्करणमै अमिट छाप छोड्न सफल भएको छ । दशरथ रङ्गशालामा फुटबलको खडेरी परेको अवस्थामा वर्षात बनेर आएको सभापति कपले अहिले नेपाली फुटबलमा वसन्तको बहार ल्याइदिएको छ । परिणाम, सभापति कपले दशरथ रङ्गशालामा फुटबललाई दुहलीको रुपमा मात्र भित्र्याएको छैन, फुटबलको विकास र विस्तारमा भविष्यमा ‘कोशेढुङ्गा’ बन्ने छनक समेत देखाएको छ । जसलाई अहिले खेलाडी, प्रशिक्षक, क्लब र फुटबल प्रेमीहरुले समेत सकारात्मक रुपमा लिएका छन्। सभापति कपलाई दीगो रुपमा स्थापित र संचालन गर्न विशेष पहलकदमी गर्नुपर्नेमा विशेष जोड समेत दिएका छन् ।

नेपाली काङ्ग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिका संयोजक मोहन बस्नेतले सर्वाधिक पुरस्कार राशीको सभापति कप नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने शंखनाद गर्दा फुटबल जगतमा सनसनी फैलिएको थियो । त्यसबेला पत्याउने, नपत्याउने आफ्नो ठाउँमा थियो, तर वस्नेतले आफ्नो बोली र प्रतिवद्धतालाई खरोरुपमा उतारेर यतिबेला वाहवाहि बटुल्न सफल भएका छन् । वस्नेतले यो प्रतियोगितालाई सफलताको मूर्तरुप दिन जुन अदम्य शाहस देखाए त्यो आफैमा एक उदारहण बनेको छ । पार्टीको भातृसंगठनले आयोजना गरेको प्रतियोगिता भएपनि वस्नेतले व्यक्तिगत रुपमै सभापति कपलाई सफलताको लालमोहर लगाईदिएका छन् । अहिले यो कुराको सबैले खुलेर प्रशंसा गरेका छन्।

सभापति कप फुटबल प्रतियोगिताले पहिलो संस्करणमै जुन लोकप्रियता हासिल गर्यो त्यसले अहिले फुटबलमा नौंलो तरङ्ग उत्पन्न गरिदिएको छ । अहिले खेलाडी खुशी छन्, प्रशिक्षक खुशी छन्, क्लबहरु खुशी छन् र फुटबल प्रेमी खुशी छन्। यिनीहरु खुशी हुनु भनेको प्रतियोगिता सफल हुन हो । सभापति कपको सबैभन्दा सकारात्मक पक्ष भनेको आर्थिक कारोबार थियो । प्रत्येक दिन नगदमा आर्थिक कारोबार गरेको आयोजकले फाइनलसम्म नगदमै आर्थिक कारोबार गरेर आफ्नो इमान्दारिता प्रस्तुत गर्न सफल भयो । जसले प्रतियोगिता अवधिभर निकै चर्चा पाएको थियो । अझ प्रतियोगिताको विजेता र उपविजेतालाई पुरस्कार राशी डालोमा राखेर दिएपछि सभापति कपको शान मात्र बढेको छैन, खेलाडी र क्लबल्बहरु समेत नतमस्तक बन्न पुगेका छन् ।

माघ १० देखि १७ गतेसम्म दशरथ रङ्गशालामा सञ्चालन भएको सभापति कप फुटबल प्रतियोगिताले छोटो समयमा जति चर्चा कमाउन सफल भयो, त्यसले दोश्रो संस्करणमा यो भन्दा उत्कृष्ट र स्तरीय हुने अनुमान लगाउन सकिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने राजनीतिको राप र ताप सेक्नबाट माथि उठेर भविष्यमा सभापति कप फुटबल प्रतियोगिताको आयोजना गरियो भने यो प्रतियोगिता आफैमा एक उत्कृष्ट फुटबल प्रतियोगिता बन्ने देखिन्छ । तसर्थ आउँदो संस्करणमा पहिलो संस्करण भन्दा भब्य र सभ्य बनाउने हो भने अहिलेदेखि नै विशेष रणनीतिका साथ अगाडि बढ्नु पर्ने देखिन्छ । आशा होइन, विश्वास गरौं, भविष्यमा पनि संयोजक मोहन बस्नेत अवश्य खरो रुपमा उत्रिने छन्। राजनीतिक दल अर्थात् नेपाली काङ्ग्रेसले पनि खेलकुदलाई पहिलो प्राथमिकतामा राखेको कुरालाई प्रमाणित गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :