काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी र सी डिभिजन तथा विभिन्न मोफसल प्रतियोगिताका विजेता क्लबहरूलाई आईतबार एक विशेष समारोहका बीच नगदसहित सम्मान गरेको छ।
महानगरपालिकाले ए डिभिजनका पाँच क्लब- थ्री स्टार क्लब, फ्रेण्ड्स क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लबलाई समान ४ लाख प्रदान गरेको छ।
यस्तै बी डिभिजनका तीन क्लब- च्यासल युथ क्लब, खुमलटार एफसी र ब्रिगेड ब्वाइज युनाइटेडलाई समान ३ लाख तथा सी डिभिजनका चार क्लब- खालीबारी युथ क्लब, पुलचोक स्पोर्ट्स क्लब र झम्सीखेल युथ क्लबलाई समान २ लाख नगदसहित सम्मान गरेको छ।

त्यस्तै, विभिन्न मोफसल प्रतियोगिता जित्ने चर्च ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज युनाइटेडलाई प्रत्येक प्रतियोगिता जिते बापत रु ४ लाखका दरले सम्मान गरिएको छ।
जसमा पाँच नकआउट प्रतियोगिता जितेको चर्च व्वाइजले रु २० लाख र दुई प्रतियोगिता जितेको ब्रिगेड ब्वाइजले रु ८ लाख पुरस्कार प्राप्त गरेका थिए।
समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, एन्फा महासचिव किरण राई लगायतले क्लबहरूलाई चेक हस्तान्तरण गरेका थिए ।




