नेपाल स्की संघको छैठौं नियमित साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल स्की संघको छैठौं साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समारोह संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना समितिका सभापति अमरबहादुर थापाको प्रमुख आतिथ्यमा भएको थियो ।

त्यस अवसरमा उनले खेलकुद स्वायत्त संस्था हुनु पर्नेमा जोड दिंदै सरकारी हस्तक्षेप स्विकार नहुने बताए । थापाले नेपाली खेलकुदको विकासका लागि नेपाल सरकारको सहयोग चाहिनेमा पनि प्रकाश पारे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य प्रकाशकुमार कुसारेले खेल संघको स्वायत्वमा जोड दिंदै यसका लागि पहल गर्ने बताए । नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले संघको आगामी कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

यस्तै नेपाल माउन्टेन एकेडेमीका अध्यक्ष लाक्पा फुटी शेर्पाले संघको कार्यक्रमको सफलताको कामना गरे । साधारण सभाले आफ्नो वार्षिक प्रगति तथा आर्थिक विवरण पनि पारित गरेको छ ।

यस्तै सभाले आफ्नो लोगो परिवर्तन गर्ने निर्णय गरेको छ । बन्द सत्र संघका अध्यक्ष जीवनराम श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रम अक्षरा स्कुलको हलमा संपन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :