थाइल्यान्डको लगातार तेश्रो जित

काठमाडौं । थाइल्यान्डले नेपालमा जारी महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा लगातार तेश्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा थाइल्यान्डले नेदरल्यान्डसलाई १७ रनले पराजित गरेको हो ।

थाइल्यान्डले प्रस्तुत गरेको ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५.५ ओभरमा अलआउट हुँदै ६९ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडेले २५, आइरिस ज्वीलिङले १३ र क्यारोलिन डे लाङ्गेले १० रन जोडिन् ।

बलिङमा थाइल्यान्डका लागि थिपाच्चा पुथावाङ र ओनिचा कामचोम्पुले समान ३, चनिदा सुथिरुङले २ र नटाया बुचथमले १ विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित १९.५ ओभरमा अलआउट हुँदै ८६ रनको योगफल तयार परेको थियो ।

थाइल्यान्डका लागि चानिदा सुथिरुआङले २७, फनिता मायाले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नेदरल्यान्ड्सका लागि आइरिस ज्वीलिङ, इभा लिन्च, सिल्भर सिजर्सले समान ३ तथा इसाबेल वोनिङले १-१ विकेट लिएकी थिइन् ।

यसअघि थाइल्यान्डले नेदरल्यान्ड्सलाई ८ र नेपाललाई ४ विकेटले पराजित गरेको थियो । यस्तै नेदरल्यान्ड्सले नेपाललाई २० र १५ रनले हराएको थियो ।

जितसँगै ३ खेलमा ६ अंक जोडेको थाइल्यान्ड शीर्ष स्थानमा यथावत् छ । नेदरल्यान्ड्सले खेलबाट ४ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :