पोखरा । सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सनिश श्रेष्ठलाई सम्मान गर्ने भएको छ । प्रतिभा छनोटका लागि गठित समितिको सिफारिस अनुसार क्लबको कार्यसमिति बैठकले सनिशलाई वर्ष सर्वोत्कृष्ट खेलाडीबाट सम्मान गर्ने निर्णय गरेको हो ।
२४ औं आहा रारा पोखरा गोल्डकप आज (मंगलबार) बाट शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन समारोहको क्रममा सनिशलाई सम्मान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । उनलाई सम्मानपत्रसहित ५० हजार ५ रुपैयाँ समेत प्रदान गरिने छ ।
मानार्थ सदस्य खेमबहादुर गुरुङको प्रायोजनमा क्लबले प्रतियोगिताको हरेक संस्करण एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई नगदसहित सम्मान गर्दै आएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भईसकेका छन् ।
आजबाट शुरु हुने प्रतियोगिता फागुन ३ गते शनिबारसम्म पोखरा रंगशालामा चल्ने छ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्नेछन् ।