काठमाडौं । नेपालले घरेलु मैदानमा जारी महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा लगातार चौथो हार व्यहोरेको छ । र्कीतिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न आफ्नो चौथो खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको हो ।
जितका लागि थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रनमा समेटियो । नेपालका लागि रुविना क्षेत्रीले ३० बलमा सर्वाधिक २६, कविता जोशीले २४, रोमा थापाले अविजित १९ र पुजा महतोले १८ रन जोडिन् ।
थाइल्यान्डका लागि थिपात्चा पुथावङलले ४ र फान्निता मायाले २ विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रनको योगफल तयार पारेको थियो ।
थाइल्यान्डका लागि चानिदा सुथिरुवाङले २८ सर्वाधिक २७, थिपात्चा पुथावङले २५, नन्नापात कोन्चारोएन्काईले १९ र अफिसरा सुवानचोनराथीले १७ रन जोडेकी थिइन् । नेपालका लागि मनिषा उपाध्यायले ३ तथा पूजा महतो, रुविना क्षेत्री र रचनाकुमारी चौधरीले समान १-१ विकेट लिइन् ।
यसै खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी स्पिनर रचनाकुमारी पहिलो अन्तर्राष्ट्रिय खेलमै विकेट लिन सफल भइन् । लगातार चौथो हार व्यहोरेको नेपाल घरेलु श्रृंखलामा अंक विहीन रहेको छ ।
यता लगातार चौथो जित निकालेको थाइल्यान्ड भने उपाधिको नजिक पुगेको छ । त्रिपल राउण्ड रोविनको आधारमा जारी शृंखलामा अब थाइल्यान्डले नेपाल र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ ।