राष्ट्रिय चेसको उपाधिमा ‘ह्याट्रिक’ गर्न सफल दुई सन्तानकी आमा सिन्दिरा

लक्ष्मी शाक्य

वि.सं.२०५० को दशकको चर्चा गर्दा नेपालमा चेस खेलको गतिविधि प्राय शून्य थियो । उक्त समयमा नेपालमा चेस खेल एउटा मनोरञ्जनको साधन मात्रै थियो । साथीभाई भेट हुँदा पसल, चौर र चौतरामा मात्र चेस सिमित थियो । त्यस्तो अवस्थामा नेपालमा चेस खेलको सम्भावना निकै कम थियो । कुनै व्यक्तिले चेस खेलेर व्यवसायिक रुपमै चेस खेलाडी बन्छु र आफूलाई स्थापित गर्छु भन्नु कल्पना बाहिरको कुरा थियो । देशकाल परिस्थिति अनुसार उनको अवस्था पनि यहि नै थियो । चेस खेल्नु र भविष्यमा चेस खेलाडी बन्नु यो उनको समझ भन्दा कोसौं टाढाको कुरा थियो। त्यतिबेला अध्ययन नै उनको पहिलो प्राथमिकतामा थियो भने खेलकुदको ‘खे’ समेत उनलाई थाहा थिएन।

एकदिनको कुरा हो, पेसाले नेपाल टेलिकममा लेखा अधिकृत पदमा कार्यरत बुबाले आफ्नै पसलमा फुर्सदको समय सदुपयोग गर्दै चेस खेल्दै गरेको उनले देख्छिन् । बुबाले चेस खेल्दै गरेको दृश्यले उनको कलिलो मानसपटलमा घर बनाउन पुग्छ र चेसप्रति आकर्षित गर्छ । त्यसपछि तीक्ष्ण दिमाग भएकि उनले आफ्नै बुबाको छत्रछाँयामा चेस खेल्न शुभारम्भ गरिन्। आफ्नो अध्ययन र गृहकार्य सकिएपछिको समय बुबाको सहयोगमा चेस खेलप्रतिको आफ्नो जिज्ञासा मेटाउँदै जाने उनको दिनचर्या नै बन्दै गयो।

कक्षा आठमा अध्ययनरत हुदा चेसको गोटी चाल्न शुरु गरेकि उनी त्यतिबेला मात्र १३ वर्षकि थिइन् । बुबाले खेलेको हेरेर चेस खेल्न सिकेकि उनले वंशाणुगत गुणका कारण पनि होला फुर्सदको समय अरु केही गर्नुभन्दा चेस खेलेरै बिताउन थालिन् । चेस खेलप्रतिको उनको त्यस्तो लगावले विस्तारै विस्तारै रंग ल्याउन थाल्यो, उनको चेसप्रतिको आकर्षण झन बढ्दै गयो । उनी चेसको क्रेजी नै बन्न पुगिन् अर्थात् उनलाई चेसको लत नै पर्योे । यसरी चेसमा चुर्लुम्म डुब्न पुगेकि उनी चेसको दीवानी नै बन्न पुगिन्। आफ्नो भोक, प्यास र निन्द्रा मेटाउन पनि उनले प्रत्येक दिन चेस खेल्न थालिन् । परिणाम, बुबाको सिकोमा चेसको गोटी चाल्न सिकेकि उनले अहिले महिला राष्ट्रिय बुद्धिचालको उपाधिमा ‘ह्याट्रिक’ गर्दै राष्ट्रिय च्याम्पियन बन्न सफल भएकी छिन् । ती प्रतिभाशाली खेलाडी हुन्–‘सिन्दिरा जोसी’ ।

वि.सं.२०४१ साल कार्तिक १७ गते काठमाडौंको चिकामुगलमा आमा जमुना र बुबा सुदेशराज जोशीको कोखबाट जन्मिएकी सिन्दिरा जोशी दम्पतीको तेश्रो सन्तान हुन्। उनको दुई दिदी र दुई भाई छन् । उनको आमा र बुबाको भने अहिले निधन भइसकेको छ । राजधानीमै जन्मिएकी सिन्दीराले १५ वर्षकै उमेरमा परोपकार आदर्श हाई स्कुलबाट एसएलसी उत्तिर्ण गरेकी थिइन् । त्यसपछि उनले काठमाडौंको धोबीचौरस्थित पब्लिक युथ क्याम्पसबाट म्यानेज्मेन्ट संकायमा प्सल टु र स्नातकतह सम्मको अध्ययन गरेकि छिन् । अध्ययनपछि केही वर्ष शिक्षण पेशामा समेत आवद्ध भएकी उनी कक्षा पाँचसम्म पढाउँथिन् । शिक्षण पेसामा आवद्ध रहँदा उनी फुर्सदको समयमा स्कुलमै पनि अन्य शिक्षकहरुसँग चेस खेल्ने गर्थिन्।

तत्कालिन समयमा खेलकुदमा महिलाहरुको सहभागिता निकै न्यून थियो । अझ छोरी मान्छेले चेस खेल्ने कुरा त एकादेशको कथा जस्तै थियो । तर, सिन्दिराले कथालाई हकिकतमा उतार्दै चेस खेलेको देख्दा उनी वरपरका सबै व्यक्ति अचम्ममा पर्थे । चेसप्रतिको सिन्दिराको रुचिलाई अझै सार्थक रुप दिन उनलाई आमा जमुनाले पनि भर्पुर साथ थिइन् । जब-जब सिन्दिरा चेस बोर्डमा बसेर चेस खेल्न थाल्थिन् तब उनकी आमा खुसीले दंग पर्दै टोल छिमेकमा मेरी छोरीले त चेल खेल्छिन् तपाईंलाई पनि चेस खेल्न आउँछ भने आउनुहोस् मेरी छोरीसँगै बसेर चेस खेल्नुहोस् भन्दै अरु व्यक्तिमा समेत हौसला बाढ्न पुग्थिन्। आमाको यस्तो साथ र समर्थनले उनलाई चेस खेल्न अझै हौसला बढ्दै गयो । घरमा उनको दिदी सुरक्षा जोसीले पनि सिन्दिरासँग चेस खेल्ने गर्थिन् । सामान्य रुपमा चेस खेल्नु उनको दैनिकी नै बनेपनि २०६४ सालसम्म सिन्दिराले कुनै औपचारिक प्रतियोगिता खेल्ने मौका भने पाएकी थिइनन् ।

वि.सं.२०६५ सालमा सिन्दिराले आफ्नै चिनजानको दाई सुजेन्द्र प्रसाद श्रेष्ठको सहयोगमा पहिलो पटक कुनै औपचारिक प्रतियोगिता खेल्ने मौका पाइन् । सिन्दिराको खेल जीवनको पहिलो प्रतियोगितामा उनी सहभागितामै समेटिएकी थिइन् । यो प्रतियोगिता खेले लगत्तै दुई महिनापछि सिन्दिरा पुर्खौली घर बागलुङ भएपनि व्यवसायको क्रममा काठमाडौंमै बस्दै आएका नारायण वोझासँग विवाह बन्धनमा बाधिन पुगिन् । उनले आफ्नी आमा जमुनाको रोजाईमा वोझासँग २४ वर्षको उमेरमा मागी विवाह गरेकि थिइन् । यसैबीचमा उनले २८ वर्षको उमेरमा २०६८ सालमा पहिलो सन्तानको रुपमा छोरी नेलिसा वोझालाई जन्म दिइन्। वैवाहिक सम्बन्धसँगै थपिएको मातृत्व र घरायसी कामको जिम्मेवारी निभाउनमै व्यस्त सिन्दिरा करिब ६ वर्ष चेस खेलबाट नितान्त अगल समेत रहन पुगिन् ।

परिवारको साथमा सिन्दिरा

बिस्तारै छोरी हुर्कंदै जाँदा सिन्दिरा भने घरमा प्राय फुर्सदिलो बन्दै गइन् । त्यसपछि उनले पुनः जागिरे जीवन बिताएर पैसा कमाउने भन्दा पनि आफ्नो नामको छ्ट्टै पहिचान बनाउने लक्ष्यसहित फेरि चेस खेलमा फर्किने निधो गरिन् । तर, लामो समय चेस खेलबाट सम्पर्क बिहीन भएर बसेकी सिन्दिरालाई त्यो समय प्रतियोगिताको बारेमा जानकारी पाउन भने गाह्रो पर्यो । सामाजिक संजालको सुविधा पनि त्यति नभएको त्यो समयमा उनले आफ्नो साथी मार्फत कोअपरेटिभ चेस प्रतियोगिता खेल्दै ६ वर्षपछि चेस खेलमा पुनरागमन गर्ने अवसर पाइन् । जुन प्रतियोगितामा सिन्दिरा ओलम्पियाड खेलाडी संगिता जैसवाललाई हराउन सफल भएकी थिइन् । लामो समयपछि चेस खेलमा फर्किनु त्यसैमाथि ओलम्पियाड खेलाडी संगितालाई हराउनु त्यो क्षण सिन्दिराको सुखीको सिमै नै थिएन ।

त्यसपछि निकै हौसिएकी सिन्दिरालाई चेस खेलको राष्ट्रिय च्याम्पियन बन्ने भोकले पिरोल्न थाल्यो । र, उनले एकदिन आफु जसरी पनि राष्ट्रिय च्याम्पियन भएरै छाँड्ने अठोट पनि गरिन्। तर, राष्ट्रिय च्याम्पियन बन्न आफ्नो व्यक्तिगत तयारीले मात्र पुग्दैन भन्ने बारे राम्रो ज्ञान भएकी सिन्दिराले आफ्नो प्रशिक्षणको लागि प्रशिक्षक खोज्न थालिन् । त्यो समय उनले आफ्नो प्रशिक्षणको लागि योग्य प्रशिक्षकमा फिडे मास्टर रिजेन्द्रराज भण्डारीलाई पाइन् । त्यसपछि प्रशिक्षक भण्डारीसँग ओटुस्थित आफ्नै घरको छतमा मासिक २४ सय रुपैयाँ शुल्क बुझाएर सिन्दिराले एक वर्ष प्रशिक्षण लिइन् । यो प्रशिक्षणपछि चेस खेलको ओपनिङ, मिडल गेम र टेक्निकको बारेमा पूर्ण जानकारी पाएकी सिन्दिराले प्रशिक्षक भण्डारीबाट चेस खेलको बारेमा कसरी अध्ययन गर्ने र आफूलाई अझै कसरी पोख्त बनाउने कुराको बारेमा पनि जानकारी पाइन् ।

त्यसपछि दिनको ९ घण्टा चेस खेलको अध्ययनमै बिताउन थालेकी सिन्दिराले २०७३ सालमा इलाममा भएको चौथो महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता खेल्दै पहिलो पटक राष्ट्रिय च्याम्पियन समेत बन्न सफल भइन् । विवाहित त्यसमाथि एक सन्तानकी आमा सिन्दिराले चेस खेलेको देख्दा टोल छिमेक र आफन्तहरुले राम्रो मान्दैन थिए । तर, पहिलो पटक राष्ट्रिय च्याम्पियन भएपछि सिन्दिराको खेल जीवनको ढोका सधैंको लागि खुला भएको थियो । राष्ट्रिय च्याम्पियनको ट्याग लागेपछि सिन्दिराले नेपाली समाजको शंकिर्ण सोचाईंलाई चिर्दै चेस खेलमा अझै राम्रो गर्दै जानको लागि आफ्नो परिवारबाट अर्थात् पति नारायण र सासु सरला वोझाबाट पूर्ण साथ पाइन् । सिन्दिराले चेस खेल्न शुरु गर्दा उनको ससुरा सम्भु प्रसाद वोझाको भने निधन भइसकेको थियो ।

एउटा खेलाडीको लागि कुनैपनि प्रतियोगितामा च्याम्पियन हुनु जति ठूलो कुरा हो, च्याम्पियन भइसकेपछि त्यो शाखलाई जोगाएर राख्नु त्यति नै चुनौतीपूर्ण हुन्छ । राष्ट्रिय च्याम्पियन भएपछि यस्तै चुनौती सिन्दिरालाई पनि थियो । तर परिवारको साथ उनको लागि हौसला र प्रेरणाको स्रोत मात्रै बनेन, त्यसपछि उनले चेसका सबैखाले प्रतियोगिताहरु निरन्तर रुपमा खेल्ने अवसर पाइन् । यो बीचमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा विराटनगरमा भएको सातौं, नेपालगञ्जमा भएको आठौं र गण्डकी प्रदेशको राजधानी पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले सहभागिता जनाउने अवसर पाइन् । सातौंमा काश्य पदकमा सिमित रहेकि सिन्दीराले आठौं र नवौंमा भने रजत पदक जित्न सफल भएकि थिइन् ।

राष्ट्रिय स्तरमा हुने सबै प्रतियोगितामा आफ्ना समकालिन प्रतिद्वन्दीलाई सधैं जसो दवावमा राख्न सफल सिन्दिरा आठौं राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताको क्षणलाई भने आफ्नो खेल जीवनको सबैभन्दा दुःखद् पक्षको रुपमा सम्झिन्छिन् । जुन प्रतियोगिताको पहिलो चरणमै पराजित भएकी सिन्दिराले निराशाका कारण खेलमा पुनरागमन गर्नै सकिनन् । जसकारण उनले लगातार दोश्रो राउण्डको खेल पनि हार्न पुगिन् । सबै जसो प्रतियोगितामा कम्तिमा शीर्ष तीनमा पर्दै आएकी उनी त्यो प्रतियोगितामा छैठौं स्थानमा रहन पुगिन् ।

उक्त प्रतियोगिताको स्मरण गर्दै सिन्दिराले भनिन्,‘सबै प्रतियोगिता जितबाट नै शुरु गर्ने बानी परेको म, आठौंको पहिलो राउण्डमै हार व्यहोर्न बाध्य भए, पहिलो राउण्डकै हारको प्रभाव दोश्रो राउण्डको खेलमा पनि पर्यो, म लगातार दोश्रो खेलमा पनि हारे, त्यसपछि मैले खेलमा पुनरागमन गर्नै सकिन र अप्रत्यासित नतिजा आत्मसात गर्दै छैठौं हुन पुगे । त्यसबेला म धेरै रोएको थिएँ।’ खेलाडी जीवनमा हार र जित एक सिक्काको दुई पाटा जस्तै भएपनि कुनै खेलाडी हार्नको लागि भने मैदानमा कदापी उत्रिदैनन् । तर, कहिलेकाही हार पनि जरुरी हुन्छ भन्ने पाठ आठौंबाट सिकेकी सिन्दिराले त्यसपछि भने अझै सुधारिएको प्रदर्शन गर्दै आएकी छिन् ।

सिन्दिरा गत जेठमा काठमाडौंमा आयोजना भएको नवौं राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता जित्दै दोश्रो पटक नेपाल च्याम्पियन बनेकि थिइन् । यो बीचमा क्लब र स्थानीय स्तरमा हुने धेरै प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाईसकेकी सिन्दिरा गत माघ महिनामा हेटौंडामा भएको दशौं राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताको उपाधि जित्दै राष्ट्रिय च्याम्पियनमा ह्याट्रिक गर्ने खेलाडी समेत बनेकि छिन् । बुद्धिचालको महिला राष्ट्रिय प्रतियोगितामा तेश्रो पटक च्याम्पियन बन्ने सिन्दिरा दोश्रो खेलाडी हुन् । यसअघि सुजना लोहनीले तीन पटक राष्ट्रिय प्रतियोगिताको उपाधि जितेर ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी थिइन् । यो सँगै सिन्दिराले यहि फागुन महिनाको अन्त्यमा श्रीलंकामा हुने एशियन जर्नल ३ दशमव २ प्रतियोगितामा नेपालबाट महिला खेलाडीको रुपमा आफ्नो चुनौती प्रस्तुत गर्ने अवसर पाएकि छिन् । उनी अहिले त्यसैको तयारीमा जुटेकी छिन् ।

सिन्दिराले सन् २०१६ मा जर्जियामा भएको ४२ औं चेस ओलम्पियाडबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकि थिइन् । उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्दै कुल ११ राउण्डमा ९ राउण्डसम्मको खेल सकाउँदै ५ अंक जोडेकि थिइन् । यस्तै उनले सन् २०१८ मा जर्जियामा भएको ४३ औं ओलम्पियाड पनि खेलेकी थिइन् । ओलम्पियाडको लागि जर्जिया जाँदाको समयलाई सिन्दिरा आफ्नो खेल जीवनको अविष्मरणीय क्षणको रुपमा सम्झिन्छिन् । २०७५ सालमा दोश्रो सन्तानको रुपमा छोरा सुनव वोझालाई जन्म दिएकि सिन्दिरा ओलम्पियाड खेल्न जर्जिया जाँदै गर्दा मात्र पाँच महिनाको सुत्केरी अवस्थामा थिइन् । ‘जस्तो सुकैै अवस्थामा पनि चेसलाई नै पहिलो प्राथमिकतामा राख्ने मेरो बानी छ, त्यसैले मैले म सुत्केरी छु भनेर खेललाई व्यवास्ता गर्नु मेरो मनले मानेन । र, पाएको अवसरलाई आत्मसाथ गर्दै ओलम्पियाडका लागि जर्जिया जाने निर्णय लिएको थिएँ । सिन्दिरा त्यो समयलाई स्मरण गर्दै भन्छिन्, ‘पाँच महिनाको बच्चालाई छोडेर जर्जियाको यात्रामा निस्किदै गर्दा मलाई धेरै गाह्रो भएको थियो, जतिबेला म धेरै रोएको थिएँ, त्यो पल कहिल्यै भुल्न सक्दिन।’

सिन्दिरा हंगेरिमा यसै वर्ष भएको ४५ औं चेस ओलम्पियाडका लागि पनि नेपालबाट छनौट भएकि थिइन् । तर, भिसामा आएको समस्याका कारण ४५ औं ओलम्यिाडमा नेपाली खेलाडीले भाग लिन नपाउँदा सिन्दिराले पनि तेश्रो पटक ओलम्पियाड खेल्ने अवसर गुमाउनु परेको थियो । सिन्दिराले आफ्नो पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा गत मंसिरमा दुबईमा भएको एशियन एमेच्योर चेस च्याम्पियनसिप खेल्दै शीर्ष १४ खेलाडीमा पर्न सफल भएकि थिइन् । उमेरले ४० औं वसन्त पार गर्दै गरेकी सिन्दिरालाई अबको कति वर्षसम्म चेस खेल्नु हुन्छ? भनेर सोध्दा जवाफमा हाँस्दै भन्छिन्, ‘चेसलाई म भगवानको रुपमा मान्छु, मेरो पहिलो प्रेम पनि चेस नै हो, चेस बिना मेरो अस्तित्व नै छैन, चेसबाट अलग भएर म बस्न सक्नि, म मेरो जीवनको अन्तिम घडीसम्म पनि चेस खेलिरहने छु।’

पछिल्लो समय खेलसँगै विभिन्न स्थानमा चेसको प्रशिक्षण समेत दिदै आएकी सिन्दिराको अबको सपना भनेको अन्तर्राष्ट्रियस्तरमा आफूलाई चिनाउनु हो । यसको लागि भने उनले आफ्नो छोरा सुनवलाई उपयुक्त पात्रको रुपमा चुनेकी छिन् । किनकि ६ वर्षको कलिलो उमेरमै राष्ट्रिय अण्डर-८ चेस प्रतियोगिताको च्याम्पियन बन्न सफल भइसकेका सुनव एकदिन ओलम्पियाडमा च्याम्पियन भएको हेर्ने रहर उनकी आमा सिन्दिरामा छ । जसको लागि अहिले सिन्दिरा आफैले सुनवलाई प्रशिक्षण दिदै आएकि छिन् भने भविष्यमा सुनवलाई विश्व चर्चित चेस एकेडेमीमा प्रशिक्षणका लागि राख्ने योजना समेत सिन्दिराले बनाएकि छिन् ।

छोरा सुनवको साथमा सिन्दिरा

कुनैपनि खेलाडी, एक सफल खेलाडी बन्नुमा पर्दा पछाडी धेरै व्यक्तिको हात रहेको हुन्छ । यस्तै सिन्दिरालाई यो स्थानसम्म आईपुग्न सुलोचना जोसी, बिनिता कपाली, प्रकाश नेपाल, पुरुसोत्तम चौलागाईं, सुशिल चौधरी, सुश्रुत दहाल र सुजना लोहनी लगायत अन्य उनका समकालिन साथीहरुले धेरै साथ दिदै आएका छन् । सिन्दिरा पछिल्लो केही वर्ष यता कीर्तिपुरस्थित क्रिएटिभ एकेडेमी, आफ्नै प्याभिलियन्स चेस एकेडेमी र मृगशिरा वर्ल्ड स्कुलमा चेसको प्रशिक्षण दिदै आएकि छिन् ।

जीवनको अन्तिम समय पनि चेसमै व्यतित गर्ने प्रण गरेकि सिन्दिरा चेस खेलमा लाग्न चाहने नयाँ पुस्ताका खेलाडीहरु डेडिकेटेड हुनुपर्ने बताउँछिन् । यस्तै नेपाली चेसलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि विकास गर्न नेपाल बुद्धिचाल महासंघले विशेष ध्यानदिनुपर्ने सिन्दिराको सुझाव छ । यसका लागि संघले अन्तार्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्न सक्ने सम्भावना बोकेका खलाडीलाई विदेशी प्रशिक्षकको व्यवस्थापन गरि प्रशिक्षण दिनुपर्ने र चेस खेलमा नयाँ पुस्ताका खेलाडीलाई आकर्षित गर्न अन्य खेलका खेलाडीलाई जस्तै मासिक तलब भत्ताको सुविधा दिनुपर्ने सिन्दिराको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :