नेपाल ओलम्पिक कमिटीको विवाद समाधानको जिम्मा ओसिएलाई

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को पछिल्लो विवाद समाधानको जिम्मा ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) लाई सुम्पिएको छ ।

आईओसीले आज शुक्रबार एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठ र अन्य सदस्यहरुलाई पत्राचार गर्दै विवाद समाधानको जिम्मेवारी ओसिएलाई सुम्पिएको जानकारी गराएको हो ।

एनओसीका निर्देशक जेम्स म्याकलियोडद्वारा गरिएको पत्राचारमा आगामी शीतकालिन खेलकुद आयोजनाको सम्बन्धमा चीनको हार्बिनमा गत साता बसेको बैठकमा एनओसीको विवादको बारेमा पनि छलफल भएको उल्लेख गरिएको छ ।

यस्तै पत्रमा छलफलपछि आईओसीले एनओसीको विवाद समाधानको सम्पूर्ण जिम्मेवारी ओसिएलाई दिने निर्णय भएको उल्लेख गरिएको छ ।

उक्त बैठकमा नेपालको तर्फबाट एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले सहभागिता जनाएका थिए ।

बैठकमा अध्यक्ष श्रेष्ठले एनओसीको विवादको बारेमा आईओसी र ओसिएका पदाधिकारी समक्ष प्रष्ट रुपमा कुरा राखेका थिए ।

यसअघि अदालतमा एनओसीको मुद्दा विचाराधीन अवस्थामा रहेको भन्दै आईओसीले कुनै निर्णय गरेको थिएन ।

यसरी जीवनरामको नेतृत्वमा गत पुस १३ गते निर्वाचित भएको एनओसीको नयाँ कार्यसमितिलाई नेपाल सरकार र आईओसीले अहिलेसम्म मान्यता नदिएको अवस्था छ ।

आईओसीले एनओसीलाई गरेको पत्राचार:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :