प्रशिक्षकको उचित व्यवस्थापन गर्नसके मात्र खेलकुदको विकास हुन्छ: जगदीश भट्ट, मुख्य प्रशिक्षक (भलिबल)

लक्ष्मी शाक्य

भलिबलको खेलाडीदेखि मुख्य प्रशिक्षकसम्मको जिम्मेवारी सम्हाल्दासम्म उनले भलिबल खेलमा निकै उतार चढाव देखेका छन् । विगत तीन दशकदेखि खेलाडी, व्यवस्थापक र सफल प्रशिक्षकको रुपमा उनले नेपाली खेलकुदमा झण्डा गाडिसकेका छन् । विगत डेढ दशकको अवधिमा भलिबल खेलले प्राप्त गरेको लोकप्रियताको साक्षी पनि हुन् उनी । भलिबल खेलको विकासमा सधैं होस्टेमा हैंसे गर्दै एक पिलरको रुपमा कार्यरत उनी भलिबल खेलको स्तरवृद्धिको लागि अहिले पनि दत्तचित्त भएर लागि पर्दै आएका छन् । राष्ट्रिय खेल भएर पनि भलिबल खेलको सोचेको जस्तो संरचना नबन्दा उनी निकै चिन्तित देखिन्छन् । वर्तमान अवस्थामा भलिबल खेलको अवस्था कस्तो छ, सुधार गर्न कस्तो खालको उपाय अवलम्बन गर्नुपर्ला र सम्बन्धित निकायले कस्तोे किसिमको भूमिका निर्वाह गर्नुपर्ला भन्ने मूलभुत प्रश्नहरुका साथ भलिबल खेलको सेरोफेरोमा केन्द्रीत रहेर भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टसँग मेरोखेल डटकमकी सह–सम्पादक लक्ष्मी शाक्यले गरेको विशेष कुराकानीः–

० मुख्य प्रशिक्षकको नाताले नेपाली भलिबलको वर्तमान अवस्थालाई कसरी विश्लेषण गर्नुृहुन्छ, यसलाई सुधार गर्न के गर्नुपर्छ जस्तो लाग्छ?
–पछिल्ला वर्ष आम नेपालीहरुमा भलिबल खेल निकै लोकप्रिय बन्दै गएको छ, तर संरचनागत विकासमा नाक खुम्च्याउने अवस्था भएकोले अझै धेरै गर्न बाँकी छ । भौतिक पूर्वाधार, दक्ष प्रशिक्षक तथा व्यवसायिक लिगहरूको विकास गरेर मात्र भलिबल खेलमा सुधार गर्न सकिन्छ । खेलाडीहरूलाई पर्याप्त तलब-भत्ता तथा अन्य सुविधाको व्यवस्था गर्नुपर्छ । वर्तमान अवस्थामा नेपाल भलिबल संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग समन्वयगरि आन्तरिक प्रतियोगिताको आयोजना र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेको छ । र पनि, ग्रास रूटमा अझै धेरै सुधार गर्नुपर्ने देखिएको छ । त्यसको लागि सम्बन्धित निकाय गम्भिर बन्नुपर्छ।

०नेपालमा भलिबल खेलाडीहरूको दीर्घकालीन रुपमा भविष्य सुरक्षित र सुनिश्चित गर्न तपाईं पूर्व खेलाडी भएको नाताले पनि के गर्नुपर्ला जस्तो लाग्छ?
–सर्वप्रथम खेलाडीहरूको लागि सरकारले स्थायी जागिरको व्यवस्था गर्नुपर्छ । खेलाडीको खेल जीवनपछि प्रशिक्षक, व्यवस्थापक वा खेल प्रशासनमा अवसर दिनु आवश्यक छ । भलिबल खेलाडीहरूको बीमा तथा पेन्सन प्रणाली लागु गर्नुपर्छ । समाजमा आत्मसम्मानका साथ बाँच्न सक्ने वातावरण मिलाउनु पर्छ ।

०अहिले नेपालमा भइरहेका भलिबल लिगलाई व्यवस्थित रुपमा व्यवसायिक बनाउन के–कस्ता सुधारका आवश्यकता देख्नु भएको छ?
–कुनै पनि खेलको मेरुडण्ड भनेको लिग नै हो । तसर्थ भलिबलको लिग खेललाई व्यवस्थित रुपमा व्यवसायिक बनाउन लिग खेलको आयोजना अत्यन्त जरुरी छ । त्यसको लागि निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय स्पोन्सरहरूलाई आकर्षित गर्नुपर्ने हुन्छ । क्लबस्तरको प्रतियोगिता बढाएर घरेलु लिगलाई व्यवस्थित बनाउनु पर्छ । मिडिया तथा डिजिटल प्ल्याटफर्म मार्फत खेलको प्रचार–प्रसार गर्नुपर्छ । खेलाडीहरूलाई राम्रो पारिश्रमिक दिने प्रणाली विकास गर्नुपर्छ ।

०नेपाली भलिबललाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न के–कस्ता रणनीति अख्तियार गर्दा राम्रो हुने देख्नु भएको छ?
– सर्वप्रथम खेलाडीहरूलाई अन्तर्राष्ट्रिय लिग तथा क्लबमा खेल्ने वातावरण सिर्जना गर्नुपर्छ र अवसर दिनुपर्छ । नेपालमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरि खेल पर्यटन प्रवर्द्धन गर्नुपर्छ । दक्ष प्रशिक्षक तथा आधुनिक प्रशिक्षण प्रविधि भित्र्याउनु पर्छ । खेलाडीलाई दीर्घकालीन रूपमा व्यवस्थित प्रशिक्षण दिन आवश्यक छ ।

०अहिले नेपालमा महिला भलिबलको लोकप्रियता ह्वात्तै बढेको छ, यस्तो अवस्थामा नेपालमा महिला भलिबल खेलाडीहरूलाई टिकाइराख्न कस्तो उपाय अवलम्बन गर्दा राम्रो हुने देख्नुहुन्छ?
–साह्रै राम्रो प्रश्न गर्नु भयो । साँचो अर्थमा भन्नुपर्दा अहिले महिला भलिबलको लोकप्रियता शिखरमा छ । यस्तो अवस्थामा महिला खेलाडीलाई टिकाइ राख्न महिलाका लागि सुरक्षित खेल वातावरण बनाउनुपर्छ । महिला भलिबल लिगलाई निरन्तरता दिने खालको वातावरण प्रदान गर्नुपर्छ । महिला खेलाडीहरूको लागि जागिर, छात्रवृत्ति तथा आर्थिक प्रोत्साहनको व्यवस्था गर्नुपर्छ । समाजमा महिला खेलाडीप्रति सकारात्मक दृष्टिकोणको विकास गर्नुपर्छ ।

०नेपालका दुवै राष्ट्रिय भलिबल टोली (पुरुष तथा महिला) लाई अन्तर्राष्ट्रियस्तरमा शसक्त प्रदर्शनको लागि कस्तो किसिमको तयारीको आवश्यकता देख्नुहुन्छ?
–स्तरीय प्रदर्शनको आधारशिला नै नियमित प्रशिक्षण हो । तसर्थ नियमित प्रशिक्षणसँगै नियमित रूपमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू आयोजना गर्नुपर्छ। खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरका लिगमा सहभागि गराउनु पर्छ। शारीरिक, मानसिक, र प्राविधिक रूपमा खेलाडीहरूलाई तयार पार्न विशेष प्रशिक्षण दिनुपर्छ । आन्तरिक प्रतियोगिता, नियमित प्रशिक्षण र अन्तर्राष्ट्रिय सहभागीतालाई नेपाल भलिबल संघको योजना अनुरुप राज्यको सहयोगमा निरन्तरता दिनुपर्छ।

०विद्यालय तथा विश्वविद्यालयस्तरमा भलिबल खेलको प्रवर्द्धन गर्न के गर्नुपर्छ?
–विद्यालय तथा विश्वविद्यालयमा भलिबललाई अनिवार्य खेलको रूपमा समावेश गर्नुपर्छ । विद्यालयस्तरीय तथा विश्वविद्यालयस्तरीय प्रतियोगिताहरू नियमित रूपमा संचालन गर्नुपर्छ । खेल छात्रवृत्तिको व्यवस्था गरी प्रतिभाशाली खेलाडीहरूलाई अवसर दिनुपर्ने हुन्छ ।

०नेपालका भलिबल प्रशिक्षकहरूलाई गुणस्तरीय बनाउन र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन के गर्नुपर्ला?
–नेपालका प्रशिक्षकहरूलाई गुणस्तरीय प्रशिक्षक बनाउन अन्तर्राष्ट्रिय प्रशिक्षण तथा लाइसेन्सिङ कार्यक्रममा पठाउनुपर्छ । नेपालमै प्रशिक्षक विकास केन्द्र स्थापना गर्नुपर्छ । अनुभवी प्रशिक्षकलाई पनि खेलाडीलाई जस्तै सुविधाहरू दिनुपर्छ । प्रशिक्षकलाई इज्जत दिए, उत्प्रेरित गरे, मानसिक रूपमा अब्बल भए र आर्थिक रूपमा सबल भए मात्र समग्र खेलकुदको विकास हुने भएकोले प्रशिक्षकलाई उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

०नेपाल भलिबल संघ (एनभीए) ले भलिबल खेल र खेलाडी विकासका लागि के–कस्ता पहल गर्नुपर्छ, संघले अहिलेसम्म गरेको कुरामा सन्तुष्ट हुुनुहुन्छ?
–नेपाल भलिबल संघले खेल र खेलाडीको लागि अहिलेसम्म जुन पहलकदमी गरेको छ, त्यो आफैमा प्रशंसायोग्य छ । र, पनि खेलाडीहरु ढुक्क भएर खेल्ने अवस्था भने अहिलेसम्म बनेको छैन । तसर्थ खेलाडीहरूको तलब-भत्ता तथा बीमाको व्यवस्थापन गर्नुपर्छ । भलिबल प्रतियोगिताहरूको संख्या वृद्धि गरी खेलाडीहरूलाई व्यस्त राख्नुपर्छ । अन्तर्राष्ट्रिय भलिबल संघ तथा अन्य संस्थासँग समन्वय गरि आधुनिक प्रविधि तथा रणनीति नेपालमा भित्र्याउनु पर्छ । संघले आफ्ना मातहतका खेलाडी, प्रशिक्षक र रेफ्री हरुको समिति गठन गरि स्किल बढाउनका निम्ति क्रियाशिल हुने र सेवा सुविधाको व्यवस्था गर्नुपर्छ ।

०नेपालमा भलिबलको पूर्वाधार विकासको वर्तमान अवस्था कस्तो छ, र यसलाई कसरी सुधार गर्न सकिन्छ?
–नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको इन्डोर भलिबल कोर्टहरूको संख्या निकै कम छ। प्रत्येक प्रदेशमा कम्तिमा एक अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल बनाइनुपर्छ । सरकारी तथा निजी क्षेत्रको सहकार्यमा भलिबल प्रशिक्षण केन्द्रहरू खोल्नुपर्छ । अहिले चाहिँ हामीलाइ सबैभन्दा खड्केको कुरा नै यही हो । दुर्भाग्य नै भन्नुपर्छ, भलिबल खेल राष्ट्रिय खेल भएर पनि अहिलेसम्म अन्तर्राष्ट्रियस्तरको कभर्डहल छैन ।

०नेपालका भलिबल खेलाडीहरूले अन्तर्राष्ट्रिय लिगहरूमा सहभागिता जनाउन कस्तो किसिमको उपाय अबलम्बन गर्नुपर्ला?
–सर्वप्रथम नेपालले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय क्लब तथा लिगमा सहभागिता गराउन एजेन्ट तथा व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्छ । खेलाडीहरूलाई भाषा, फिटनेस तथा रणनीतिक प्रशिक्षण दिनुपर्छ । अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरूसँग सहकार्य गरी खेलाडीहरूको स्तरवृद्धि गर्नुपर्छ ।

०नेपालमा भलिबललाई व्यवसायिक खेलको रूपमा विकास गर्नका लागि कर्पोरेट क्षेत्रलाई कसरी आकर्षित गर्न सकिन्छ?
–निजी कम्पनीहरूलाई भलिबल लिग तथा खेलाडी प्रायोजन गर्न कर छुट जस्ता सुविधा दिनुपर्छ । भलिबल प्रतियोगिताहरूलाई राम्रो ब्रान्डिङ तथा मिडिया कभरेज दिनुपर्छ । लोकप्रिय खेलाडीहरूलाई ब्रान्ड एम्बेसडर बनाएर खेलकुद प्रवर्द्धन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :