बालापनको चर्चा गर्दा अबोधपन नै आकर्षकको केन्द्रविन्दु हुन्छ । जुन अपत्यारिलो, आकर्षक र मनमोहक हुन्छन् । उनको पनि ९ वर्षको कलिलो मस्तिष्क थियो, सुझबुझ र सुद्धिबुद्धि केहि थिएन । त्यो बेला बाल खेल खेलेपनि भविष्यमा खेलाडी बन्ने उनको कुनै सोच थिएन । एवम् प्रकारले उनको दिनचर्या चल्दै जाँदा समयको चक्रले उनलाई खेलकुदतर्फ आकर्षित गर्यो । तर खेलकुद कुन चरिको नाम हो? उनलाई अत्तोपत्तो थिएन । र पनि, खेल खेल्ने उनको तीब्र आकाँक्षाले उनलाई घचघच्याउन थाल्यो । परिणाम, ‘के खोज्छस्, कानो आँखो’ भने झैं उनको खेलकुदको सारथी बनेर आमाको पदार्पण भएपछि त्यो बाल मस्तिष्कले नौंलो मार्ग चयन गर्ने अवसर पायो । त्यसबेला उनी शारीरिक रुपमा त तयार नै थिइन् र सामाजिक तथा मानसिक रुपमा पनि आफ्नै आमाको साथ पाएपछि खेलकुदको गृह प्रवेश सहज लागेको थियो ।
त्यसपछि आमाकै सल्लाहमा उनले कक्षा ७ मा अध्ययनरत रहँदा विद्यालयका कराते प्रशिक्षक निरज महर्जनसँग कराते खेलको प्रशिक्षण लिन थालिन् । शारीरिक स्वास्थ्यको लागि खेल राम्रो माध्यम हो भन्ने ज्ञान भएकी उनकी आमाले स्वास्थ शरीरका लागि पढाईपछिको फुर्सदको समयमा छोरीलाई करातेको प्रशिक्षण लिन सल्लाह दिइन् । करातेको प्रशिक्षण लिन शुरु गर्दा उनले मात्र होइन उनकी आमाले पनि छोरी चर्चित खेलाडी बन्छिन् भन्ने कल्पना समेत गरेकि थिइनन् । यस्तोमा पढाई अनि सामान्य प्रशिक्षणमै उनी सिमित हुन थालिन् । विस्तारै-विस्तारै करातेप्रतिको लगाव बढ्दै जाँदा कराते खेलको नसामा उनी चुर्लुम्म डुब्न पुगिन् । कराते उनको अभिन्न अङ्ग जस्तै बन्न पुग्यो ।

र, एकदिनको कुरा हो, उनले आफ्नै विद्यालयका प्रशिक्षक निरजले मनमैजु कराते डोजोमा पनि कराते सिकाउँदै आएको कुरा चाल पाइन् । त्यसपछि प्रशिक्षक निरजमार्फत नै उनले मनमैजु डोजोमा आधिकारिक रुपमा करातेको प्रशिक्षण लिन थालिन् । यो उनको खेल जीवनको ट्रनिङ प्वाइन्ट समेत बन्यो। मनमैजु डोजोमा प्रशिक्षण गर्दा उनले कराते खेल सम्बन्धि थप प्राविधिक ज्ञान हासिल गरिन् । खेलप्रतिको लगाव बढ्दै जाँदा उनको दिमागका प्रतिस्पर्धाको भाव उत्पन्न भयो । त्यसपछि उनले आफुलाई प्रशिक्षणमा मात्र सिमित नराखि कराते खेलका प्रतियोगितामा आफ्नो खेल कौशल प्रस्तुत गर्ने निर्णय गरिन्, जुन सापेक्ष पनि थियो । यसरी करातेलाई जानी अन्जानी आत्मसात गरेर उनी अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सफलताको शिखरमा पुग्न सफल भएकी छिन् । उनी हुन्–१९ औं एशियाली खेलकुद प्रतियोगिता (एशियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउने कराते खेलाडी ‘एरिका गुरुङ’ ।
वि.सं. २०६१ साल जेठ १७ गते धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१३ स्थित लाहुरे गाउँमा बुबा विनोद र आमा रत्न गुरुङको कोखबाट जन्मिएकी एरिका गुरुङ दम्पतीको पहिलो सन्तान हुन् । उनको एक जना बहिनी छिन् । देशकै राजधानीसँग सिमाना जोडिएपनि धादिङ जिल्लालाई बत्तीमुनिको अँध्यारोको रुपमा हेरिन्छ । किनकि धादिङमा खेलकुद लगायत विकास निर्माणका प्राय सबै विधा अहिले पनि भ्रुण अवस्थामै रुमलिरहेको छ । यो जिल्लामा जन्मिएकी एरिकाले अहिले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत स्टार खेलाडीको रुपमा आफ्नो छवीलाई स्थापित गर्न सफल भएकी छिन् । एरिकाको सफलतामा उनको बुबा आमाको अतुलनिय योगदान छ । एरिकाको जन्मसँगै उनको बुबा आमाले आफ्नो सन्तानको उचित शिक्षाका लागि आफ्नो जन्म जिल्ला धादिङलाई छाँडेर काठमाडौंलाई कर्मभूमि बनाउदै राजधानी छिरेका थिए । एरिकाको परिवार विगत दुई दशकदेखि काठमाडौंको मनमैजुस्थित भाडाको घरमा बस्दै आएका छन् ।

राजधानी आएपनि उनको बुबा विस्तारै ट्रेकिङ पेशामा आवद्ध हुँदा उनकी आमा भने घरायसी जिम्मेवारी सम्हाल्नमै व्यस्त भइन् । बुबा विनोद अहिले पनि ट्रेकिङ पेसामै आवद्ध छन् । एउटा खेलाडीलाई सफल खेलाडी बन्न उसको परिवारको साथ पहिलो आवस्यकता हो, जुन साथको लागि एरिकाले त्यति संघर्ष गर्नु परेन । किनकी, उनले त आफ्नी आमा रत्नबाटै कराते खेलमा लाग्ने प्रेरणा पाएकी थिइन् । बाल्यकालदेखि नै राजधानीमै बसेर आफ्नो अध्ययनलाई अघि बढाउने अवसर पाएकी एरिकाले तारकेश्वरस्थित शुभकामना इङ्गलिस बोर्डिङ स्कुलबाट कक्षा १० सम्मको पढाई सकाएकी थिइन् । बसुन्धारास्थित साउथवेस्टर्न स्टेट सेकेन्डरी स्कुलबाट मानविकी संकायमा प्लस टु गरेकी एरिका अहिले खेलसँगै आर्ट्स संकायमा पत्रकारिता र समाजशास्त्रलाई मुख्य विषय बनाई स्नातक तहको दोश्रो वर्षमा अध्ययनरत छिन्।
अध्ययन र खेल दुवैलाई एकैसाथ अघि बढाउनु त्यति सहज पक्कै छैन । जसले गर्दा कतिपय खेलाडीहरु आफ्नो अध्ययनलाई बीचैमा छाँडेर खेलमा मात्र केन्द्रित भएको धेरै उदाहरण नेपाली खेलकुदमा छन् । तर, समयको व्यवस्थापनमा समेत राम्रो दख्खल राख्ने एरिकाले खेल अनि पढाई दुवैलाई एकैसाथ अघि बढाउने तारतम्य मिलाएकि छिन् । र, उनले आफूलाई सोही ढाँचामा समेत ढाल्दै आएकि छिन् । ९ वर्षको उमेरदेखि मनमैजु डोजोबाट आधिकारिक रुपमा प्रशिक्षण शुरु गरेकी एरिकाले सन् २०१६ मा नेपालमै भएको १४ औं इन्डो नेपाल अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप खेल्ने मौका पाइन् । एरिकाले आफ्नो खेल जीवनको डेब्यु नै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट गर्ने अवसर पाइन् । जुन प्रतियोगिताको ५५ केजी तौल समूहमा उनले कास्य पदक हात पारेकी थिइन् । जतिबेला एरिका मात्र १२ वर्षकी थिइन् ।

खेल जीवनको डेब्यु प्रतियोगितामै मेडल टच गर्नु त्यो सबै खेलाडीको भाग्यमा हुँदैछ । जसका लागि एक खेलाडीले लामो प्रयास र प्रतिस्पर्धा गर्नुपरेको धेरै उदाहरणहरु छन् । आफ्नो खेल जीवनको पहिलो स्पर्धामै प्राप्त गरेको कास्य पदकले एरिकालाई कराते खेलप्रति आकर्षित मात्र गरेन, जित्नुपर्ने मानसिकतालाई बढावा दियो । त्यसपछि एरिकाले निरन्तर रुपमा कराते खेललाई अघि बढाउने निधो गरिन् । उनले सन् २०१७ मा नेपालमै भएको १५ औं इन्डो नेपाल कराते तथा किक बक्सिङ च्याम्पियनसपको ६५ केजी तौलको स्पर्धामा रजत, त्यसै वर्ष नेपालमै भएको दोश्रो आईएम अन्तर्राष्ट्रिय करोत च्याम्पियनसिपको टिम स्पर्धामा रजक र सन् २०१८ मा नेपालमै भएको चौथो माउण्ट एभरेष्ट कराते च्याम्पियनसिपको ६८ केजी तौलको स्पर्धामा कास्य पदक जितेकी थिइन् । खेल जीवनको शुरुवाती चार प्रतियोगिता पदक बिहिन बन्नु नपरेपनि एरिका रजत र कास्य पदकमै समेटिएकी थिइन् । त्यसपछि उनी स्वर्ण पदकतर्फ केन्द्रित हुन थालिन् र आफ्नो प्रशिक्षणलाई पनि त्यहि अनुरुप अघि बढाउदै गइन् ।
करातेमा उत्कृष्ट प्रदर्शन गर्दैगर्दा १४ वर्षको उमेरमै नेपाली खेलकुद विकासमा महत्वपूर्ण हिस्सा ओगट्दै आएका विभागीय टोली एपीएफ, पुलिस र आर्मीको नजरमा एरिका पर्न सफल भइन् । यस्तैमा सन् २०१८ मा पहिलो एपीएफ ओपन अन्तर्राष्ट्रिय सोतोकान काराते च्याम्पियनसिप खेल्न पाउनु, यो एरिकाको खेल जीवनको अर्को महत्वपूर्ण खुड्किलो थियो । किनकी, ६८ केजी तौलमा स्पर्धा गर्दै स्वर्ण पदक जितेकी एरिका यो प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधि समेत जित्न सफल भइन् । यो स्वर्णले एरिकालाई कराते खेलमा अझै राम्रो गर्ने हौसला र प्रेरणा प्रदान गरेको थियो ।
त्यस्तै सन् २०१९ मा भएको काठमाडौं ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिपको ६७ केजीमा स्वर्ण जितेकी एरिकाले त्यसै वर्ष बागलुङमा भएको चौथो अन्तर्राष्ट्रिय वादोरियो कराते च्याम्पियनसिपको खुल्ला स्पर्धामा पनि स्वर्ण नै जितेकी थिइन् । यो बीचमा एरिकाले केही समय विभागीय टोली एपीएफबाट घरेलु प्रतियोगिता खेलेकी थिइन् । एपीएफबाट नै खेल्दै गर्दा उनलाई अर्का विभागीय टोली पुलिसले पनि आफ्नो क्लबबाट खेल्न प्रस्ताव राख्यो । एक खेलाडीको लागि सेवा सुविधा लगायत सम्पूर्ण हिसाबले पुलिसबाट आएको प्रस्ताव राम्रो लागेपछि एरिका एपीएफ छाँडेर पुलिसमा आवद्द भएकी थिइन् । उनी अहिले पनि सोही क्लबाट घरेलु तथा राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी छिन्।

विभागीय टोलीमा आवद्ध भएर प्रशिक्षण गर्न थालेपछि एरिकाले नेपाली करातेको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका दीपक श्रेष्ठ, १३ औं दक्षिण एशियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ, कुशल श्रेष्ठ, अक्बर, निवास, तुल्सी, योगेन्द्र, राजेश र केदार जस्ता करातेका प्रशिक्षकहरुलाई चिन्ने मौका पाइन् । उनीहरुकै छत्रछायाँमा रहेर एरिकाले आफ्नो खेलमा अझै निखारपन ल्याउने अवसर पाइन् । त्यसैमाथि पुलिस क्लबको प्रशिक्षणले एरिकाको खेल जीवनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्यो । एरिकाले २०७९ सालमा गण्डकी प्रदेशको राजधानी पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुलिस क्लबबाटै सहभागिता जनाइन्। राष्ट्रिय प्रतियोगिताको पहिलो सहभागितामै एरिका ६८ केजी तौलको स्पर्धामा स्वर्ण पदक जितेर आफ्नो खेल जीवनमा नौंलो आयाम थप्न पनि सफल भइन् । नवौं राष्ट्रियको टिम स्पर्धामा पनि एरिकाले पुलिसलाई रजत पदक दिलाएकी थिइन् ।
नवौं राष्ट्रियमा मिलेको सफलतासँगै एरिकाको राष्ट्रिय टोलीको ढोका समेत खुल्यो । नवौं राष्ट्रिय लगत्तै नेपालमा १९ औं एशियाली खेलकुद (एशियाड) को लागि तयारी अघि बढ्यो । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पदक सम्भावित खेललाई केन्द्रित गरी कराते लगायत अन्य केही खेलका खेलाडीलाई पहिलो चरणको विशेष प्रशिक्षणमा राख्यो । १८ वर्ष भन्दा कम उमेर भएकै कारण एरिका एसियाडको त्यो विशेष प्रशिक्षणमा पर्न असफल भएकी थिइन् । तर, पुनः देखिएको कोरोना भाइरस महामारीका कारण २०२२ को सेप्टेम्बर १० देखि २५ सम्म हुने भनिएको १९ औं एशियाड स्थगित हुन पुग्यो । त्यसपछि १९ औं एशियाड सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाओ सहरमा हुने गरिन नयाँ मिति निर्धारण भयो ।
भाग्यवस, एशियाडको नयाँ मिति तय हुँदा एरिका १८ वर्षमा प्रवेश गरिसकेकी थिइन् । १८ वर्षमा प्रवेश भएसँगै एरिका एशियाडको तयारीका लागि राखिएको दोश्रो चरणको राष्ट्रिय टोलीको बन्द प्रशिक्षण टोलीमा पर्न सफल भइन् । पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेकी एरिकाले एशियाडको करातेतर्फ महिला ६८ केजी तौल समूहको छनौटमा पहिलो हुँदै अन्तिम चरणको छनौटमा स्थान बनाइन् । अन्ततः सोही तौल समूहको अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गर्दै एशियाडमा छनौंट हुन सफल भइन् । त्यो बीचमा एरिकाले सन् २०२२ मा भएको पहिलो कृष्णप्रसाद भट्टराई स्मृती राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण, पहिलो एनआरएन राष्ट्रिय कराते च्याम्पियनसिपमा कास्य, पहिलो बाह्रबिसे मेयर कप राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण, दोश्रो कृष्णप्रसाद भट्टराई स्मृती राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण र चौथो नेपाल सितोरियो ओपन राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेर आफू एशियाडमा नेपालको चूनौती प्रस्तुत गर्न तयार रहेको प्रमाणित गरेकी थिइन् ।

एशियाडअघि एरिकाले सन् २०२३ को सेप्टेम्बर २२ देखि २४ सम्म इन्डोनेसियाको जाकार्तामा भएको दसौं विश्व सितोरियो कराते डो च्याम्पियनसिपमा व्यक्तिगततर्फ ऐतिहासिक स्वर्ण पदक र टिम इभेन्टमा नेपाललाई कास्य पदक दिलाएकी थिइन् । इन्डोनेसियामा इतिहास रचेर स्वदेश फर्किए लगत्तै एरिका सन् २०२३ को अक्टोबर ४ देखि ८ सम्म भएको १९ औं एशियाडमा सहभागिता जनाउन चीनको हाङझाओतर्फ लागिन् । एशियाडको पहिलो खेलमा आफ्नो टोलीका मुख्य प्रशक्षिक कुशल श्रेष्ठ लगायत सम्पूर्ण प्रशिक्षण टोलीको रणनीतिअनुसार प्रत्येक फाइट पहिलो नभई अन्तिम हो भन्ने मानसिकताका साथ एरिनामा उत्रिएकी एरिकाले जापानकी विश्व च्याम्पियनविरुद्ध उत्कृष्ट प्रदर्शन गदै उनलाई पराजित गर्न सफल भईन् । त्यसपछि निकै हौसिएकी एरिकाले एशियाडमा करातेमार्फत देशलाई व्यक्तिगततर्फ पहिलो ऐतिहासिक रजत पदक दिलाउन सफल भइन्। जुन अफिसियल प्रतियोगितामा कराते खेलले जितेको सर्वोकृष्ट पदक थियो । एशियाडमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेकि एरिका फाइनलमा भने काजकस्तानकी सोफ्या बेरुल्तसेभासँग पराजित भएकि थिइन् । यसरी एसियाडको डेब्यू खेलमा नै एरिकाले ऐतिहासिक रजत पदक जितेर कीर्तिमान बनाउन समेत सफल भईन् ।
अन्तर्राष्ट्रिय प्रतियोगिता, त्यो पनि एशियाडमा ऐतिहासिक रजत पदक जितेपछि एरिकाको खुशीको सिमा थिएन । त्यो क्षण एरिकाको मानसपटलमा अझैपनि ताजै छ । उनी त्यो क्षणलाई आफ्नो खेल जीवनमा हालसम्मकै अविष्मरणीय क्षणको रुपमा सम्झिन्छिन् । जतिबेला एरिका, उनको परिवार र टिममेट मात्र नभई सिङ्गो नेपालले नै खुसीको हाँसोसँगै आरामको स्वास फेर्न पाएको थियो । एशियाडपछि एरिकाको परिचय फेरियो, उनी एक खेलाडी मात्र रहिनन्, ऐतिहासिक पदकधारी खेलाडीको रुपमा उनी चिनीन थालिन् । स्वदेश फर्किएपछि उनले त्यहि अनुसार नगदसहितको धेरै मानसम्मान पनि पाइन् । त्यो क्रम अझै पनि जारी नै छ । एरिकाले अहिलेससम्म जतिपनि मानसम्मान पाएकी छिन्, त्यसलाई सम्मान मात्र नभई आफूप्रति जिम्मेवारी थपिएको र जसलाई न्याय गर्दै जानुपर्ने बताउछिन् ।

एशियाडपछि एरिकाले सन् २०२४ को सेप्टेम्बर २० देखि २२ सम्म चीनको हाङझाओमा भएको २० औं सिनियर एशियन कराते च्याम्पियनसिपमा पनि रजत पदक जितेर अर्को इतिहास रचिन् । यस्तै २०२४ को मार्च ३० मा अमेरिकाको टेक्कासमा भएको युएस कराते ओपन, अण्डर-२१ कुमुते तथा सिजियर कुमुतेमा पनि एरिकाले ऐतिहासिक स्वर्ण पदक जितिन् । यस्तै गत वर्षकै जुलाई १७ मा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एशियाली कराते च्याम्पियनसिपको सिनियर कुमुते र टिम कुमुतेमा गरि दोहोरो स्वर्ण पदक जितेकी थिइन्।
सन् २०२४ कै अक्टोबर ९ देखि १३ सम्म इटालीमा भएको वर्ल्ड क्याडेट, जुनियर तथा अण्डर-२१ च्याम्पियनसिपमा भने एरिकाको प्रदर्शन सहभागितामै सिमित रहेको थियो । एरिकाले अहिलेसम्म खेलेका सबैखाले प्रतियोगितामा पदक विहीन हुनपरेको त्यो नै पहिलो पटक थियो । एरिकाले त्यो हारबाट पाठ सिक्दै आफ्ना कमि कमजोरी सुधार गर्ने अवसर पाइन् । त्यसपछि उनले उत्कृष्ट प्रदर्शन गर्दै गत वर्षकै नोभेम्बर २९ र ३० मा सिंगापुरमा भएको १६ औं एशिया प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा स्वर्ण पदक जितेर इटालीमा लागेको घाउमा मलहम पट्टी लगाइन् । उनले यसै वर्षको गत फेब्रुअरीमा दुवईमा भएको के वान युथ लिगमा पनि रजत जितेकी थिइन् । एरिकाले खेलेको पछिल्लो खेल भने गत फागुनको दोश्रो साता भएको चौथो कृष्णप्रसाद भट्टराई स्मृती राष्ट्रिय कराते च्याम्पियनसिप हो । जुन प्रतियोगितामा पनि उनले आफ्नो तौल समूहमा स्वर्ण पदक नै जितेकी थिइन् ।

चाहे त्यो राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय जुनसुकै स्तरको प्रतियोगिता भएपनि एउटा खेलाडीको पहिलो सपना भनेको मेडल टच गर्नु नै हुन्छ । तर, सधैं फाइनलमा पराजित हुँदै स्वर्ण पदकबाट बञ्चित हुनुपर्दाको क्षण खेलाडीका लागि साँच्चिकै पीडादायिक हुन्छ । एरिका पनि अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगितामा यस्तै नतिजाको शिकार बनेकी छिन् । पदक उनले जितेकि छिन्, फाइनलमा पनि पुगेकि छिन् तर दोश्रो स्थानमै चित्त बुझाउन बाध्य भएकि छिन् । कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा एरिकाको लागि रजत पदक ग्यारेन्टी जस्तै बनेपनि स्वर्ण पदक जित्न नसक्दा भने उनी खिन्न र सन्तुष्ट बन्दै आएकी छिन् । र, यो अवस्थाबाट उनी मुक्त हुन चाहिरहेकी छिन् । एरिका दक्षिण एशियाली खेलकुद (साग), एशियाली खेलकुद (एशियाड) र वर्ल्ड च्याम्पियनसिप हुँदै ओलम्पिकसम्म उत्कृष्ट प्रदर्शन गर्दै देशलाई नै स्वर्णको भोक मेटाउनु आफ्नो अबको लक्ष्य बताउँछिन् । जसका लागि एरिका हाल दैनिक पाँच घण्टा प्रशिक्षण गर्दै आएकी छिन् । उमेरले २० औं वसन्त पार गर्दै गरेकी एरिकाले सानै उमेरमा प्राप्त गरेको यो सफलतामा आफ्नो प्रशिक्षक कुशल श्रेष्ठलगायत उनको खेल जीवनलाई अघि बढाउन सघाएका सबै गुरुहरुको उत्तिकै योगदान रहेको बताउँछिन् ।
पछिल्लो समय एरिका २०२६ मा जापानमा आयोजना हुने २० औं एशियाड र १४ औं सागलाई केन्द्रितगरि बन्द प्रशिक्षणमा रहँदै आएकी छिन् । २० औं एशियाडको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ‘मिनस २०२६’ को अभियान नै बनाएर विभिन्न खेलका राष्ट्रिय टिमलाई प्रशिक्षणमा राखेको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले चलाएको यो दुरदर्शि अभियानले अहिले खेलाडीको आत्मविश्वास बढाएको एरिको अनुभुति छ । यो कार्यले निरन्तरता पाए खेलाडीले ‘मिनस २०२६’ मा सकारात्मक नजिता दिलाउन सक्ने एरिकाको दावी पनि छ । यस्तै आफुलाई यो स्थानमा पुर्याउन सदस्यसचिव घिसिङले खेलेको भूमिका र गरेको सहयोग अतुलनीय भएको भन्दै त्यसलाई सार्थक तुल्याउन आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदकसँगै ‘स्वर्णिम खेलकुद’ बनाउने लक्ष्यमा केन्द्रीत भएकि छिन्–‘एरिका’।
