दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘लोगो तथा मस्कट’ अनावरण कार्यक्रममा जुन दृश्य देखियो, त्यसले अहिले खेलकुद क्षेत्रमा थुप्रै प्रश्न मात्रै खडा गरेको छैन, नेपाली खेलकुदको मूर्त र अमुर्त चित्रको पर्दाफास समेत गरिदिएको छ । आवरणमा देखिएको त्यो घटनाक्रमले नेपाली खेलकुदमा रहस्यमयी तरिकाले ‘खिचडी’ पाकिरहेको सोझै अनुमान लगाउन सकिन्थ्यो । खेलकुदका पदाधिकारीहरुले आफ्नो मपाइत्व प्रदर्शन गर्ने क्रममा दसौं राष्ट्रिय खेलकुदको काँधमा बन्दुक राखेर निशाना साँध्ने काम गरे, जुन कार्यक्रमको मोटो भन्दा अलग र फरक थियो । र पनि, चान्समा डान्स गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आफुलाई ‘हिरो’ बनाउन कुनै कसर बाँकि राखेनन् । तर उनी ‘हिरो’ बने की ‘जीरो’ त्यो कुरा उनले कार्यक्रम समापनपछिको जम्काभेटपछि अवश्य महसुस गरेको हुनुपर्छ । यसर्थमा कि त्यसपछि अध्यक्ष, उपाध्यक्ष र सदस्यसचिवले तीन टाउको तीनतिर फर्काएर हिडेको दृष्यले नै प्रमाणित गरेको थियो ।
एउटा चर्चित नेपाली उखान छ–‘नयाँ जोगीले धेरै खरानी घस्छ’ उक्त कार्यक्रममा उपाध्यक्ष आचार्यले निकै जोशिलो भाषण गर्दै खेलाडीहरुको हकहित र अधिकारका लागि एक्लो वृहस्पति भएर काम गर्ने शंकनाद गरे । केहि महिनाअघि मात्रै खेलकुदमा भित्रिएका आचार्यको यस्तो गर्जन सुन्दा खेलाडीहरुले ताली त बजाए, तर नाक खुम्च्याएर । खेलाडीहरुले नाक खुम्च्याउनु भित्रको रहस्य आफैमा सोचनिय मात्र नभई रोचक पनि छ । यसर्थमा कि राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार उपाध्यक्षको काम, कर्तव्य र अधिकार भनेको निकै सिमित छ । साँचो अर्थमा भन्नुपर्दा कुनै किसिमको कार्यकारी अधिकार नै छैन भने पनि हुन्छ । ऐनले व्यवस्था गरेअनुरुप अध्यक्षको अनुपस्थितिमा परिषद्को बैठकको अध्यक्षता गर्ने, अध्यक्षले प्रत्यायोजन गरे बमोजिम काम कारवाही गर्ने र परिषद्ले तोके बमोजिम अन्य कार्य गर्ने । खेलकुदमा उपाध्यक्षको काम कर्तव्य र जिम्मेवारी भनेको यति नै हो । तर, शक्तिको आडमा उपाध्यक्ष आचार्यले आफ्नो रवाफ देखाउन कुनै कसर बाँकी राखेका छैनन् । विभागिय प्रमुखदेखि कर्मचारीहरुलाई ढड्डा, म्याइन्यूट र कागजात मगाएर मुख रातो पार्ने दुःस्साहस गर्दै आएका छन् । जसले अहिले खेलकुदमा नौंलो तरङ्ग उत्पन्न हुनुको साथै तनावको स्थिति समेत पैदा गरिदिएको छ । उपाध्यक्षकै कारणले कर्मचारीहरुको काम गर्ने वातावरणमा अवरोध मात्र नभई प्रदुषण नै प्रदुषण पैदा भएको छ । परिणाम, कर्मचारीहरु कुहिरोमा हराएको कागसरि अन्योलताको अवस्थामा पुगेका छन् ।
नेपाली खेलकुद ‘महासागर’ हो भन्दा अतिसयोक्ति नहोला । यहाँ पौडिन नजाने किनाराबाट दृश्य, परिदृश्य अवलोकन गर्दै नमस्कार गर्नु बाहेक अर्को विकल्प हुदैन । त्यसमाथि कार्यकारी अधिकार नै नभएको उपाध्यक्षले महासागरमा किन पौडी खेल्ने, केका लागि खेल्ने, खेल्दा पनि के पाउने? त्यो निकै पेचिलो र अर्थपूर्ण छ । महासागरमा स्वास्थ्य र रमाईलोको लागि किनारामा पौडी खेल्नु उचित मानिन्छ र खेल्नुपर्छ पनि । तर महासागरको किनारामै पनि पौडी खेल्दा जोसले मात्र हुदैन होस् पनि त्यत्तिकै पुर्याउनु पर्छ । अन्यथा त्यहि किनारामै पनि समुद्रको लहरको चपेटामा पर्न सकिन्छ । त्यसैले उपाध्यक्षले दुरदर्शी भएर काम गर्न आवश्यक छ । यसर्थमा कि नेपाली खेलकुद त्यो छेपारो हो, जसले कुनैपनि बेला आफ्नो रुप रङ्ग फेर्न सक्छ र देखाउन सक्छ । यसअघिका उपाध्यक्षले पनि शक्तिको दम्भमा खेलकुदमा भाँडभैलो मच्याउन खोजेका पक्कै हुन्, उनीहरु कति सफल भए कति असफल? त्यसको इतिहास साक्षी छ । अन्त्यमा एउटा कोठामा सिमित भएर गाडि, पेट्रोल र विदेश भ्रमणको लागि लम्पसार हुनुपरेको कसैबाट छुपेको छैन । त्यसैले उपाध्यक्षले ऐनमा व्यवस्था भएनुसार आफ्नो काम, कर्तव्य र अधिकारमै सिमित रहदा उनको र खेलकुदको भलो हुने देखिन्छ ।
नेपाली खेलकुदको झण्डै ७ दशक लामो इतिहासमा पञ्चायतकाललाई थाँती राख्दा त्यसपछि रुक्मशम्शेर राणा, गणेश थापा, सोमनाथ प्यासी, सीताराम मास्के, पिताम्बर तिमिल्सिना, लामा टेण्डी शेर्पा, शिव कोइराला (ज्वाला) र वर्तमान अवस्थामा ध्रुव आचार्यले परिषद्को उपाध्यक्ष हुने अवसर पाएका छन् । ति मध्य गणेश थापा, पिताम्बर तिमिल्सिना, शिव कोइराला (ज्वाला)र ध्रुव आचार्य मात्रै त्यस्ता भाग्यमानी उपाध्यक्ष हुन्, जसले गाडी र कार्यलयको उपभोग गर्न पाए । राखेपको नयाँ भवन निर्माण भएपछि उपाध्यक्षको सचिवालय नै बनेको छ । त्यसभन्दा अघि राखेप परिसरमा अवस्थित दशरथ रङ्गशालाको एउटा कोठामा उपाध्यक्षको कार्यालय हुन्थ्यो । ऐनमा व्यवस्था भएनुसार उनी त्यहि कोठामा सिमिति हुन्थे र भेट्न आएका शुभचिन्तकलाई चिया पिलाएर घर फर्किन्थे । अहिले उपाध्यक्षको सचिवालय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको भन्दा निकै भव्य र शानदार छ । त्यसैले अहिले धेरै खेलकर्मीले प्रश्न उठाउने गरेका छन्– ‘राष्ट्रिय संघहरुलाई रङ्गशालाको छिडीमा राख्ने, काम न काजको उपाध्यक्षलाई त्यो राजशी ठाँट किन?’ उनीहरुले आक्रोस पोख्दै भने–‘खेलकुदमा उपाध्यक्ष पद भनेको ‘बाँदरको पुच्छर लौरो न हतियार’ जस्तै हो, त्यसैले ऐन संसोधन गरेर खेलकुदबाट कोषाध्यक्ष पद झै उपाध्यक्ष पद पनि हटाउनुपर्छ । व्यर्थैमा खेलकुदमा राजनीति गर्ने पदलाई खारेज गरेर राज्यलाई आर्थिक भारबाट मुक्त गर्नुपर्छ ।’ अन्यथा अहिले उपाध्यक्षकै कारणले खेलकुदमा जुन अनावश्यक रुपमा भाँडभैलो मच्चिन पुगेको छ, त्यसले भोलि विकराल रुप लियो भने त्यो नेपाली खेलकुदको लागि प्रत्युत्पादक बन्ने कुरामा कुनै शंका छैन।