खेलाडीका लागि शरीर भन्दा स्वास्थ्य ‘मन मस्तिष्क’ आवश्यक

रमेश खनाल (खेलकुद मनोविज्ञ)

खेल्दा कहिले टाउको जुधेर खेलाडीहरु घाइते भएका हुन्छन्, त कहिले खुट्टा–खुट्टा ठोकिएर घाइते हुन्छन्, कहिले मैदान एवम् रिङमा पछारिएर घाइते हुन्छन् । केहि वर्ष अगाडि फुटबलमा खेलाडी टाउको जुधेर घाइते भई भुईंमा लडे । उनी अचेत भए । उनलाई वीर अस्पतालमा पुर्याइयो । डाक्टर उपेन्द्र देवकोटाको रेखदेखमा उनी १५–२० दिनसम्म अचेत अवस्थामा अडिरहे । १५–२० दिनपछि उनी बौरिए । उनलाई सपनाबाट उठेजस्तो भयो । उपचारपछि उनी अस्पतालबाट बाहिरिए । डाक्टरले उनलाई फुटबल होसियारी पूर्वक खेल्न सुझाव दिए ।

केहि महिनाअघि फुटबल खेल्दाखेल्दै एकजना फुटबल खेलाडीको दुःखद निधन भयो । प्रशिक्षणकै दौरानमा उसुका एक जना खेलाडीको निधन भयो । खेलकुदमा यस्ता घटनाहरु यदाकदा भइरहने गर्छन् । तर उनीहरुको निधन हुनुको पछाडि के कारण थियो जसको अनुसन्धानात्मक प्रतिवेदन कहिल्यै बाहिर आउँदैन ।

खेलाडीलाई प्रशिक्षणमा छनौट गर्नुपूर्व उसको विस्तृत मेडिकल एवम् साइकोलोजिकल परिक्षण गरिनुपर्छ । मेडिकल प्रशिक्षणबाट उसको शारीरिक अवस्था एवम् क्षमता थाहा पाउन मद्दत पुग्दछ । कुन खेलाडीले कहिलेसम्म खेल खेल्न सक्नेछन र कति उमेर पुगेपछि उत्कृष्ट प्रदर्शन गर्न सक्छन भन्ने कुरा मेडिकल एवम् साईकोलोजिकल साइन्सको प्रशिक्षणबाट थाहा हुन्छ । मुटुको समस्या, कलेजोको समस्या, पेटको समस्या, टाउको दुःख्ने समस्या, लगायत अन्य रोगवाट ग्रसित खेलाडीले खेल्न चाहेर पनि खेल्दैनन् ।

कहिलेकाहि प्रारम्भिक अवस्थामा गरिएको प्रशिक्षणबाट केहि पनि रोग देखिदैन । खेल खेल्दै जाँदा, उमेर बढदै जाँदा अनेक अनेक रोग देखा पर्न सक्छन् । अतः समय– समयमा खेलाडीहरुको रुटिन चेक भई रहनुपर्छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत मेडिकल रिचर्स सेन्टरबाट समय – समयमा हाम्रा रेङ्किग एवम् नव आगन्तुक खेलाडीहरुको प्रोफाइल राखेर परिक्षण गरिएको हुनुपर्छ ।

उता युरोपका खेलाडीहरुको प्रोफाइल तयार हुन्छ । उनीहरुको ६–६ महिनामा रुटिन चेक गरिन्छ । रुटिन चेकवाट औषधि खानु पर्ने, आराम गर्नुपर्ने वा खेल खेल्न बन्द गर्नुपर्ने सुझावलाई सबैले अनिवार्य मान्नु पर्छ । अस्पताल छदैछन, घाइते भए, दुर्घटना भए भने उतै पुर्याउला भन्ने सोच राखेर व्यावसायिकता परिपक्क हुन्न । खेलाडीहरुको मेडिकल एवम् साइकोलोजिकल प्रोफाइल, इन्सुरेन्स गर्ने प्रथा शुरु गर्नुपर्छ । अझ फिड ब्याक इन्फरमेसनका लागि दैनिक प्रतियोगिता एवम् कार्यको भिडियो खिच्ने गर्नुपर्छ ।

खेलाडीले खेल कसरी रेस्पोन्स गरिरहेका छन् । उनीहरुको फिड ब्याक इन्फरमेसन दिन सक्नुपर्छ । कैर्यौ खेलाडीहरुको शरिरले खेल्न चाहेपनि मन मस्तिष्कले अर्थात भनौ मनो–शारीरिक समन्वयको कमिले राम्रो खेल खेल्न सक्तैनन् । म त तगडा नै छु, मेरो शरीर पनि तगडा नै छ भन्दैमा खेलाडीले कुनै हातमा खेल्न सक्दैनन् । शरीर भन्दा स्वस्थ्य त मन मस्तिष्क हुनुपर्छ । मनले मानेन भने कुनै हालतमा पनि शरिरले खेल्न सक्दैन । शरिरको मुटु भनेको मन हो । अतः मन स्वस्थ राख्न सक्नुपर्छ। मनभित्रको उत्साह–उमंग जोश जाँगर नै मर्यो भने सकियो ।

ठूलो छाती, ठूलो तिघ्रा र ठूलो पाखुरा भएर मात्र के गर्ने? अतः खेलाडीका लागि मात्र नभई सम्पूर्ण मानव जाती कै लागि मन स्वस्थ्य, सन्तुलित, कर्मठ, जोशिलो र उत्साहि हुनुपर्छ । मनले ग्रहण गरेका कुराहरु नै शरिरवाट प्रतिविम्वित हुन्छन् । अतः मनलाई सधैं सकारात्मक सोचतर्फ निर्देशित गर्न सक्नुपर्छ । अझ खेलाडीको खेल जीवन धेरै घात प्रतिघात उतार चढावबाट परिलक्षित हुन्छ। उनीहरुले सधैं मानसिक रुपवाट नै संघर्ष गरिरहनु पर्छ । उनीहरुको संघर्ष सधैं सकारात्मक नै हुनुपर्छ । सकारात्मक संघर्षवाट नै उनीहरु शिखरमा पुग्न सक्छन । अतः व्यावसायिक क्लबहरुले खेलाडीहरुको मनो–शारीरिक एव्म मेडिकल प्रोफाइल राखेर तीन–तीन महिनामा उनीहरुको रुटिन चेक गर्न सके आशातित नतिजा प्राप्त गर्न सकिन्छ भन्ने कुरामा द्वविधा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :