काठमाडौं । नेपाल एएफसी महिला एशियन कप २०२६ छनौट अन्तर्गत हुने ‘ड्र’को पट २ मा परेको छ । एशियाली फुटबल महासंघ (एएफसीले) बुधबार ‘ड्र’ का लागि सार्वजनिक गरेको पट अनुसार नेपाल २ मा परेको हो । ‘ड्र’ को पट २ मा नेपालसहित इन्डोनेसिया, जोर्डन, भारत, हङकङ, बहराइन, गुआम र मलेसिया परेका हुन् ।
यस्तै पट १ मा भियतनाम, उज्वेकिस्तान, थाइल्यान्ड, म्यानमार, उत्तर कोरिया, फिलिपिन्स, चाइनिज ताइपेइ र इरान रहँदा पट ३ मा कम्बोडिया, लाओस, युएई, मंगोलिया, लेबनान, बंगलादेश, काजकिस्तान र प्यालेस्टाइन रहेका छन् ।
त्यसैगरी पट ४ मा तुर्किमिस्तान, ताजकिस्तान, सिंगापुर, पाकिस्तान, श्रीलंका, टिमोर लिस्टे, माल्दिभ्स र साउदी अरेबिया रहँदा पट ५ मा इराक र भुटान रहेका छन् ।
महिला एशियन कप २०२६ छनौटको ‘ड्र’ बिहीबार मलेसियामा आयोजना हुँदैछ । छनौटमा ३४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। जसमा २ समूहमा ५ र ६ समूहमा ४ राष्ट्रलाई समावेश गरिने छ ।
छनौटपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने राष्ट्रले एशियन कपमा आफ्नो स्थान पक्का गर्नेछन् । एशियन कप छनौट भियतनाम, उज्वेकिस्तान, थाइल्यान्ड, म्यानमार, इन्डोनेसिया, जोर्डन, कम्बोडिया र ताजकिस्तानमा आयोजना हुनेछ ।