एपीएफ तिलोत्तमा गोल्डकपको उपाधि नजिक

बुटवल । विभागीय टोली एपीएफ क्लब २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले संकटा क्लबलाई १-० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । एपिएफको जितमा युवराज खड्काले गरेको गोल नै निर्णायक साबित भयो ।

दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा केही उत्कृष्ट अवसर बुनेका थिए । तर, फिनिसिङमा चुक्दा गोल भने निकाल्न सकेनन् । त्यसपछि खेल बराबरी हुँदै टाइब्रेकरउन्मुख थियो । तर, थप गरिएको ६ मिनेटको इन्जुरी समयलाई युवराजले सफलतापूर्व सदुपयोग गर्दै खेल दोस्रोपल्ट टाइब्रेकरमा पुग्नबाट रोके ।

उनले ९४औं मिनेटमा सुजन पुलामीसँग उत्कृष्ट तालमेल मिलाएका थिए । उनको सर्ट पासलाई सुजनले एक्लैले पेनाल्टी बक्सनजिक पुर्याएर लामो प्रहार गरेका थिए । तर, उक्त प्रहार संकटाका गोलकिपर विशाल केसीले सही जर्जमेन्ट गरे पनि बचाउन सकेनन् ।

अनुभवमा कमी देखिएका विशालको हातबाट बल फुत्किएसँगै रिबाउन्डमा युवराजले गोल गरेका हुन्। योसँगै एपिएफको जित सुनिश्चित भयो । एपिएफले पहिलो क्वार्टरफाइनलमा आयोजक करेन्ट रुपन्देही-११ लाई १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

काठमाडौंमा सभापती कप जित्दै मोफसल ओर्लिएको संकटाले भने तेस्रो क्वार्टरफाइनलमा जर्जियन फुटबल क्लब, कालिम्पोङ भारतलाई ४-० ले हराउँदै एपिएफसँगको भेट पक्का गरेको थियो । तर, यो भेट संकटाका लागि सम्झनयोग्य रहेन र सेमिफाइनलबाट बाहिरियो । खेलको ‘म्यान अफ द म्याच’ युवराज नै घोषित भए र ११ हजार १११ रुपैयाँ हात पारे ।

योसँगै एपिएफले कम्तीमा ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ पक्का गरिसकेको छ । अब एपिएफले उपाधिका लागि ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्ने पक्का भएको छ ।

यी दुईबीचको दोस्रो सेमिफाइनल बिहीबार अपरान्ह्र ४ बजे हुने तय छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन्।

उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ दी म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।

यो संस्करणमा आयोजक करेन्ट रुपन्देही-११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :