काठमाडौं । फ्रेन्चाइज क्लब पोखरा थन्डर्स एफसीका अफिसियल सुन्दर थापाले आफूलाई कारवाही गरेर देखाउन नेपाल सुपर लिग (एनएसएल) लाई चुनौती दिएका छन् । एनएसएलले बिहीबार एक विज्ञप्ति जारी गर्दै पोखराका अफिसियल थापालाई जारी लिगको तेश्रो संस्करण अन्तर्गत बाँकी रहेका खेल अवधिभर रङ्गशाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
लिगको तेश्रो सिजनको पाचौं दिन गत बुधबार भएको ललितपुर सिटी एफसीविरुद्धको खेलका क्रममा पोखराका अफिसियल थापाले रेफ्रीमाथि हातपात गर्न मैदानमा उत्रिएकोमा उनलाई दोषी ठहर देखिएको भन्दै एनएसएलले उनलाई रङ्गशाल प्रवेशमा रोक लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलको ८० औं मिनेटमा मार्की खेलाडी समीर तामाङको क्रसमा कप्तान नवयुग श्रेष्ठले गोल पोस्टमा प्रहार गरेका थिए । उनको प्रहार ललितपुरका गोलकिपर जेफ्री बाल्टसले रोके पनि पोखराका खेलाडीले भने बलले गोललाइन क्रस गरेको दावी गर्दै गोल भएको बताएका थिए।
तर, म्याच रेफ्री नविन्द्र महर्जन र सहायक रेफ्री किशनकनैया यादवले नवयुगको प्रहारमा गोल नभएको ठहर गरेपछि पोखराका खेलाडी र मुख्य प्रशिक्षक सुमन श्रेष्ठले टचलाइन छाडेर सहायक रेफ्री यादवसँग विवादमा उत्रिएका थिए। विवाद लम्बिदै जाँदा अवस्था तनावपूर्ण बन्दै गएको थियो । त्यसपछि दर्शकदिर्धामा रहेका अफिसियल थापाले मैदानमा प्रवेश गरेर रेफ्रीमाथि हात हाल्ने प्रयास गरेका थिए । जसका कारण केही समय खेल रोकिन समेत पुगेको थियो । विवादित बनेको यो खेलमा ललितपुर ३-२ गोल अन्तरले विजयी भएको थियो।

विवादकै क्रममा टिमको डगआउटभित्र आक्रोशित बनेका अफिसियल दीपक श्रेष्ठलाई पनि दुई खेलको प्रतिबन्ध लगाएको बताइएको छ । त्यसैगरी पोखरा थन्डर्सलाई अनुशासन तोडेको र खेल भावना विपरीत कार्यमा संलग्न रहेको ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।
यस्तो अवस्थामा अफिसियल थापाले भने मेरोखेल डटकमसँग आज शुक्रबार प्रत्यक्ष कुराकानी गर्दै एनएसएलले गरेको कारवाही नमान्ने बताएका छन् । साथै आफूलाई के कारणले कारवाही गर्न लागिएको हो, त्यो स्पष्ट पारेर मात्र कारवाही गर्न चेतावनी दिएका छन् । विवादको विषयमा कुनै छानबिन नै नगरि कसरी कारवाही गर्न मिल्छ? थापाले एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) लाई प्रश्न गरेका छन् । साथै थापाले आफुलाई कारवाही गरेको पत्र अहिलेसम्म प्राप्त नभएको पनि मेरो खेललाई जानकारी गराएका छन् ।
एनएसएल तेश्रो संस्करणमा आईपुग्दा समेत विवादमुक्त रहन नसकेको बताउँदै थापाले नेपाली खेलाडी र विदेशी खेलाडीबीच विभेद गरिएको पनि खुलासा गरे । नेपाली खेलाडीले २ देखि ४ लाखसम्म पाउँदा विदेशी खेलाडीलाई २० लाख रुपैयाँसम्म दिइएको बताउँदै उनले मार्की खेलाडी भने पनि मार्कि खेलाडीलाई त्यति नै रकम दिनु न्यायोचित नभएको बताए । थापाका अनुसार यहाँ आयोजक र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच पनि मिलोमतोे देखिएको छ ।
‘नवयुगको प्रहारले गोललाईन क्रस गरिसकेपछि ललितपुरका गोलकिपर बाल्टसले बचाउने प्रयास गरेका थिए, जतिबेला शतप्रतिशत गोल भइसकेको थियो, अफिसियल थापाले मेरोखेलसँग भने, ‘तर म्याच रेफ्रीले गतल निर्णय गर्दै गोललाई मान्यता दिएन, त्यो मेरो टोलीको लागि न्यायोचित कदापी थिएन, त्यसपछि म मैदानमा प्रवेश गर्न बाध्य भएको थिएँ।’
एनएसएलले थापालाई मैदानमा प्रवेशमा रोक लगाउनुका साथै पोखराको अफिसियलको आधारमा प्रदान गरेको एक्रीडेन कार्ड समेत जतिसक्दो छिटो फिर्ता गर्न भनेको छ । तर, थापाले भने आफूलाई अहिलेसम्म एनएसएलमार्फत कारवाही हुने आधिकारिक पत्र नआएको समेत बताए छन् ।

‘भएको गोललाई रेफ्रीले किन मान्यता दिएन त्यो विषयको छानविन गर्न छाडेर एनएसएल उल्टै क्लब पोखरा र टिम अफिसियललाई कारवाही गर्नमा केन्द्रित भएको सामाजिक संजालमार्फत थाहा पाएँ, तर मेरो नाममा कारवाहीको अहिलेसम्म कुनै पत्र आएको छैन, थापाले थपे,‘एनएसएलले पहिले मेरो नाममा काहवाहीको पत्र काटोस् र त्यसपछि मलाई कारवाही गरेर देखाओस्।’ साथै आयोजकले गैरकानुनी तरिकाले कारवाही गर्दा समेत एन्फाले किन मौनता साँधेको हो? त्यो रहस्यमयी भएको पनि खुलासा गरे ।
यस्तै थापाले आफू कुनै पनि हिसाबमा गतल नभएको भन्दै रंगशाला प्रवेशमा कसैले लोक लगाउन नसक्ने र खेल अवधिभर आफ्नो टिमलाई खाँचो परेको समयमा टिमसँगै रंगशागामा उपस्थित हुने समेत बताएका छन् । उनले एनएसएलको अनुशासन समितिलाई पनि सही अनुसन्धान गरि वास्तविक दोषी को हुन् उनैलाई कारवाही गर्न समेत भनेका छन् ।




