काठमाडौं । संसदीय दलको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई पत्राचार गर्दै तोकिएकै समयमा कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न निर्देशन दिएको छ ।
समितिको चैत्र २१ गते बिहीबार बसेको बैठकले दसौं राष्ट्रिय खेलकुदको आयोजना तथा व्यवस्थापन सम्बन्धि तयारी अवस्था र प्रतियोगिताको आयोजना एवम् व्यवस्थापन सम्बन्धमा भएको छलफलपछि खेलकुद मन्त्री चौधरीलाई निर्णय र निर्देशन कार्यान्वयनका लागि पत्राचार गरेको हो ।
समितिले आगामी जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रिय गौरवको विषय भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक भौतिक पूर्वाधार लगायतका सबै तयारी छिटो सक्न समेत खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै दसौं राष्ट्रिय खेलकुदको आयोजनाको तयारी तथा व्यवस्थापन कार्यमा आवद्ध सम्पूर्ण तह, निकाय र पदाधिकारीबीच प्रभावकारी समन्वय र सहकार्य अगाडि बढाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ । साथै समितिले चैत्र २२ देखि २४ गतेसम्म दसौं राष्ट्रियको आयोजना स्थलमै स्थलगत अवलोकन गर्ने जानकारी समेत गराएको छ ।
समितिको सोहि निर्णय अनुसार आज शुक्रबार समिति र राखेपको छुट्टाछुट्टै टोली स्थलगत अवलोकन लागि कर्णाली प्रदेशको सुर्खेततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । समितिलाई स्थलगत अवलोकन गराउन राखेपका कार्यकारी सदस्य कमल भट्टराईले जिम्मेवारी पाएका छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई गरेको पत्राचार:





