उच्च अदालत पाटनद्वारा महेश सिंह नेतृत्वको ललितपुर जिल्ला बक्सिङ संघलाई वैधानिकता

लक्ष्मी शाक्य

काठमाडौं । उच्च अदालत पाटनले महेश सिंहको अध्यक्षता रहेको ललितपुर जिल्ला बक्सिङ संघलाई वैधानिक मान्यता दिएको छ । बैशाख १४ गते आइतबार न्यायाधिसद्वय टंकप्रसाद गुरुङ र दिल्ली रत्न श्रेष्ठको संयुक्त इजलासले अन्तरकालिन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्दै महेश सिंह अध्यक्ष रहेको ललितपुर जिल्ला बक्सिङ संघलाई वैधानिक मान्यता दिएको हो ।

ललितपुर जिल्ला बक्सिङ संघको २०८० साल असार १५ गते भएको चौथो अधिवेशनले महेश सिंहको नेतृत्वमा चार वर्षको लागि १३ सदस्यीय कार्यसमिति गठन गरेको थियो । उक्त अधिवेशन नेपाल बक्सिङ संघको स्वीकृति र ललितपुर जिल्ला खेलकुद विकास समितिको प्रतिनिधिको रोहवरमा सम्पन्न भएको थियो ।

वैधानिक समिति हुँदाहुदै कथित व्यक्तिहरुले शक्तिको दुरुपयोग गर्दै २०८१ साल चैत्र ९ गते पाँचौं साधारणसभा गर्दै ओमनारायण श्रेष्ठको अध्यक्षमा ११ सदस्यीय ललितपुर जिल्ला बक्सिङ संघ गठन गरेका थिए । त्यसको प्रमुख अतिथिमा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन रहेका थिए । अध्यक्ष महर्जन तिनै व्यक्ति हुन् जो संघको चौथो अधिवेशनले महेश सिंहलाई नेतृत्व प्रदान गर्दा पनि उनी उक्त कार्यक्रमको प्रमुख अतिथि थिए ।

त्यसपछि उक्त गैरकानुनी रुपमा गठन भएको संघको गत चैत्र १० गते बसेको कार्यसमितिको बैठकले ललितपुर जिल्ला खेलकुद विकास समितिमा संघ गठनगरि पाउ भनेर निवेदन दिएकोमा समितिले चैत्र ११ गते उक्त संघलाई प्रमाणपत्र प्रदान गरेको थियो । साथै यसको बोद्धार्थ बागमती प्रदेश खेलकुद विकास परिषद्मा पठाएको थियो । त्यसपछि आफुलाई वैधानिक भन्दै उक्त ओमनारायण श्रेष्ठ नेतृत्वको संघ क्रियाशिल हुन पुगेको थियो ।

कथित रुपमा गठन भएको ओमनारायण श्रेष्ठको संघले जिल्लामा गैरकानुनी रुपमा बक्सिङका गतिविधि बढाउन थालेपछि महेश सिंहको नेतृत्वमा रहेको वैधानिक समितिले गत चैत्र २७ गते उच्च अदालत पाटनमा निवदेन दर्ता गराएको थियो । स्मरण रहोस्, ओमनारायण श्रेष्ठ नेपाल बक्सिङ महासंघका वर्तमान उपाध्यक्ष समेत हुन्।

त्यसपछि उच्च अदालत पाटनले गत चैत्र २८ गते अन्तरकालिन अन्तरिम आदेश दिदै यही बैशाख २ गते दुवै पक्षलाई छलफलमा बोलाएको थियो । त्यसपछि ओमनारायण श्रेष्ठले नेतृत्व गरेको संघलाई जिल्ला बक्सिङ सम्बन्धि कुनै काम कारवाही नगर्नु नगराउनु भनि अन्तरकालिन अन्तररिम आदेश जारी गरेको थियो । उक्त आदेश न्यायाधिश ऋषीराज भण्डारीको एकल इजलासले जारी गरेको हो ।

बैशाख २ गतेको पेशीमा विपक्षीले पत्र नबुझेको र दोश्रो पटक अध्यक्ष श्रेष्ठको घरमै गएर पत्र बुझाएपछि उनले बैशाख ११ गते पत्र बुझेका थिए । त्यसपछि बैशाख १४ गतेका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको थियो ।

बैशाख १४ गतेको छलफल र बहसपछि उच्च अदालत पाटनका न्यायाधिसद्वय टंकप्रसाद गुरुङ र डिल्ली रत्न श्रेष्ठको संयुक्त इजलासले चैत्र २८ गते जारी गरेको अन्तरकालिन अन्तरिम आदेशलाई निरन्तरता दिदै महेश सिंहको संघलाई निरन्तरता दिने निर्णय सुनाएको थियो।

साथै आदेशमा जिल्ला खेलकुद विकास समिति ललितपुर र बागमती प्रदेश खेलकुद विकास परिषद्लाई ललितपुर जिल्ला बक्सिङ सम्बन्धि कुनै काम कारवाही नगर्न र नगराउन समेत आदेश जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :