काठमाडौं । अधिकांश समय राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय कुनै न कुनै प्रतियोगिताको आयोजनामा व्यस्त रहने कभर्ड हलमा पर्छ–काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा अवस्थित ‘मुख्य कभर्ड हल’ । राखेप परिसरमा रहेको एकमात्र इन्डोर कभर्ड हललाई राखेपले ‘बहुउद्देश्यीय कभर्ड हल’ को रुपमा प्रयोग गर्दै आएको छ । प्रतियोगिता आयोजनाको समय बाहेक विभिन्न खेलका राष्ट्रिय खेलाडीको नियमित प्रशिक्षणले वर्षभरि नै व्यस्त रहने राखेप परिसरको कभर्ड हलले करिब एक महिनायता भने विश्राम पाएको छ ।
कभर्ड हलमा हाल प्रतियोगिता आयोजना र प्रशिक्षण लगायतका सम्पूर्ण गतिविधि ठप्प छन्। यस्तो हुनुमा अन्य कारण नभई कभर्ड हलको मर्मतसम्भार र स्तरोन्नतीको कार्य नै हो । नेपालमा खेलकुद आयोजनका लागि पर्याप्त आधुनिक भौतिक पूर्वाधार छैनन्, केही संख्यामा भएका भौतिक पूर्वाधार पनि अन्तर्राष्ट्रियस्तरको सेवा सुविधायुक्त छैनन् । लामो समयदेखि यस्तै अवस्थाबाट राखेपको कभर्ड हल पनि गुज्रिदै आएको छ । २१ औं शताब्दीमा चाहिने पर्याप्त आधुनिक सेवा सुविधाको अभावमा गुज्रिदा पनि यो कभर्डहलमा विभिन्न खेलका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हुँदै आएका छन् ।

राखेपका पूर्व सदस्यसचिव कुमारखड्क विक्रम शाहका पालामा निर्माण भएको यो कभर्डहलमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का तीन संस्करणहरु पहिलो, आठौं र तेह्रौंका विभिन्न खेल, सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पहिलो संस्करण र काभा महिला नेसन्स लिग लगायतका प्रतियोगिताहरु आयोजना भईसकेका छन् । नेपाली खेलकुदको कालखण्डमा निकै लामो इतिहास बोकेको यो कभर्ड हल शुभारम्भदेखि नै नेपाली खेलकुदको मुुटु बन्दै आएको छ । तर, समय सापेक्ष अनुसार यो कभर्ड हलको मर्मत सम्भार हुन नसक्दा जिर्ण अवस्थामा पुगेको कसैबाट छुपेको छैन। र पनि, निर्माण पश्चात् यो कभर्ड हलले दुई पटक आठौं र तेह्रौं सागमा आफ्नो काँचुली फेर्ने अवसर प्राप्त गरेको थियो । त्यसैको भरमा यो कभर्ड हलले आफ्नो साखलाई अहिलेसम्म बचाउन सफल भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताको बढ्दो चापलाई मध्यनजरमा राख्दैै राखेपले नयाँ पूर्वाधार निर्माण गर्न नसकेपनि मुख्य कभर्ड हलको मर्मत सम्भार र स्तोरोन्नतीको कामलाई अघि बढाएको छ । वर्तमान अवस्थामा कभर्ड हलको मर्मत सम्भारको कार्य युद्धस्तरमा अघि बढेको छ । सुनकोशी निर्माण नेपाल प्रालि नामक ठेकेदार कम्पनीले अहिले कभर्ड हलको मर्मत सम्भार र स्तरोन्नतीको कार्य गरिरहेको छ । उक्त कम्पनीले असारको मध्यतिर सम्पूर्ण कार्य टुङ्ग्याउने लक्ष्य लिएको छ । यसअघि राखेपले खुलाएको टेण्डर प्रक्रियाबाट चार वटा कम्पनीको नाम सर्ट लिस्टमा परेको थियो । त्यसमध्य ठेक्काको प्रतिस्पर्धामा सबैभन्दा कम रकमबाट टेण्डर होलेको सुनकोशी निमार्ण नेपाल प्रालि राखेपको छनौटमा परेको हो ।

कभर्ड हलको र्ममत सम्भार र स्तरोन्नतीको लागि शुरुमा ५ करोड बजेट प्रक्षेपण गरिएको थियो । टेण्डरमार्फत सुनकोशी निर्माण प्रालिले ४ करोड २५ लाखमा निर्माण कार्य सम्पन्न गर्नेगरि जिम्मा पाएको छ । उक्त लागतमा दुई महिना अर्थात् ६० दिनभित्र कभर्ड हलको मर्मत सम्भार र स्तरोन्नतीको कार्य सम्पन्न गर्नेगरि राखेप र उक्त कम्पनीबीच सम्झौता भएको छ । सम्झौता अनुसार आगामी असार १५ भित्र काम सम्पन्न गर्नेगरि गत बैशाख १५ गतेदेखि कभर्ड हलको स्तरोन्नतीको काम हुँदै आएको छ।
वर्तमान अवस्थामा कभर्ड हलमा अवस्थित चेन्जिङ रुमको टाइलहरु भत्काउने, निकासको व्यवस्थापन र पानीको आपूर्तिका लागि पाइप बिछ्याउने र चेन्जिङ रुपको प्लास्टरिङ लगायत प्रारम्भिक चरणका कामहरु भइरहेका छन् । दर्शक क्षमताको हिसाबले अत्यन्तै सानो मानिने यस कभर्ड हलमा माथिल्लो भाग र मञ्चको लागि छुट्याइएको क्षेत्र बाहेक दर्शकका लागि तयार पारिएको प्लास्टिकको सिट संख्या नौं सयको हाराहारीमा छन् । कभर्डहलको मर्मत पछिल्लो पटक सन् २०१९ मा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) का क्रममा गरिएको थियो । त्यसयता नियमित रुपमा प्रतियोगिता आयोजना हुँदै आएपनि यो कभर्ड हलको मर्मत सम्भारको लागि कुनै कार्य अगाडि बढाइएको थिएन ।

नेपाली खेलकुदको मेरुडण्डको रुपमा रहेको यो कभर्ड हल जस्तो बन्नुपर्ने थियो त्यस्तो अहिलेसम्म बन्न सकेको छैन, जुन यो कभर्ड हलको तीतोसत्य पनि हो । र पनि, ‘नहुनु भन्दा कानो मामा नै बेस्’ भने झैं बाध्यता बस्, यो कभर्ड हलको उपयोग हुदै आएको छ । पर्याप्त दर्शक सिटको अभाव एकातिर छदैछ । अर्कोतिर यो कभर्ड हलमा जाडोमा अत्याधिक जाडो तथा गर्मीमा अत्याधिक गर्मी हुने हुँदा जुनसुकै स्तरको प्रतियोगिताको दौरान, खेलाडी, दर्शक, अफिसियल, प्राविधिक टोली र आयोजक लगायतले समस्या झेल्दै आएका छन् । त्यो समस्या समाधानका लागि राखेपले यस पटकको मर्मत सम्भारको क्रममा कभर्ड हलभित्र एअर कन्डिस्नर प्रविधिको जडान गर्ने भएको छ।
यस्तै प्रतियोगिता आयोजनाको क्रममा साउण्डमा आउने इकोका कारण कभर्ड हलभित्रको आवाज स्पष्टसँग सुन्न नसकिने समस्याको समाधानका लागि यो पटक भित्तामा ध्वनी प्रतिरोधी प्यानलहरु जडान गरिने भएको छ । त्यस्तै कभर्ड हलभित्र कोर्टको यसअघिको पार्केटिङ परिवर्तन, कलरिङ्ग, बस्ने व्यवस्थासहितको भीआईपी क्षेत्र र सामान्य सिटिङ एरिनाको स्तरोन्नती, स्कोर बोर्ड र विज्ञापनको स्थानको पनि यसपटक सहि व्यवस्थापन गरिने गरि काम अघि बढेको रोखप पूर्वाधार निमार्ण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले मेरोखेल डटकमलाई बताएका छन् ।

करिब ६ वर्षअघि मर्मत भएको कभर्ड हलमा अहिले व्यवस्थित शौचालयको पनि त्यतिकै अभाव छ । जसकारण कभर्डहल भित्र र बाहिरका शौचालयबाट फैलिने दुर्गन्धका कारण प्रतियोगिता होस् वा नियमित प्रशिक्षण जुनकुसै समय खेलाडी, प्रशिक्षक तथा दर्शकहरु कभर्डहलमा पुग्दा नाक खुम्च्याउनुपर्ने स्थितबाट गुज्रिदै आएका छन् । नेपाली खेलकुदको नियामक निकाय राखेप परिसरमा अवस्थित कभर्ड हलको यो स्थिति स्वास्थ्यका हिसाबले पनि कदापी स्वास्थ्यकर मानिदैन । यस्तै हाल कभर्ड हल हातामा रहेका शौचालयका धाराहरुमा झुक्किएर मात्र पानी आउने गर्दछ भने शौचालयका कुनै ढोकामा चुकुलनै छैन र कुनै कुनै ढोका तारले अल्झाइएको हरिविजोग अवस्थामा छन् ।
करजोरले होस् या बाध्यताले राखेपले यो पटक पुन: कभर्डहलको काँचुली फेर्ने जमर्कोसहित मर्मत सम्भारको कार्यलाई अघि बढाएको छ । जुन स्वागतयोग्य मात्र नभई प्रशंसा गर्न लायक पनि छ । यसको लागि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ धन्यवादका पात्र बनेका छन् । आशा गर्रौं, असार मसान्तपछि कभर्ड हललाई नयाँ स्वरुपमा देख्न पाइनेछ। कभर्ड हलमा चाहिने न्युनतम आवश्यकता पुरा गर्दै अन्तर्राष्ट्रियस्तरको नभए पनि देश सुहाउँदो कभर्ड हलको स्तरमा सुधार आउने कुरामा विश्वास गर्न सकिन्छ ।








