काठमाडौं । नवौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले दोश्रो तथा गण्डकी प्रदेशले लगातार चौथो जित हासिल गरेका छन् ।
पोखरा रंगशालास्थित कभर्ड हलमा आईतबार सम्पन्न दिनको छैठौं तथा अन्तिम खेलको विभागीय डर्बीमा आर्मीले नेपाल एपीएफ क्लबलाई ३-० को साेझाे सेटमा हराएको हो ।
आर्मीले एपीएफलाई क्रमश: २५-१३, २५-२० र २५-२२ को सेटमा हरायो । दोश्रो जितसँगै आर्मीले ४ खेलबाट ५ अंक जोडेको छ। तेश्रो हार व्यहोरेको एपीएफले समान खेलबाट ३ अंक जोडेको छ ।
दिनको पाँचौं खेलमा गण्डकीले मणिमुकुन्द भलिबल क्लबलाई २७-२५, २५-२१ र २५-१८ गरि ३-० को सोझो सेटमा हराएको थियो । लगातार चौथो जितसँगै गण्डकीले ४ खेलबाट १२ अंक जोडेको छ । पराजित मणिमुकुन्दले समान खेलबाट ४ अंक जोडेको छ ।
यसअघि आईतबारै भएको पुरुषतर्फको अन्य खेलमा हेल्प नेपालले कोशी प्रदेश र पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरे । आईतबारै सम्पन्न महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लब र टिप टप न्यु डायमण्ड स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई हराए ।
नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा जेठ १५ गतेसम्म चल्ने लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोली सहभागि छन् । सहभागि टोलीले एक-अर्काविरुद्ध खेलेपछि अंक तालिकाको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्दा तथा तेश्रो र चौथो स्थानमा रहने टोली तेश्रो स्थानका लागि भिड्नेछन् । लिगमा महिला तथा पुरुषतर्फको विजेता, उपविजेता र तेश्रो हुने टोलीले क्रमशः नगद ८ लाख रुपैयाँ, ४ लाख रुपैयाँ र २ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
त्यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद ५० हजार रुपैयाँ तथा उत्कृष्ट लिब्रो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनहीले २५-२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस लिगको च्याम्पियन महिला तथा पुरुष टोलीले नेपालको तर्फबाट आगामी संस्करणको काभा क्लब च्याम्पियन्स लिगमा खेल्ने छन् ।




