काठमाडौं । नवौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार पाँचौं तथा कोशी प्रदेशले दोश्रो जित हासिल गरेका छन् । पोखरा रंगशालास्थित कभर्ड हलमा बुधबार भएको दिनको तेश्रो खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई क्रमशः २५-२२, २५-२२ र २५-१८ गरि ३-० को सोझो सेटमा हराएको हो ।
लिग चरणको अन्तिम खेल जित्दै ७ खेलबाट १४ अंक जोडेको आर्मी हालका लागि तेश्रो स्थानमा उक्लिएको छ। आर्मीले अब बिहीबार लिगको तेश्रो स्थानका लागि अर्का विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यता लगातार सातौं खेलमा पराजित सुदूरपश्चिमको टोली अंक विहीन हँदै तालिकको पुछारमा रहेर घर फर्किएको छ ।
यस्तै आजको चौथो खेलमा कोशी प्रदेशले मणिमुकुन्द भलिबल क्लबलाई २५-२२, २५-२३ र २५-१५ गरि ३-० को सोझो सेटमा हराएको छ । कोशीले अन्तिम खेल जित्दै ७ खेलबाट ७ अंक जोड्दै यस सिजनको लिग टुङ्ग्याएको छ । यता अन्तिम खेलमा पराजित मणिमुकुन्दले पनि समान खेलबाट ७ अंक नै जोड्यो ।
बुधबारै भएको महिलातर्फको लिग चरणका अन्तिम दुई खेलमा साविक विजेता नेपाल पुलिस क्लबले टिप टप न्यु डायमण्ड स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लबले नेपाल एपीएफ क्लबलाई समान ३-० को सोझो सेटमा हराएका छन् ।
लिग चरणको अन्तिम खेलको यो नजितासँगै ५ खेलबाट १४ अंक जोडेको पुलिसले शीर्ष तथा न्यु डायमण्डले समान खेलमा १२ अंकसहित दोश्रो स्थानमा रहेर उपाधिका लागि भिड्ने भएका छन्।यस्तै ५ खेलबाट ९ अंकसहित लिगको तेश्रो स्थानमा रहेको एभरेष्ट र समान खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको एपीएफ बिहीबार तेश्रो स्थानका लागि भिड्ने छन्।
नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा जेठ १५ गतेसम्म चल्ने लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोली सहभागि छन् । सहभागि टोलीले एक-अर्काविरुद्ध खेलेपछि अंक तालिकाको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्दा तथा तेश्रो र चौथो स्थानमा रहने टोली तेश्रो स्थानका लागि भिड्ने प्रावधान रहेको छ । लिगमा महिला तथा पुरुषतर्फको विजेता, उपविजेता र तेश्रो हुने टोलीले क्रमशः नगद ८ लाख रुपैयाँ, ४ लाख रुपैयाँ र २ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
त्यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद ५० हजार रुपैयाँ तथा उत्कृष्ट लिब्रो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनहीले २५-२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस लिगको च्याम्पियन महिला तथा पुरुष टोलीले नेपालको तर्फबाट आगामी संस्करणको काभा क्लब च्याम्पियन्स लिग खेल्ने छन् ।




