काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २२ को आयोजनामा ‘प्रथम मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ २०८२ आयोजना हुने भएको छ । प्रतियोगिता असार ६ र ७ गते राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा आयोजना गरिन लागेको आयोजकले प्रेस सम्मेलनमा जानकारी गराएको छ ।
‘ब्यायाम गरौं, स्वस्थ्य रहौं, स्वास्थ्यका लागि ब्यायाम’ भन्ने नारासहित प्रथम मिस्टर महानगर बडिबिल्डिङ प्रतियोगिता आयोजना गरिन लागेको हो । प्रतियोगिता अन्तर्गत पहिलो दिन तौल नाप्ने र दोश्रो दिन फाइनल खेल हुनेछ । पहिलो संस्करण भएकोले यस पटक पुरुषको मात्र प्रतिस्पर्धा राखिएको र अर्को वर्षदेखि महिलातर्फ पनि प्रतिस्पर्धा गराउने आयोजकले जानकारी गराएको छ ।
नेपाल शारीरिक सुगठन, फिटनेस महासंघ, काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहकार्यमा हुने च्याम्पियनसिपमा कुल ६ तौल समुहमा प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दा माथिको तौल समुहमा प्रतिस्पर्धा गराइने छ ।
च्याम्पियनसिपमा प्रथम स्थान हासिल गर्ने खेलाडीले ७५ हजार, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले २५ हजार, चौथौ र पाँचौं हुनेले क्रमश: १५ र १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक तौल समुहको विजेताहरु मिस्टर महानगरको दावेदारीका लागि ओभरहल प्रतियोगिताका लागि छनौट हुनेछन् ।
ओभरअल प्रतिस्पर्धामा विजेता खेलाडीलाई मिस्टर महानगरको टाइटलसहित नगद पाँच लाख ट्रफी र ब्यानेटले सुसज्जित गरिनेछ । प्रतियोगितामा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहने आयोजकले जानकारी गराएको छ।




