काठमाडौं । भारतमा आईतबार सम्पन्न अल्टिमेट काता कुमुते च्यालेन्ज कराते प्रतियोगितामा नेपाली खेलाडीहरूले तीन विधामा उत्कृष्ट प्रदर्शन गर्दै कुल ५ पदक हात पारेका छन्। नेपाली खेलाडीले तीनै विधामा पदकसहित नगद पुरस्कार समेत प्राप्त गरेका छन् ।
इन्डिभिजुअल काता (महिला) तर्फ सानु माया थिङले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भइन्। उनको प्रभावशाली काता प्रस्तुतीले निर्णायक र दर्शक दुवैको मन जित्यो।
इन्डिभिजुअल काता (पुरुष) तर्फ सोनिम मानन्धरले कांस्य पदक जिते। उनले प्रतियोगिताको प्रारम्भिक चरणदेखि नै सशक्त उपस्थितिबाट आफूलाई बलियो प्रतिस्पर्धीको रूपमा प्रस्तुत गरेका थिए।
पुरुष कुमुते ६० केजी तौल समूहतर्फ राजिव पुडासैनीले स्वर्ण पदक जित्दै नेपालका लागि अर्को सफलता दिलाए। एलन श्रेष्ठले रजत पदक जित्दा मिन बहादुर तामाङले कांस्य पदक जित्दै सो तौलसमूहमा नेपालले तीनै रंगका पदक आफ्नो पक्षमा पार्न सफल भयो।
प्रतियोगिताका सबै पदक विजेताहरुलाई पदकसहित नगद पुरस्कार समेत प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। यस सफलताले नेपाली कराते खेलको स्तर उच्च हुँदै गएको संकेत गरेको छ।
यस किसिमको उपलब्धिले खेलाडीहरूलाई थप प्रेरणा प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली करातेको उपस्थितिलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।




