काठमाडौं । नेपाली खेलकुदका दुई प्रेरणादायी अनुहार- राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजुकाजी शाक्य र वर्तमान राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही शरद चन्द्र शाह मेमोरियल फाउन्डेसन स्पोर्ट्स अवार्ड २०२५ बाट सम्मानित भएका छन्।
फाउन्डेसनले शुक्रबार एक समारोहकाबीच दुवै खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँसहित सम्मानित गरेको हो। समारोहमा फाउन्डेसनकी अध्यक्ष तथा स्वर्गीय शाहकी जीवनसंगीनी रेणु शाहले सम्मान हस्तान्तरण गर्यो ।
राजुकाजी शाक्य नेपाली फुटबलको त्यो पुस्ताका कप्तान हुन्, जसले मैदानमा मात्र होइन, मैदान बाहिर समेत नेतृत्वदायी भूमिका खेले। सन् १९८१ देखि १९९७ सम्म राष्ट्रिय टोलीमा रहेर उनले सागमा स्वर्ण पदक दिलाउने गौरव हासिल गरेका थिए ।
यस्तै अरुणा शाही नेपाली महिला भलिबलको त्यो नाम हो, जसले दशकभन्दा बढी समय कोर्टमा खटिँदै देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएकी छन्।
नेपालले सन् २०१९ मा एभीसी सेन्ट्रल जोन प्रतियोगितामा स्वर्ण पदक जित्दा होस् वा सोही वर्षको सागमा रजत पदक–यी उपलब्धिहरू शाहीकै नेतृत्वमा सम्भव भएका थिए।

उनले नेतृत्व गरिरहेको टोलीले विगत केही वर्षमा निरन्तर सफलता हासिल गर्दै आएको छ । जसले नेपाली महिला खेलकुदको आत्मविश्वासलाई बलियो बनाएको छ।
शरद चन्द्र शाह मेमोरियल अवार्ड केवल पुरस्कार वितरण कार्यक्रम होइन, यो नेपाली खेलकुदप्रतिको गहिरो समर्पण, योगदान र स्मरणको प्रतीक हो।
स्वर्गीय शाहको योगदानलाई स्मरण गर्दै परिवारले शुरु गरेको यो अवार्ड गत वर्ष एथलेटिक्सका बैकुण्ठ मानन्धर र कराते खेलाडी एरिका गुरूङलाई प्रदान गरिएको थियो।
शाहको कार्यकाललाई ‘नेपाली खेलकुदको स्वर्ण युग’ मानिन्छ । भौतिक पूर्वाधार, खेल संरचना र नीति निर्माणमा उनले देखाएको दूरदृष्टिको आज पनि चर्चा गरिन्छ।




