काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईविरुद्ध दायर भएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले दावी ठहर नपुग्ने भन्दै राईको पक्षमा फैसला सुनाएको छ । महासचिव राईविरुद्ध एन्फाका पूर्व अध्यक्ष गणेश थापाले गाली बेइज्जती मुद्दा दायर गरेका थिए ।
एन्फा महासचिव राईले एक टेलिभिजनमा अन्तर्वार्ता दिदै आफ्नो अभिव्यक्ति राख्ने क्रममा एन्फाका पूर्व अध्यक्ष थापाविरुद्ध बोलेका थिए । राईले अन्तर्वार्ताका क्रममा राखेका अभिव्यक्तिप्रति थापाले असहमति जनाउँदै आफ्नो व्यक्तिगत चरित्र, आचरण र ख्यातिलाई होच्याउनेगरि चरित्र हत्या गर्ने नियत तथा मनसायले झुटो दोषारोपण गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा असार १८ गते बुधबार जिल्ला अदालतका न्यायाधिस तारादेबी महर्जनको इजलासले अन्तिम फैसला गर्दै दाबी ठहर नपुग्ने भन्दै राईको पक्षमा फैसला सुनाएको हो ।





