सन् २०२६ मा जापानमा आयोजना हुने २० औं एशियाली खेलकुद प्रतियोगिताका लागि युवा तथा खेलकुद मन्त्रालयले पठाएको खेल सूची दर्ता नभएको एशियन गेम्स खेल आयोजक समितिका सहायक महानिर्देशक तोरु कोबायाशीले जानकारी गराएका छन् ।
कोबायाशीले युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गर्दै मन्त्रालयले इमेल मार्फत पठाएको ३१ खेलको सूची दर्ता नभएको जानकारी गराएका हुन् । ३० जुन भित्र नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ३० र मन्त्रालयले ३१ खेलको सूची दर्ताका लागि पठाएको थियो ।
आयोजकले खेलकुद मन्त्रालयमा गरेको पत्राचारमा नेपाल ओलम्पिक कमिटी बाहेक अन्य स्थानबाट पठाएकोे खेल दर्ता नहुने समेत जानकारी गराएको छ । साथै निर्धारित मिति ३० जुनमा नेपालको सहभागिताको खेल दर्ता सूची प्राप्त भएको पनि जानकारी गराएको छ ।
यसअघि खेलकुद मन्त्रालय र ओलम्पिक कमिटीले पठाएको सूचीमा २२ खेल समान भएपनि अन्य खेलको सूची चाहिँ फरक थियो । ओलम्पिक कमिटीले पठाएको सूचीमा एशियाडमा सर्वाधिक पदक जित्ने तेक्वान्दो र फुटबललाई समावेस गरिएको छैन ।




