त्रिभुवन आर्मीले हिमालयन शेर्पालाई हरायो

काठमाडौं । एन्फा यु-१६ युथ लिग अन्तर्गत शुक्रबार भएको दोश्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले उत्कृष्ट प्रदर्शन गर्दै ३-१ को पुनरागमन जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पाविरुद्धको खेलमा शुरुवातमा पछि परेको आर्मीले दोश्रो हाफमा खेलको रफ्तार नै पल्टाउँदै जित हासिल गरेको हो ।

खेलको १०औं मिनेटमै हिमालयन शेर्पाका विष्णु सुनुवारले गोल गर्दै आर्मीलाई दबाबमा राखे । पहिलो हाफको ३१ औं मिनेटमा सोहित वाइबाले बराबरी गोल फर्काए ।

दोश्रो हाफमा आर्मीले आफ्नो लय समात्दै खेलमा पकड बनायो । ७९ औं मिनेटमा जोएल गुरुङले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको एक मिनेटमै सिर्जन मल्लले गोल थपेपछि आर्मीले ३-१ को निर्णायक अग्रता बनायो ।

खेलको ८१ औं मिनेटमा हिमालयन शेर्पाका प्रज्वलप्रताप क्षेत्री दोहोरो पहेंलो कार्ड पाएर मैदान बाहिरिएपछि टोली १० खेलाडीमा सीमित हुन पुगेको थियो ।लिगको पहिलो खेल जित्दै आर्मीले ३ अंक जोडेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :