एसियन कपमा छनौट हुन नेपालले आज उज्वेकिस्तानलाई हराउनै पर्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी महिला एसियन कप २०२६ छनौटको समूह ‘एफ’ अन्तर्गत आफ्नो तेश्रो तथा अन्तिम खेलमा आज (शनिबार) घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

यो यस समूहबाट एसियन कपमा छनौट हुने टोलीको टुङ्गो लाग्ने निर्णायक खेल हो । उज्वेकिस्तानको तास्कन्दस्थित मिली रंगशालामा हुने नेपाल र घरेलु टोलीबीचको खेल नेपाली समयानुसार राति ९ः१५ बाट शुरु हुनेछ । नेपाल हाल फिफा वरियताको १०० औं स्थानमा रहँदा उज्वेकिस्तान नेपालभन्दा ४९ स्थानमाथि ५१ औं स्थानमा रहेको छ ।

फिफा वरियताको आधार र यसअघिका भेटको तुनलामा उज्वेकिस्तान नेपालभन्दा बलियो टोली हो । नेपाल र उज्वेकिस्तानबीच अहिलेसम्म तीन खेलमा भेट हुँदा तीनै खेल उज्वेकिस्तानले जितेको इतिहास छ । जसकारण, नेपाली टोलीले आजको खेलमा उज्वेकिस्तानलाई हराउन मानौवैज्ञानिक रुपमै तयारीका साथ मैदानमा उत्रिनु जरुरी छ ।

नेपाल र उज्वेकिस्तानबीचको पहिलो भेट सन् १९९९ को महिला एसियनमा भएको थियो । फिलिपिन्समा भएको त्यस एसियन कपको समूह चरणमा उज्बेकिस्तानले नेपाललाई ६-१ ले पराजित गरेको थियो । त्यही खेलमा पेमा डोल्मा लामाले नेपाली महिला टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी थिइन् ।

त्यसपछि १९ वर्षसम्म एस अर्कासँग नभिडेको नेपाल र उज्वेकिस्तानले सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा दुई खेल खेलेका थिए । जहाँ लिग चरणको खेलमा उज्वेकिस्तान २-० तथा फाइनलमा ३-२ ले विजयी भएको थियो। उज्वेकिस्तानविरुद्धको फाइनल खेलमा नेपालका लागि दुवै गोल अहिलेकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले गरेकी थिइन् । ६ वर्षपछि घरेलु टोली उज्वेकिस्ताविरुद्ध चौथो खेलका लागि मैदानमा उत्रिदै गर्दा नेपाली टोली आज बदलाको भावनामा समेत रहने छ ।

यसअघि नेपालले छनौटको पहिलो खेलमा लाओसलाई ९-० र दोश्रोमा श्रीलङकालाई ८-० ले हराउँदै प्रभावशाली प्रदर्शन गरेको छ भने उज्वेकिस्तानले श्रीलङकामाथि १०-० र लाओसमाथि ७-० को जित दर्ता गरेको छ । यस्तोमा, दुई खेलबाट दुवै टोलीको समान ६ अंक र १७ गोल भएपछि समूह ‘एफ’ को अन्तिम खेल रोमाञ्चक बन्ने निश्चित छ । अब आजको खेल जित्ने टोलीले एसियन कपको टिकट पक्का गर्नेछ । यदि, खेल बराबरीमा सकिए सिधै पेनाल्टीमार्फत नतिजा निर्धारण गरिने छ । दुवै टिमले हालसम्म क्लिन सिट राखेका छन्, जसले आजको खेलमा प्रतिस्पर्धाको स्तर उच्च बनाएको छ ।

अर्कोतर्फ, दक्षिण एसियाली फुटबलमा अर्को नयाँ अध्याय थपिएको छ । बंगलादेश पहिलो पटक महिला एसियन कपका लागि छनौट भएको छ । बंगलादेशले बलियो प्रतिद्वन्द्वी म्यानमारलाई २–१ ले हराउँदै ऐतिहासिक सफलता हात पारेको हो । अन्य समकक्षी टोलीहरूलाई पछि पार्दै बंगलादेशले महिला फुटबलमा नयाँ इतिहास रच्न सफल भएको छ। यसअघि बंगलादेशको पुरुष टोलीले सन् १९८० मा मात्र एकपटक एसियन कप खेलेको थियो ।

नेपाली टोलीका लागि उज्वेकिस्तानविरुद्धको खेल केवल एक खेल होइन, यो भविष्यको ढोका खोल्ने अवसर पनि हो। यसअिघ तीन पटक एसियन कप खेलेको नेपाल २६ वर्षपछि एसियन कपको मैदानमा फर्किने लक्ष्यमा छ । यता उज्बेकिस्तान पनि २२ वर्षपछि पुन: एसियन कप खेल्ने डौदमा रहेको छ । पहिलो पटक सन् १९८६ मा एसियन कप खेलेको नेपालले त्यसपछि सन् १९८९ र सन् १९९९ पछि एसियन कप खेलेको छैन।

उज्वेकिस्तानले भने सन् १९९५, १९९७, १९९९, २००१ र २००३ मा गरि यसअघि पाँच पटक एसियन कप खेलिसकेको छ । त्यसैले, नेपाल र उज्वेकिस्तानबीच हुने आजको खेल दुवै टोलीका लागि ‘डु अर डाई’ को स्थितिमा हुने पक्का छ। किनकी, पराजित हुने टोलीको वर्षौंपछिको एसियन कप खेल्ने सपना, सपनामै सिमित हुनेछ र एसियन कपको छनौट चरणबाटै बाहिरीने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :