नेपाललाई लगातार दोश्रो पटक एसिसी यु-१६ इस्ट जोन कपको उपाधि

काठमाडौं । निरन्तर दबाबको बीचमा संयमता देखाउँदै नेपाली यु–१६ क्रिकेट टोलीले एसिसी पुरुष यु–१६ इस्ट जोन कपमा लगातार दोश्रो पटक उपाधि रक्षा गर्न सफल भएको छ।

मलेसियाको युकेएम ओभलमा शनिबार भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

पहिले ब्याटिङ गर्दै सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर २९ ओभरमै पूरा गर्यो । लक्ष्य सामान्य देखिए पनि नेपालका लागि यो जित सहज थिएन। ५८ रनमै आधा टोली पवेलियन फर्किसकेको अवस्थामा, जोय थापा र अभय यादवले संयमित पारी खेलेर नेपाललाई पुनरागमन गराए।

२३ रनको स्कोरमा ५ विकेट गुमाएको अवस्थामा जोय थापाले कप्तानीपूर्ण पारी खेले। उनले ५३ बलमा ३ चौकासहित अविजित २४ रन बनाउँदै खेलको गति सम्हाले। अभय यादवले पनि अन्त्यसम्म विकेट जोगाउँदै १० रनको योगदान दिए। यी दुईबीच भएको २५ रनको अविजित साझेदारीले नै नेपालको जित सुनिश्चित गर्यो ।

यसअघि, समूह चरणमा पनि नेपालले सिंगापुरलाई ६ विकेटले हराउँदै मनोवैज्ञानिक दबाब सिर्जना गरिसकेको थियो। तर, फाइनलमा सिंगापुरले बलिङमा कडा चुनौती प्रस्तुत गर्यो। कपिस वैंकटरमनले उत्कृष्ट बलिङ गर्दै ६ ओभरमा १८ रन दिएर ४ विकेट झारे। तर, जोय र अभयको धैर्यका अगाडि उनी सफल हुन सकेनन्।

नेपालका शिवान्स बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैशीले १७ र परिमार्जन यादवले १३ रनको योगदान गरे। अर्कोतर्फ, सिंगापुरका युवान पाण्डे, वेदांश गुप्ता र आकाश तेजाले पनि समान २-२ विकेट लिएका थिए।

सन् २०२३ मा पनि यही प्रतियोगिता जितेको नेपालले यो सफलता पुनः दोहोर्याउँदै पूर्वाञ्चल एसियामा यु–१६ क्रिकेटमा आफ्नो दबदबा कायम राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :