भक्तपुर । काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले भक्तपुर जिल्ला ब्याडमिन्टन संघसँगको सहकार्य र भक्तपुर नगरपालिकाको सहयोगमा विश्व ब्याडमिन्टन दिवस २०२५ को अवसरमा “गली ब्याडमिन्टन–सबैका लागि ब्याडमिन्टन, गलीदेखि गौरवसम्म” भन्ने नारासहित विशेष कार्यक्रम आयोजना गरेको छ।
यो कार्यक्रमले विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को अन्तर्राष्ट्रिय नाराअनुसार ुरयाकेट उठाउु को सन्देशलाई आत्मसात गर्दै खेल, समावेशीता र समुदायलाई एकै साथ जोड्ने प्रयास गर्यो। ऐतिहासिक शहर भक्तपुरका गल्ली र चौताराहरूमा आयोजना गरिएको कार्यक्रममा ५ वर्षदेखि ९१ वर्षसम्मका २०० भन्दा बढी सहभागी थिए। कार्यक्रममा प्यारा ब्याडमिन्टन खेलाडीहरू, विद्यार्थी, जेष्ठ नागरिक, महिला, तथा स्थानीय खेलप्रेमीहरूको उत्साहजनक उपस्थिति देखियो।
कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष श्री जीवनराम श्रेष्ठले गरेका थिए। उनले स्थानीय नेवारी भाषामै सम्बोधन गर्दै “सामुदायिक खेलका यस्ता गतिविधिले समाजमा आपसी सम्बन्ध सुदृढ पार्छ र एकताको भावना विकास गर्छ।” भन्नुभयो।
कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, भक्तपुर नगरपालिकाका पर्यटन विभाग प्रमुख गौतम लसिवा, पूर्व राष्ट्रिय खेलाडीहरू, तथा विभिन्न खेल संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको रोमाञ्चित बढाउन २०० भन्दा बढी ५ देखि ९१ वर्ष उमेरसम्मका खेलाडी, जसमा प्यारा ब्याडमिन्टन खेलाडी समेतको सहभागिता रहेको थियो। विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगितामा भक्तपुरका बिद्यार्थीहरू बीचको प्रतिस्पर्धा गराइएको थियो।
बीडब्लुएफ कोच र सर्टल टाइम प्रशिक्षकद्वारा प्रशिक्षण कक्षा प्रशिक्षण कक्षा समेत सञ्चालन गरिएको थियो। तथा, नेपाल नम्बर १ महिला ब्याडमिन्टन खेलाडी रशिला महर्जनको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा भक्तपुरका दुई ब्याडमिन्टन व्यक्तित्वहरू अम्पायर राधेश्याम मछामाछी र प्रशिक्षक सबिन ढुंगेललाई विशेष सम्मान गरियो। स्थानीय तहमा ब्याडमिन्टनको विकासमा उनीहरूको अतुलनीय योगदानको कदरस्वरूप सम्मानपत्र प्रदान गरिएको थियो।

केबीए अध्यक्ष रिता बिष्टले सबै सहभागी, साझेदार र सहयोगीहरूलाई धन्यवाद दिँदै “गली ब्याडमिन्टन कार्यक्रम समुदायमै पुगेर खेलको पहुँच विस्तार गर्ने अभियान हो” भनिन्। संघका सचिव दीपक थापाले स्थानीय टोल, गल्ली र आँगनसम्म ब्याडमिन्टन पुर्याउने दीर्घकालीन उद्देश्यका साथ सामाजिक समावेशीता र मौलिक खेल संस्कृतिको विकासमा योगदान गर्ने कार्यक्रम रहेको बताइन्।
कार्यक्रम सफल बनाउन गोल्डेन गेट इन्टरनेशनल कलेज, जागरण डेन्टल होम प्रा.लि, थ्राइभ ब्रोकरेज होम प्रा.लि, अमुदी फुड प्रा।लि, डब्लूआरआई एजुकेसन कन्सल्टेन्सी, नेपाल चेम्बर अफ कमर्स-शिक्षा तथा खेलकुद समिति, रेगल फ्लेवर–रेस्टुरेन्ट, आर्क्ष फुड तथा अन्य व्यक्तिगत सहयोगदाताहरूले हातेमालो गरेका थिए।
यो प्रेरणादायी कार्यक्रमले खेल, संस्कृति र समुदायलाई एकै ठाउँमा जोड्दै, गलीदेखि गौरवसम्म को भावनालाई पूर्ण रूपमा अभिव्यक्त गर्यो। कार्यक्रमले भक्तपुर शहरको सांस्कृतिक महत्त्वमा खेलको योगदान थप्दै सामुदायिक पर्यटन प्रवर्द्धनमा पनि उल्लेखनीय भूमिका खेलेको छ।




