अमेरिकाको मर्सिडिज बेन्ज रंगशालामा शनिबार राति भएको एक नाटकीय भिडन्तमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले जर्मन पावरहाउस बायर्न म्युनिखलाई २-० ले हराउँदै फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
पीएसजीका लागि जित सजिलो भने थिएन। खेलको उत्तरार्धमा दुई खेलाडीले रातो कार्ड खाँदै मैदान छाडेपछि पीएसजी ९ खेलाडीमा सीमित भएको थियो ।
७८औं मिनेटमा डिसिरे डुएले जोआओ नेभेसको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। तर, ८२औं मिनेटमा विलियन पाचोले रातो कार्ड पाएपछि फ्रेन्च टोली १० खेलाडीमा झर्यो। त्यसपछि इन्जुरी समयमा लुकास हनान्डेज पनि रातो कार्ड खाँदै बाहिरिए, र टोली ९ खेलाडीमा सीमित बन्यो।
यद्यपि, संख्यात्मक कमजोरीले खेलको परिणाम प्रभावित पार्न सकेन। इन्जुरी समयमै अचरफ हाकिमीको उत्कृष्ट पासमा ओस्माने डेम्बेलेले दोश्रो गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे।
यो जितसँगै पीएसजीले नाटकीय शैलीमा सेमिफाइनल यात्रा तय गरेको छ । अब पीएसजीले सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिडको सामना गर्नेछ ।




