बंगलादेशमा सम्पन्न साफ यू-२० महिला फुटबल च्याम्पियनसिप २०२५ मा उप–विजेता अर्थात् दोश्रो भएर नेपाली टोली स्वदेश फर्कियो । उपाधि भिडन्तमा नेपाल बंगलादेशसँग ४–० ले पराजित भयो । र, बंगलादेशले पाँचौं पटक उपाधि जितेर मुलुकै गौरव बढायो।
अन्तत: हामी हार्नुको कारण खोलत्दै मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले यस्तो भने, ‘हाम्रा खेलाडीहरु लगातार म्याच खेल्नुपर्दा थाकेका थिए । थाकेर निर्णायक खेलमा राम्रो प्रदर्शन गर्न सकेनन्।’
–अन्तिम खेलमा जित्नु नै पर्ने ठूलो दबाव पर्यो, खेलाडीहरुलाई । ड्र गरेर मात्रै नहुने ।
– बंगलादेशको तयारी राम्रो छ । उनीहरु वर्षभरि नै तालिम गर्छन् । एक्सपोजर म्याचहरु खेलिरहन्छन् ।
– नेपालविरुद्ध बंगलादेशले सातजना राष्ट्रिय टोलीका खेलाडीलाई मैदानमा उतारेका थिए ।
– बंगलादेशको आफ्नै ग्राउण्ड, अपार दर्शकको हौसला, प्रेरणा पाएका बंगलादेशको पक्षमा खेलको वातावरण थियो । जसमा हाम्रा खेलाडीहरु उनीहरुका अगाडि निरहजस्तै देखिए । र, नतिजा उनीहरुको पक्षमा गयो ।
नेपाली खेलाडीहरुले भनेः–
– हाम्रो मेहनत नै पुगेन । ४५ दिने प्रशिक्षण हाम्रो लागि अपर्याप्त हो । वर्षभरि प्रशिक्षणको व्यवस्था हाम्रोमा पनि भयो भने हामी पनि च्याम्पियन बन्छौं ।
– कोशिस गर्दा गर्दै पनि उपाधि जित्न नसक्नु दुःखद हो । यस प्रतियोगिताले हामीलाई अझ बढी मेहनत र प्रशिक्षणमा ध्यान दिनुपर्छ भन्ने पाठ सिकाएको छ ।
– हामी हार्नुको अर्को महत्वपूर्ण कारण मैदानमा खेलाडी–खेलाडीबीच कम्युनिकेसन ग्याप पनि हो । मैदानमा खेलाडीको तालमेल नै भएन ।
फुटबल संघले अब ध्यान दिनुपर्ने कुराहरुः–
– महिला फुटबलको लिग शुरु गर्नुुपर्छ ।
– अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रशिक्षणको अवधि बढाउनु पर्छ ।
– तालिम प्राप्त, लाइसेन्स भएका, अनुभवी प्रशिक्षकलाई अनुबन्धित गर्नुपर्छ ।
– खेलाडीलाई जमेर, आफ्नै लयमा मैदानमा खेल्न दिनुपर्छ ।
– पटक पटक इन्टरनेशनल एक्सपोजरको व्यवस्था मिलाउनु पर्छ ।
– खेलाडीको प्रोफाइल रेकर्ड राख्नु पर्छ । जुन प्रोफाइल अध्ययन गरेर खेलाडीको बारेमा नयाँ योजना बनाउन सकियोस् ।
– खेलाडीको मेडिकल रेकर्ड, मनोवैज्ञानिक तरिकाले रेकर्ड राख्नु पर्छ ।
– खेलाडीको पारिवारिक र आर्थिक रेकर्ड पनि राख्नुपर्छ ।
– खासगरि प्रशिक्षकलाई महिला खेल विकास प्रशिक्षणका योजना बनाउन लगाउनु पर्छ।
– पोस्ट म्याच एनलाइसेसको व्यवस्था राम्रोसँग मिलाउनु पर्छ । जसमा प्रशिक्षकहरुसँग मात्रै एकपटक, केहि खेलाडीसँग छुट्टै एक पटक, व्यवस्थापकहरुसँग बेग्लै एक पटक, चिकित्सक टीमसँग एक पटक र संलग्न पत्रकारसँग मिटिङ बसेर, कुरा सुनेर भावी कार्य योजना बनाउनु पर्छ ।
– साथै टीम म्यानेजरसँग लिखित रिपोर्ट माग्नु पर्छ ।
– राष्ट्रिय संघले फुटबल विकास र अध्ययन गर्नका लागि एक रिचर्स शाखा नै स्थापना गर्नुपर्छ । जसले फुटबलको सम्पूर्ण रेकर्डहरु राख्ने गर्दछ । जहाँ चाहेको अवस्थामा रेकर्ड हेर्न पाइयोस् ।
–र, अन्त्यमा नेपालमा प्रतिभाशाली खेलाडीको अभाव छैन । अभाव के छ भने उनीहरुलाई चिनेर प्रशिक्षणमा समावेश गर्ने व्यवस्था। अत: संघले जतिसम्म छिटो लिग खेल खेलाउने व्यवस्था गर्नुपर्छ । जहाँबाट नयाँ नयाँ खेलाडीहरु भेट्टाउन सकिन्छ । साथै क्लबले पनि महिला फुटबल गतिविधिलाई विशेष प्राथमिकता दिने गर्नु पर्दछ। यसैगरि विद्यालयस्तरका महिला फुटबल गतिविधिहरु पनि बढाउन प्रोत्साहित गर्नुपर्छ । प्रदेश सरकार र स्थानिय सरकारसँग समन्वय गरेर यावत खेलकुद गतिविधिहरु बढाउनु पर्छ ।





